हरेक काण्डमा शंकाको सुई किन देउवा दम्पतीतिरै ?
रामहरि खतिवडाले राजधानीको कुनै एउटा तारे होटलबाट घडी चोरेका हुन् वा होइनन्, त्यो उनलाई मात्र थाहा होला।
तर ०४८ सालमा गठित नेपाली कांग्रेसको एकमना सरकारमा वरिष्ठ मन्त्री रहेका बलबहादुर राईको स्वकीय सचिवचाहिँ यिनै थिए । आफ्ना मन्त्रीको दस्तखत मिलाएर जापान जाने भिसा दिएकोबारे त्यतिबेलै पर्दाफास भएको हो ।पुलिसले समातेकै हो । बलबहादुर राईले बर्खास्त गरेको पनि हो।
त्यति नै बेला रातोपुलबाट गौशाला जाने उकालोमा एक रात गोपाल राई र कुनै बेला गिरिजाप्रसाद कोइरालाका विश्वासप्राप्त ड्राइभर बिरु लामा भेटिए । गोपाल दाइले खुमबहादुर खड्कालाई ‘लिभर सिरोसिस’ भइसकेको र उनको जीवन लामो छैन भन्ने कुरा चुहाए । यिनै गोपाल दाइ पछि मन्त्री हुँदा धुन्सामा भएको हेलिकप्टर दुर्घटनामा डा. हर्क गुरुङलगायत अन्य ६ जनासहित दिवंगत भए । खुमबहादुर खड्काको जीवन गोपाल राईको भन्दा लामो रहेछ !
मैले त्यो बेला गोपाल दाइलाई रामहरि खतिवडाबारे सोधेको थिएँ । गोपाल राई बलबहादुर राईका भतिज मात्र होइन, अनौपचारिक सल्लाहकारसमेत भएका कारण सोध्न मनासिब लाग्यो । गोपाल दाइले दिएको उत्तर अझै सम्झिन्छु, ‘रामहरि फटाहा त हो तर ओखलढुङ्गे पनि हो । पत्याइयो । हामी अचानक सत्तामा आएका हौँ । हामीसँग काम जान्ने मान्छे छैनन् । जो छन्, उनैसँग काम लिनुपर्ने बाध्यता छ । काकाले उसलाई कामबाट निकालेको खबर भोलि आउँछ ।’
अर्को चुनावमा रामहरिले ओखढुङ्गाबाट चारतारे टिकट पाए । जिते । उनको फुर्तीफार्ती अचानक बढेको देखेर डिल्लीबजारको छिंडीमा भाडा तिरी पढ्दै गरेका नेविसंघका विद्यार्थी चकित थिए । खतिवडाले वर्ग परिवर्तन गर्नुअघि उनलाई भर–अभरमा गाँस र बासको सुविधा दिने ती विद्यार्थी हेरेको हे¥यै भए । खतिवडाले राजधानीका तीनवटा डान्स बार र दोहोरी रेष्टुरेण्टमा लगानी गरिसकेका रहेछन् !
