नुवाकोटका हेडसरमाथि गम्भीर आरोप
नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारी आर्थिक अनियमिततामा मुछिएका छन् । जागिर छाडेर विदेश पुगेका लेखापालको दस्तखत प्रयोगगरी विद्यालयको नामबाट बैंकिङ्ग कारोबार गरेको तथ्य बाहिरिएपछि हेडसर विवादमा तानिएका हुन् ।
छ महिनाअघि राजीनामा दिएर हिँडेकी लेखापाल अनिता तामाङको हस्ताक्षरमा ’स्यालरी सिट’ बनाएर प्रधानाध्यापक अधिकारीले कर्मचारीलाई तलब खुवाएको पाइएको छ । स्थानीयका अनुसार लेखापाल अनिता तामाङले गत वर्ष फागुन १ गते राजीनामा दिएकी थिइन् । उनी अहिले लण्डनमा छिन् ।
तर, उनैको हस्ताक्षरमा हिमालयन बैंकको तारकेश्वर शाखालाई पत्र लेखेर कर्मचारीलाई वैशाख र जेठ महिनाको तलव–भत्ता दिएको पत्र सार्वजनिक भएको छ । वैशाख १९ र जेठ १२ गते बैंकको कार्यालय प्रमुखलाई सम्बोधन गरी लेखिएको दुई फरक–फरक पत्रमा कर्मचारीको नाम उल्लेख गर्दै तोके बमोजिमको रकम खातामा दाखिला गरिदिन आग्रह गरिएको छ । पत्रको अन्तिममा लेखापाल तामाङको दस्तखस्त छ तर प्रधानाध्यापक अधिकारीको छैन ।
यस्तो पत्र सार्वजनिक भएपछि तत्कालीन लेखापाल तामाङले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर आर्थिक अपचलन गरेको आशंका गरेकी छन् । हिमालयन बैंक तारकेश्वर शाखालाई पत्र लेखेर उनले सोबारे जानकारीसमेत गराइसकेको बताइएको छ । आफू विगत ६ महिनादेखि अध्ययनका लागि विदेशमा रहेको र त्यसयताको आर्थिक कारोबारमा संलग्नता नरहेको उनले स्पष्ट पारेकी छन् ।

विद्यालयले प्रधानध्यापक अधिकारी र तत्कालीन लेखापाल तामाङको संयुक्त हस्ताक्षर चल्नेगरी हिमालयन बैंकमा खाता खोलेको थियो । लेखापालले जागिर छाडेर विदेश पुगेको छ महिनासम्म पनि त्यो परिवर्तन गरिएको छैन ।
यता, प्रधानध्यापक अधिकारीले भने आफूमाथि लागेको दस्तखत किर्तेको आरोप खण्डन गरेका छन् । लेखापाल तामाङ विदेश जानुअघि उनीसँगको सहमतिमा चेकमा हस्ताक्षर गरेर राखेको र अहिले त्यसैबाट कारोबार गरेको उनले दाबी गरे ।
‘एकाण्टेण्ट र मेरो सही चल्नेगरी स्कुलको बैंक खाता सञ्चालन गरेका थियौँ । तर, उहाँले एक्कासी म विदेश जाने भएँ, मेरो भिसा आयो भन्नुभयो । तत्काल उहाँको राजीनामा स्वीकृत गरेर अर्को लेखापाल नियुक्त गर्न सम्भव थिएन’, जनआस्थासँग प्रधानाध्यापक अधिकारीले भने, ’कतिपय अत्यावश्यक कामका लागि भुक्तानी गनुपर्ने थियो त्यसैले त्यतिबेलै उहाँले सही गरेर छोड्नुभएको कागजमा अहिले पेमेन्ट गरिएको हो, कुनै अनियमितता भएको छैन ।’
टिप्पणीहरू