पासपाेर्टमा छापै नलगाई मन्त्रीले देश छोडे
एसिया तथा प्रशान्त क्षेत्रीय नागरिक दर्ता तथा तथ्याङ्कसम्बन्धी तेस्रो मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उडेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अध्यागमनको छाप नलगाई बैंकक पुगेको खुलासा भएको छ ।
मन्त्री पौडेल हिजो दिउँसो २ बजेर २६ मीनेट जाँदा थाई एयरवेजको उडान नम्बर टिजी-३२० मा काठमाडौँबाट थाइल्याण्डतर्फ प्रस्थान गरेका थिए । तर, बैंककको सुवर्णभूमि विमानस्थालमा अवतरण गरेपछि बल्ल उनी प्रस्थान अनुमति नलिई उडेको तथ्य खुलेको हो ।
हिजो थाई एयरवेजको विमान साढे १२ बजे त्रिभुवन विमानस्थालमा अवतरण गरी १ बजेर २५ मीनेटमा बैंकक फर्किने तालिका भए पनि १२:०८ मै अवतरण गरिसकेको थियो । तर, एयर ट्राफिकका कारण १४:२६ बजे मात्र प्रस्थान गर्न सक्यो । मन्त्रीसहितको टोली प्रस्थान गरिसकेपछि अध्यागमन कर्मचारीहरुले 'प्रस्थान अनुमति' को रेकर्ड हेरेका थिए ।
तर, अध्यागमन विभागको अनलाइनमा रेकर्ड भेटिएन । त्यसपछि अध्यागमन अधिकृत प्रभा अर्यालले अपराह्न ४:४३ बजे आफूखुसी 'कृतिम डाटा इन्ट्री' गरिन् । जबकि मन्त्रीको कुटनैतिक राहदानी डिए००००७२७ मा डिपार्चर स्ट्याम्प अर्थात् प्रस्थान छाप लागेको छैन ।
थाइल्याण्डको स्थानीय समयअनुसार साँझ ६ बजेर ३४ मीनेट (नेपाली समयअनुसार ५ बजेर १९ मीनेट) मा मन्त्री पौडेल सुवर्णभूमि विमानस्थलमा अवतरण गरेपछि त्यहाँ राहदानी देखाउने क्रममा उक्त कुरा खुलेको हो । त्रिवि शिक्षण अस्पतालका डाक्टर गरिमा श्रेष्ठ पनि टोलीमा सहभागी छिन् ।
यस्तो गम्भीर तथा संवेदनशील विषयमा भएको लापरवाहीलाई ढाकछोप गर्न अध्यागमनले मन्त्रीको पुरानो राहदानी प्रिन्ट गरेर प्रस्थानको छाप लगाएको बुझिएको छ । मन्त्रीकै कूटनीतिक राहदानीमा त यस्तो चलखेल हुने देशमा सर्वसाधारणले भिजिट भिसा काण्ड व्यहोर्नु कुन ठूलो कुरा भयो र ?
टिप्पणीहरू