सांसदका रुपमा राजस्वबाट पाउने पारिश्रमिकको एक अंश पार्टीलाई दिनुपथ्र्यो । बाँकी रकम हरेक महिना आफ्नो निर्वाचन क्षेत्रका कुनै गाउँलाई चन्दा दिने घोषणा गरे । लोकरञ्जनको राजनीति गर्ने पहिलो राजनीतिक उद्यमी नीलो स्याल मात्रै होइन । ‘मान्य’ भएपछि खतिवडा लाजिम्पाटको एक तारे होटलमा कसरत गर्न र बाफले नुहाउन मिल्ने ‘साउना’ गर्न थाले । शेरबहादुर देउवाले गठबन्धन सरकार टिकाउन सांसदहरूलाई भन्सार छुटको बिलाशी गाडी आयात गर्ने सुविधा दिए । राजनीतिमा बिचौलियाको प्रवेश भयो । भन्सार छुटमा आएको जापानी पजेरो सांसदहरूले व्यापारीलाई भाडामा दिए । कसैले त ठाडै बेचिदिए । खतिवडाले दुई बर्ष भाडामा लगाएर व्यवस्थापन गरे ।
उनको आर्थिक चलखेल र ब्यापारीसँगको साँठगाँठबारे नेपाली कांग्रेसका शीर्षस्थ नेता भलिभाँती अवगत छन् । तैपनि, उनले किन बारम्बार चार तारे टिकट पाउने गरे ? राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिजस्तो शक्तिशाली र जिम्मेवार पदमा कसको कृपाले नियुक्त भए ? यो कुरा बूढानीलकण्ठ दरवार र बिचौलियालाई थाहा छ । समितिको एउटा बैठकमा कुनै गैरसरकारी संस्थाले खाजा उपलब्ध गराएको घटना सायद संसदको रिपोर्टिङ गर्ने पत्रकारले बिर्सिए । उदेकलाग्दो कुरा, सहकारी ठगेर सत्तामा पुगेको नीलो स्यालले मौकामा चौका हानेर त्यो खाजाको पोका बहिष्कार गरी हिँड्यो । तर, रामहरि खतिवडालाई लाज लागेन !
बूढानीलकण्ठका चरुवाहरू !
रामहरि खतिवडा एक नयाँ उदाहरण मात्रै हुन् । कुरा शुरु गरौँ बालकृष्ण खाँणबाट ! नेपाल विद्यार्थी संघका सभापति, तरुण दलका नेता, आफ्नो चुनाव क्षेत्रमा बलियो जनाधार, पार्टीका महाधिवेशन सदस्यहरूमा पकड, के नपुग्दो थियो उनलाई ? राजनीतिक यात्रा ओरालो लाग्नुपर्ने कुनै कारण थिएन । दुर्भाग्य ! खाँण गृहमन्त्री भए । नेपालको पछिल्लो सत्ता समीकरणमा गृहमन्त्री हुन कि पैसा चाहिन्छ अथवा पार्टी सभापतिप्रति सम्झौताहीन इमान्दारी ।
शुरुमा यो चलन प्रहरी महानिरीक्षकको फुली लगाउँदा अंकुरित भयो । हाल ओझेलमा परेका कुनै बेलाका गृहमन्त्री विजय गच्छदारले भीष्म प्रसाईंलाई प्रहरी प्रमुख बनाउन के–कति मोलाहिजा गरे, त्यो गच्छदार र प्रसाईंलाई मात्रै थाहा होला । तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले गच्छदारलाई ‘कि अर्को मान्छेको सिफारिस लिएर आउनुस्, कि आफ्नो राजीनामा’ भनेर धम्क्याएपछि प्रसाईं आइजिपी फुली लगाउनबाट वञ्चित भए । प्रसाईं र गच्छदारको लेनदेन अझै चल्दै होला ।
एकताका देउवा दम्पती जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन दिलोज्यानले लागेको थियो । यसमा देउवा र चन्दको सुदूरपश्चिमेली नाता मात्र थियो कि अरु केही ? यो उनीहरूलाई मात्र थाहा छ । चन्द अहिले शोधभर्नास्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त छन् । उनको उपस्थिति आयोगमा शून्यप्रायः छ । देउवाको अहित हुने सवालमा तटस्थ बसिदिन्छन् । तर ‘नोट अफ डिसेन्ट’ लेख्ने आँट गर्दैनन् । माधवकुमार नेपाल जोडिएको पतञ्जलि प्रकरणमा पनि यसै गरे ।
