ढोका धाउने प्रहरीलाई कारबाहीको धम्की
प्रहरी प्रधान कार्यालयले बढुवाका लागि आफूभन्दा माथिल्लो तहका अधिकृत भेट्ने वा प्रभावमा पार्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी अविनारायण काफ्लेको हस्ताक्षरमा व्यक्तिगत वृद्धिका लागि इतर पक्षसँग अनुचित सम्पर्क गर्ने, उच्चपदस्थहरूको ढोका चहार्नेलगायतका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आचारसंहिताविपरीतको गतिविधि नगर्न सचेत गराइएको छ ।
मंसिर १६ गते क्रमसंख्या ३८७८ को पत्रमार्फत उक्त शाखाले अख्तियार, प्रहरी महाशाखा, सबै विभाग, ब्यूरो, प्रतिष्ठान, अस्पताल, उपत्यका, प्रदेश, शिक्षालय, तालिम केन्द्र र जिल्ला परिसरलाई पत्राचार गर्दै अनुशासन, मर्यादा र व्यवसायिकताभन्दा बाहिर नजान भनेको छ । कुनै पनि कर्मचारी गुपचुप तालुक गृह मन्त्रालय पुगेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
अगाडि लेखिएको छ, ‘संगठनको हितका लागि मनासिब माफिकको काम विशेषले भेट्दासमेत कार्यरत इकाइको कमाण्डर एवं तालुक मन्त्रालय वा कुनै स्थानमा कसैलाई भेटघाट गरेको पाइएमा चालचलनसम्बन्धी डोसियरमा प्रतिकूल राय लेखी कारबाही हुने व्यहोरा जानकारीका लागि प्रेषित गरिएको छ ।’
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू