स्वास्थ्यमन्त्रीका कारण भिआईपी र भिभिआईपीलाई थप ‘झ्याउलो’

स्वास्थ्यमन्त्रीका कारण भिआईपी र भिभिआईपीलाई थप ‘झ्याउलो’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिआईपी र भिभिआईपीलाई विदेश प्रस्थान वा स्वदेश आगमन गर्दा प्रचलित अध्यागमन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल केही साताअघि राहदानीमा प्रस्थानको छाप नलगाई विदेश पुगेको समाचार प्रकाशित भएको थियो । 

अहिले कार्यालयले अध्यागमनको डेस्कमा उपस्थित भएर फोटो खिच्न भिआईपी र भिभिआईपीलाई सूचित गरेको छ । भिआईपी र भिभिआईपीको आगमन तथा प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र र सुविधायुक्त बनाउनका लागि डेस्कको व्यवस्था गरेको उल्लेख गर्दै कार्यालयले अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्नेगरी कुनै ऐनकानुनमा उल्लेख भएका बाहेककले अनिवार्य प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

‘विशिष्ट एवं अति विशिष्ट महानुभावहरुको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भिआईपी–भिभिआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ’,सूचनामा भनिएको छ,‘उक्त भिआईपी–भिभिआईपी डेस्क प्रयोग गरी आगमन–प्रस्थान गर्नुहुने महानुभावहरु (अध्यागमन प्रक्रिया (भिआईपी–भिभिआईपी) डेस्कमा स्वयं उपस्थित भई फोटोसमेत खिचाई) पूरा गरिदिनुहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गरिएको छ ।’

त्यसैगरी, सो डेस्कको प्रयोग गरेर अध्यागमन प्रक्रियालाई सहज बनाइदिन कार्यालयले अनुरोध गरेको छ । मन्त्री पौडेल पासपोर्टमा छापै नलगाई एसिया तथा प्रशान्त क्षेत्रीय नागरिक दर्ता तथा तथ्याङ्कसम्बन्धी तेस्रो मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन असार १० गते थाइल्याण्डको राजधानी बैंकक गएका थिए । 

थाई एअरवेजको उडान नम्बर टिजी–३२० मा काठमाडौंबाट थाइल्याण्ड उडेका उनी बैंककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरेपछि त्यहाँको अध्यागमनमा छाप लगाउने क्रममा प्रस्थान अनुमति नलिएको तथ्य खुलेको हो । सो विषयमा जनआस्था अनलाइनले असार ११ गते समाचार प्रकाशित गरेपछि अध्यागमनले हिजो शनिबारका दिन सबैका लागि सूचना जारी गरेको हो ।

याे पनि.....

पासपाेर्टमा छापै नलगाई मन्त्रीले देश छोडे

टिप्पणीहरू