कुनै बेला अतिरिक्त महानिरीक्षकमा बढुवा भएका एक प्रहरी अधिकृत मिठाईको बट्टा लिएर बूढानीलकण्ठ पुगेका थिए । उनलाई देउवा पत्नी आरजू राणाले सबैले सुन्ने गरी भनेकी थिइन्, ‘के लिएर आएको यस्तो ? यस्तो मोटो ज्यानमा झन् डायबिटिज थपिदिने ? यो बट्टाभित्र त अर्कै कुरा हुनुपर्ने होइन र ?’ यो कुरा सुन्ने र देख्ने मान्छेहरू मेरो सम्पर्कमा छन् ।
अवकाशप्राप्त नायब महानिरीक्षक हेमन्त मल्ल खुलेर लेख्छन् । उकेरा अनलाइनमा एक पटक आफ्नो कुरा यसरी खोलेका थिए, ‘एक जना प्रहरी हाकिम देउवालाई भेट्न जाँदा श्रीमती देउवाले संकेत गरिन्, ’उहाँलाई आइजी त मैले बनाएको हो नि !’ यो कुरा ती भेट्न जाने हाकिमले मल्ललाई सुनाए । मल्लले लेखिदिए ।
सुशासनको मूल नेतृत्वबाट फुट्नुपर्ने हो । देउवाका कृपाप्राप्त खतिवडालाई दोषी ठह¥याउनुअघि उनी कसरी संसदको सर्वाधिक शक्तिशाली र महत्वपूर्ण समितिमा स्थापित भए भन्ने कुरा महत्वपूर्ण छ । उनी नैतिक रुपले घाटामा भए पनि देउवा दम्पतीप्रति इमान्दारीको सवालमा नाफामै छन् । बालकृष्ण खाँण पनि त्यस्तै थिए । आफ्नो इँटाभट्टामा चार जना ज्यूँदा मान्छे पोलेर मार्ने कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई छुटाउन आफ्नो प्रयास जारी रहेको आश्वासन दिने शेरबहादुर देउवाको वचन एकभन्दा बढी पटक अभिलेखमा छ । आलमलाई उन्मुक्ति दिने न्यायाधीश पनि देउवाकै कोटाबाट नियुक्त हुन् ।
टेरामक्स काण्डमा ज्ञानेन्द्र कार्की र गोकुल बाँस्कोटा किन चोखिए ? मोहनबहादुर बस्नेत मात्रै किन डामिए ? के बस्नेतले बूढानीलकण्ठ पु¥याएको भाग अलि हलुका थियो ? वर्तमान गृहमन्त्री रमेश लेखकको कुरा ताजा भए पनि उल्लेख गर्नु जरुरी छैन । लेखक आफ्नो निर्णय गर्न अक्षम एक पराधीन निमित्त नायक मात्रै हुन् । आवरणमा लेखक देउवा दम्पतीबाट सञ्चालित छन् । तर, देउवा दम्पती कोबाट सञ्चालित छ ? एमालेलाई चन्दा दिएर पहिलोपटक समानुपातिक सांसद भएका विनोद चौधरी कसरी नियम मिच्दै कांग्रेसको केन्द्रीय सदस्य भए ? कसरी बजेट बनाउने बेला अर्थ मन्त्रालयमा सिसिटिभीको तार मुसाले काट्यो ? एमाले अध्यक्ष केपी ओलीका प्रिय पात्र दीपक भट्टजस्ता बिचौलियाको सम्बन्ध किन आरजु राणासँग पनि उत्तिकै घनिष्ट छ ? ढिलो–चाँडो यी प्रश्नका उत्तर सडकमा छताछुल्ल हुने नै छ ।
तर, कांग्रेसका कार्यकर्ताले आफैँलाई प्रश्न गर्नु जरुरी छ, किन हरेक काण्डमा शंकाको सुई देउवा दम्पतीतिरै सोझिन्छ ? शेरबहादुर र आरजु मध्यरात बालकोट पुगेर केपी ओलीलाई टाउकोमा बोक्नुको बाध्यता के थियो ?
