भ्रष्टाचारीले विद्यालय भवन र पाठ्यपुस्तक पनि छाडेनन्
विद्यालयको भवन निर्माण र पुस्तक खरिदमा भ्रष्टाचार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय खोटाङका पूर्वअधिकारीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । दुई पूर्वजिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
तत्कालीन जिल्ला शिक्षा अधिकारीहरु बालकृष्ण चापागाई र गणेशप्रसाद भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राई, जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम्बर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु दिलिपकुमार राई र चर्चबहादुर विश्वकर्मा र ठेकेदार बबेन्द्र राईविरुद्ध मुद्दा दायर भएको आयोगले जनाएको छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, स्थित जनता उच्च माध्यमिक विद्यालयलाई चार कोठे आरसीसी भवन निर्माणका निम्ति आर्थिक वर्ष २०७१–०७२ मा जिल्ला शिक्षा कार्यालयले ३२ लाख १० हजार ८६४ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।
साथै, आव २०७४–०७५ मा पुस्तकालय व्यवस्थापन तथा किताब खरिदका निम्ति साढे छ लाख रुपैयाँ अनुदान दिइएको थियो । तर, उनीहरुको मिलेमतोमा कमसल भवन निर्माण र किताब नै नखरिद नगरी साढे ३० लाख रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम साढे ३० लाख रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुमाथि कैद र जरिवाना हुन माग गरेको छ ।
टिप्पणीहरू