काँग्रेसले भन्यो- सरकारको एक वर्षे कार्यकाल औसत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकाल उत्साहजनक नरहेको टिप्पणी गरेका छन् । ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्रोत र साधनको सीमितताको कारण सबै अपेक्षाहरु पूरा हुन नसकेको बताए । निजी क्षेत्रलाई चलायमान बनाउन आवश्यक पाँचवटा कानून संसदबाट पारित हुनुलाई महतले सरकारको सफलताको रुपमा अर्थ्याए ।
कानून निर्माणमा सरकारले गति बढाएको भएपनि डेलिभरी दिने कुरामा चुकेको उनको ठहर छ । सेवा प्रवाहमा ढिलासुस्ती, झमेला र लेनदेनजस्ता समस्याहरू कायमै रहेको उल्लेख गर्दै महतले सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
‘समग्रमा सरकारको एक वर्ष मिश्रित रह्यो । हाम्रा अपेक्षाहरु धेरै छन् । सबै अपेक्षाहरु पूरा हुन गाह्रो छ । किनभने सिमित स्रोत र साधनका कारण सबै अपेक्षाहरु पुरा हुन सक्दैनन्’, उनले भने, ‘तथापी यो वर्षमा केही राम्रा कामरु पनि भएका छन् । निजी क्षेत्रलाई चलायमान बनाउनको लागि पाँच वटा कानून बनेका छन् । अन्य कानूनहरु पनि पारित भएका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । डेलिभरी र सुशासनको कुरामा, आम नागरिकले सेवा पाउने कुरामा झमेला, ढिलासुस्ती र लेनदेनका कुराहरु पनि आएका छन् । यसमा सरकार गम्भिर हुनुपर्छ ।’
आफ्नो संयन्त्र बलियो बनाएर कर्मचारीहरुलाई जनता र देशलाई केन्द्रमा काम गर्ने वातावरण बनाउन महतले सरकारको ध्यानाकर्षण गराएका छन् ।
टिप्पणीहरू