सरकार बिचौलियाको दलाल हो
रामहरि खतिवडालाई प्रमुख पात्र तुल्याएर यो लेख लेख्नु आवश्यक थिएन । तर, उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुन् । बूढानीलकण्ठ दरबारले जानेरै उनलाई यो जिम्मेवारी दिएको हो । रामहरिको दल कांग्रेस संसदको ठूलो दल भएर पनि किन एमालेका केपी ओली सरकारको सहायक मात्रै छ ? स्पष्ट छ, यसबाट देउवा दम्पतीको स्वार्थी अभिप्साको पूर्ति हुँदै छ । रामहरि खतिवडाहरू संसदमा देउवाको भाडाका सिपाही भएका छन् । अन्यथा, कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा कसरी खेलोफड्को भयो ? खतिवडाले कानुन मन्त्रालयको टाइपिस्टलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्छ ? नेपाली तीन प्रमुख दलका नेताहरू उच्चपदस्थ कर्मचारीको कृपाको भारले थिचिएका निरीह बुँख्याचा हुन् ।
कर्मचारीले यिनको भयदोहन गर्न सक्छन् । यातायात व्यवसायीको सर्वथा गैरव्यावसायिक अडानमा सरकार निहुरिन्छ । कुनै बेला आफैँले पालेका शिक्षक संघ र संगठनको मोलमोलाहिजाका अगाडि सरकार समर्पित हुन्छ । हतियार व्यापारी सीधै प्रहरी प्रधान कार्यालय पुगेर ‘तिमीहरूलाई यो–यो हतियार आवश्यक छ । हामीले माथि कुरा मिलाएका छौं । खरिद आदेशमा सही गर’ भन्ने स्तरमा धम्की दिन थालेका छन् ।
संसद ‘संसद’ जस्तो छैन । सांसदहरू विधेयक पढ्न जान्दैनन् । समानुपातिक कोटाबाट आएकी एक माओवादी सांसदलाई वर्तमान राष्ट्रपतिको नाम याद हुँदैन । विधेयक पारित गर्दा स्वार्थ समूहको भूमिका पैसाले जोखिन्छ । सांसदहरू पैसा खाएर एउटै विधेयकमा हुन्छ र हुँदैन दुवै पक्षमा भोट गर्न थालेका छन् । राष्ट्रिय महत्वका सवालमा बिचौलियाले दिएको आदेशका आधारमा ‘ढ्यापढ्याप’ शैलीले विधेयक पारित हुन थालेपछि कसरी हुन्छ, आमजनताको हितरक्षा ?
भारतले सिक्किम विलय गर्दा अंग्रेजीमा लेखिएको विधेयक त्यहाँका दुई तिहाइ सांसदले पढ्नै जानेनन् । ‘ढ्यापढ्याप’ शैलीमा विधेयक पारित गर्दा एक सार्वभौम राष्ट्र विशाल छिमेकीको एक राज्यमा रुपान्तरित भइसकेको थियो । नेपालको अहिलेको संसद सिक्किमको तत्कालीन ‘एसेम्बली’ भन्दा गएगुज्रेको स्थितिमा छ ।
डोनाल्ड ट्रम्पको पागलपूर्ण नीतिले विश्वभर अशान्ति, अनिश्चितता र आर्थिक मन्दीको अभूतपूर्व चरण शुरु हुँदैछ । धेरै नेपाली स्वदेश फर्किन बाध्य छन् । कुरा अमेरिका मात्र होइन, युरोप र खाडी राष्ट्रको पनि हो । विदेशमा कार्यरत युवाको जमात नेपाल फर्किएपछि अब अर्को आँधी आउने स्पष्ट संकेत छ । त्यो अवस्थामा नेपालका पूर्व श्री पाँच र वर्तमान श्री तीन मात्र होइन, यिनका भाँडो बजाएर खाइपाइ आएको एउटा नवसम्भ्रान्त समूहको पतन हेर्नलायक हुनेछ । त्यो दिन धेरै टाढा छैन ।
टिप्पणीहरू