कागजको खोस्टो हो नेपाली नागरिकता ?
विवरण ढाँटेर नेपाली नागरिकता लिनेहरु बढ्दै गएका छन् । नक्कली आमाबुबा र किर्ते प्रमाणपत्र खडा गरेर नागरिकताको प्रमाणपत्र लिने विदेशीसँगै नेपाली पनि थुप्रै छन् ।
कतिपयले कानुनसम्मत एउटै नागरिकता प्राप्तिका निम्ति अनेकौं दुःख, हैरानी खेपिरहनुपर्दा कसैले भने दर्जनौं नागरिकता बनाइरहेका छन्, कसरी ? नेपाली नागरिकतामा विदेशीको पहुँच कसरी बढ्यो ? सरकारी अधिकृतहरूले विदेशी नचिनेको कि नजाँचेको ? प्रश्न अनेक छन् । नेपालको सन्दर्भमा नागरिकता प्राप्तिका निम्ति सम्बन्धित व्यक्तिको आमाबुबा वा वंशतर्फ तीन पुस्तेभित्रका नातेदारको नागरिकता प्रमाणपत्र, जन्मस्थान र नाता खुल्नेगरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिसपत्र वा जन्मदर्ता प्रमाणपत्रलगायत कागजात आवश्यक पर्छ ।
यसरी पेश गरिएको कागजात सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यक रुजु गरेर मात्र नागरिकता प्रदान गरिन्छ तर नेपाली नागरिकताको बढ्दो बदर संख्याले सिफारिस गर्ने तल्लो निकाय (वडा) देखि प्रदान गर्ने माथिल्लो तह (सिडिओ कार्यालय) सम्मको भूमिकामाथि प्रश्न उठेको छ । नागरिकता प्रदानमा तालुक निकायको लापरबाही कि बदनियत ?
विदेशीले नेपाली नागरिकता वा नेपालीले दोहोरो नागरिकता पाएपछि सिमकार्ड लिने, बैंक खाता खोल्ने र ठगी गर्ने कार्य ह्वात्तै बढेको प्रहरी अधिकृतहरू बताउँछन् । पछिल्लो पाँच वर्ष (२०७६–०७७ देखि ०८०–०८१) को तथ्याङ्कअनुसार नागरिकतासम्बन्धी कसुरमा तीन सय ७३ जना पक्राउ परेका छन् । त्यस्तै, ६ सय ६१ वटा मुद्दा दर्ता भएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ ले रद्दसम्बन्धी व्यवस्था गरेको छ । साढे दश वर्षमा पाँच हजार तीन सय ३० जनाको नागरिकता रद्द गरिएको गृह मन्त्रालयको तथ्याङ्क छ । जसअनुसार २०७२ वैशाखदेखि ०८१ चैत मसान्तसम्मको अवधिमा तीन हजार नौ सय ५२ वटा नेपाली नागरिकता रद्द भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८२–०८३ को कात्तिक मसान्तसम्म मात्र एक हजार तीन सय ३३ जनाको नागरिकता खोसिएको छ ।
गृह मन्त्रालयका अनुसार झुटो विवरणका आधारमा नेपाली नागरिकता लिने स्याङ्जाबाट धेरै छन् । पाँच हजार तीन सय ३० नागरिकता रद्दमध्ये स्याङ्जामा मात्रै दुई हजार तीन सय ६ वटा भएको मन्त्रालयले जनाएको छ । त्यसपछि चितवन, लमजुङलगायत जिल्ला पर्दछन् ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकता लिन नपाइने भनिएको छ भने दफा १४ मा कुनै विदेशी व्यक्तिले झुटो विवरण वा नेपाली नागरिक भएको झुटो बयान दिई नागरिकता लिएमा अभिलेखबाट हटाउने व्यवस्था छ ।
त्यसरी नागरिकता लिएमा कैद र जरिवाना सजाय हुने दफा २१ मा व्यवस्था छ । कुनै विदेशीले नेपाली नागरिक भएको झुटो दाबी र विवरण दिई नागरिकता प्राप्त गरेमा एकदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन्छ । सँगै उसलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । त्यस्तै, नागरिकताको झुटो वा किर्ते प्रमाणपत्र खडा गर्ने–गराउनेलाई एकदेखि पाँच वर्षसम्म कैद तथा २० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
दोहोरो नागरिकता लिनेको पहिचान हुँदै
दोहोरो नागरिकता लिने नेपाली नागरिकको गृह मन्त्रालयले पहिचान शुरु गरेको छ । नागरिक तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा प्रमुख उपसचिव प्रदर्शनी कुमारीले त्यस्ताको राष्ट्रिय परिचयपत्र (नेशनल आइडी) का आधारमा पहिचान भइरहेको बताइन् ।
उनका अनुसार नागरिकता रद्द हुनेमा विदेशीभन्दा नेपाली नागरिक धेरै छन्् । दोहोरो–तेहोरो नागरिकता लिनुको विविध कारण रहेपनि विशेष गरी वैदेशिक रोजगारीमा जानका निम्ति दोहोरो नागरिकता लिने गरिएको उपसचिव कुमारीको भनाइ छ ।
‘पहिला बनाएको नागरिकतामा उल्लेख उमेरका कारण विदेश जान नपाउने भएपछि उमेर घटाएर लिएको पाइन्छ,’ उनले भनिन्, ‘त्यसरी नागरिकता लिनेको पहिचान भइरहेको छ । नागरिकता र राहदानीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि पहिचान हुन थालेको हो ।’
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू