यहाँ छलेर गर्ने काम के नै पो छ र
देशको ११ वटा उपमहानगरपालिकामध्ये बागमती प्रदेश सरकारको राजधानी मकवानपुर जिल्लाको हेटौँडा पनि पर्छ । यो स्थानीय तहमा एकीकृत समाजवादीकी नेत्री मीनाकुमारी लामा प्रमुख हुनुहुन्छ । ०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धनबाट लामा मेयर चुनिनुभएको हो । यसअघि २०७४ सालमा एमालेको तर्फबाट उपमेयर हुनुहुन्थ्यो ।
स्थानीय सरकारको उपप्रमुख र प्रमुख भएर ८ वर्ष बिताइसक्नुभएकी लामा र अर्का एक कार्यपालिका सदस्य (वडा नं ९ का शुकराम केसी) मात्रै एस सम्बद्ध हुनुहुन्छ । बाँकी एमालेको बहुमत र अल्पमत कांग्रेसको छ ।
जनआस्थाका लागि शिवकुमार काशीले गरेको कुराकानीः –
० तपाईंहरूको पार्टीका तर्फबाट निकै कम मात्रै जनप्रतिनिधि हुनुहुन्छ, राजनीतिक सन्तुलन राखेर काम गर्न कत्तिको गाह्रो छ ?
– राम्ररी सन्तुलन गरिएको छ । सबैले राजनीति बिर्सेर सेवा गरिरहनुभएको छ ।
० कहिलेकाहीँ कांग्रेसका कार्यपालिका सदस्यले पनि गठबन्धन भुलेर पेलिदिने अनि एमालेले त झन् पेल्ने गरेको कुरा सत्य हो ?
– यहाँ कसैले कसैलाई पेलेको छैन । पेल्नु पनि हुन्न ।
० हेटौँडा उपमहानगरपालिकाभित्र भएका राम्रा काम के–के हुन् त ?
– कृषिमा ठूलै फड्को मारेका छौं । उपमहानगरपालिकामा ३४ हजार बोट मेवा छ । उत्पादित गुन्द्रुकबाट राम्रो आम्दानी भइरहेको छ । गुन्द्रुक अमेरिका र अष्ट्रेलियासम्म निर्यात भइरहेको छ । केरा, मेवा, खुवा, ड्रागन फल, अम्बालगायत उत्पादन बढ्दै गइरहेको छ । नम्बर २ बाहेक सबै वडा कार्यालय निर्माण सम्पन्न भएका छन् । १९ वटै वडामा गरी २२ वटा स्वास्थ्य केन्द्र सञ्चालित छन् । ५/५ शैयाका २ वटा अस्पतालहरू हटिया र पदमपोखरीमा हामीले सञ्चालन गरेका छन् । खानेपानी, ढल व्यवस्थापन, फोहोर व्यवस्थापनमा हाम्रो प्रभावकारी काम देखिन्छ । अब छिट्टै बस टर्मिनल निर्माण कार्य सम्पन्न हुनेछ, वासुदेव सभागृह निर्माणको कामले पनि गति लिनेछ । ४ स्थानमा नमुना सडक निर्माणाधीन छन् ।
हेटौँडा अस्पतालमा १०० बेडको एनआइसियु सेवा चलाउँदैछौँ । सिद्धार्थ माविमा कानुनको स्नातक र जनप्रिय माविमा कृषिको स्नातक अध्यापनको व्यवस्था मिलाउँदैछौँ । हेटौँडाको आधुनिक मावि र भुटनदेवी माविलाई मर्जर प्रक्रियामा लगेर मेघा विद्यालय सञ्चालनको तयारीमा छौं । हेटौँडा कम्प्लेक्स निर्माणाधीन छ । हरेक वडामा १ वडा १ पार्कको अवधारणा लगभग पूरा हुँदै छ । विभिन्न वडामा कभर्ड हल निर्माण भएका छन् ।
० यही काम गर्दा वडाध्यक्ष अर्थात् कार्यपालिका सदस्यहरूसँग समन्वय नभएर बजेट बिनियोजनका क्रममा द्वन्द्व भएका कुरा बेला–बेला सार्वजनिक हुन्छ, सत्य यही हो ?
– नेगेटिभ कुरातिर नजाऔं । त्यस्तो भएकै छैन । किनभने हाम्रा १९ वटै वडालाई आर्थिक अधिकारसहितको कर्मचारी जनशक्ति व्यवस्थापन भएको छ । २० लाखसम्मका योजना वडाबाटै बिनियोजन हुने, सम्झौता हुने र कार्यान्वयन भएर त्यतैबाट भुक्तानी हुने सिष्टम हामीसँग छ । बजेट पनि वडाको सिलिङअनुसार वडाबाटै बिनियोजन हुन्छ र त्यो बजेटलाई हामीले नगरसभाबाट पारित गर्छाैं । त्यसैले वडाध्यक्षज्यूहरू आफ्नै वडा राम्रो बनाउनका लागि मरिमेटेर काम गरिरहनु भएको छ । द्वन्द्व निम्त्याउने, वाद विवाद हुने वा गर्ने फुर्सद पनि छैन । त्यस्तो भएको पनि छैन ।
० कार्यपालिकाको दैनिकी चलाउने क्रममा उपमेयरसँग कतिपय स्थानीय तहमा द्वन्द्व छ, यहाँ कस्तो छ ?
– उपमेयरसँग लुकाएर मैले काम गर्नुपर्ने वा उपमेयरले पनि मेयरलाई छलेर गर्नुपर्ने के काम होला र ?
० हेटौँडा त प्रदेशको राजधानी, बजेट बिनियोजन तथा समन्वयका हिसावले प्रदेश सरकारले प्राथमिकता दिएकै होला ? कि गुनासो छ ?
– राजधानी भएकाले धेरै कुरामा समन्वय छ । कतिपय बैठकमा समेत प्रत्यक्ष रूपमा प्रदेश सरकारका अंगहरूसँग भेट हुन्छ । तर, बजेट विनियोजन यथोचित नभएको त हाम्रो मात्रै होइन, सबै स्थानीय तहको उस्तै–उस्तै होला ।
० बागमती प्रदेशकै एउटा स्थानीय तहले प्रदेश सरकार र संरचना खारेज गर्नुपर्ने निर्णय गरेको समाचार सुन्नुभएकै होला । त्यो कदमबारे के भन्नुहुन्छ ?
– संविधान र कानुनले हामीलार्ई त्यो अधिकार दिएको छ ? लोकतान्त्रिक र गणतान्त्रिक शक्तिले नै बनाएको संविधानबमोजिम स्थानीय तह बनेका होइनन् ? कि त गलत संविधान बनाएछौँ भन्नुपर्यो, नत्र भने त्यसो गर्नु स्थानीय क्षेत्रको अधिकारभित्र पर्दैन । बरु बिग्रेका कुरा सुधार्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने हो ।
० तपाईंले नेतृत्व गरेकै स्थानीय तहमा करवृद्धि भएको भन्दै गत वर्ष ठूलै आन्दोलन भयो । व्यापारीहरू किन विरोधमा उत्रिने अवस्था आएको ?
– हरेक सरकारसँग असन्तुष्ट पक्ष सधँै हुन्छ । सबैको मन बुझाउन सकिँदैन । सरकार हो, सरकारले पक्कै पनि कर बढाउने, घटाउनेलगायत निर्णय आफ्नो विधि विधानमा बसेर गरिहाल्छ । आफूले पाइरहेको रकम कर बुझाउनुपर्दा केहीलाई असैह्य भयो होला । त्यसैले आन्दोलन भयो । नाराजुलुश भयो । कर बुझाउनुपर्दा कोचाहिँ खुशी होला र ? आफूले अनुदान, सहयोग र सेवा पाएमात्रै खुशी हुने हुन् मान्छेहरू । दिनुपर्दा जो पनि दुःखी नै हुने देखेको छु ।
० तर, त्यही आन्दोलनमा घुसपैठ भएर ‘मीनालाई ठीक पार्ने मौका यही हो’ भन्दै राजनीतिक चलखेल भयो रे नि त ?
– त्यो आन्दोलनमा के के भयो थाहा भएन । हामीले पटक–पटक वार्ता गरेका हौँ । आन्दोलनमा विभिन्न ढंगबाट राजनीतिक हस्तक्षेप भयो होला । हामी त्यो राम्ररी बुझ्न सक्छौँ । तर, राजनीतिक कदमले कत्तिको स्थायित्व पाउँछ ? उसको त्यो कदम कति दिन टिक्छ भन्ने कुरा पनि प्रमुख होला नि त ।
० अस्ति भर्खरै वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि मोसो दल्ने र भौतिक आक्रमण गर्ने काम भयो नि ! मान्छेहरूमा असन्तुष्टि त तीब्र रहेछ हैन ?
–भनेजस्तो बजेट बिनियोजन हुन सकेन होला । सार्वजनिक सेवाको सुधारमा हामीले काम गर्न सकेनौँ होला । तर, के त्यसको बदला मोसो लाउने कार्य सही हो ? वडाध्यक्षको मोबाइल नै लुटेर लग्ने थिति ठीक हो ? आज हेटौँडाको वडाध्यक्षलाई यस्तो भएको छ, यसले देशभर उग्ररूप लियो भने के हुन्छ ? यसबारे फितलो टिप्पणी गरेर हुन्छ ? जनताको सेवा गर्न आएका जनप्रतिनिधिलाई कालो छ्यापेर, भौतिक आक्रमण गरेर दिन खोजिएको सन्देश के हो ? यो गणतन्त्रविरुद्धको कार्य हो कि होइन ?
० त्यो विषय अलि अलि सार्वजनिक पर्ती जग्गाको उपभोगसँग पनि जोडिएको बुझिन्छ र तपाईं र वडाध्यक्षको समेत मिलीभगतजस्तो हल्ला गरिँदै छ नि ?
– यदि त्यस्तो छ भने हामीभन्दा माथि हामीलार्ई नियमन गर्ने, अनुसन्धान, कारबाही गर्ने संस्था र निकाय छन् । ती निकायले पुष्टि गरिदिओस् न यो कुरा । भूमिसँग सम्बन्धित यो कुरामा झन् कुनै पनि हिसाबले म छैन । यसका लागि जहाँ गएर उभिनुपरे पनि उभिउँला ।
० भूमिसम्बन्धी विषयमा भएको बहस र छलफलमा टिक्न नसकेपछि राजनीतिक शक्तिबाटै कालोमोसो छ्याप्ने प्रयास भएको अनुमान पनि केहीले गर्छन् । तपाईंलाई चाहिँ यो विषय कस्तो लाग्छ ?
–अमुक राजनीतिक शक्तिहरूले त्यसो गर्न लगाएको हो भने गर्वका साथ जिम्मा लिए भयो नि त ।
० कतिपय मिडिया र न्यू मिडियामा तपाईंको धेरै आलोचनाले मन दुख्दैन ?
– यो मन दुख्ने कुरा होइन । यदि, उनीहरूको खबरदारी ठीक छ भने त्यसलाई सच्याएर लैजाने क्षमता पनि राख्छु । काम र परिणामले नै सबै गुनासो र आलोचनाहरूको जवाफ दिन्छ भने मैले प्रतिवाद गरिराख्नु पर्दैन । केही नेगेटिभ मान्छेहरूका काम नै अरूलाई होच्याउने, उडाउने र आफै मात्र जान्ने सुन्ने भएको ठान्ने खालको छ । त्यो मेरो समस्या होइन, उनीहरूको समस्यामा मैले चिन्ता लिइराख्नुपर्दैन ।
० स्थानीय तहमा काम गर्नु भएको ८ वर्ष पूरा भयो, अझै म्याद थपिन्छ कि के हुन्छ अब ?
– मैले चाहेर मात्रै हुने होइन । घटना, काल, परिस्थितिहरूले बनाउँदै जाने कुरा हो । हामीले ६ महिनादेखि नै खाना खाइरहेका छौँ, खान अबचाहिँ पुग्यो वा अघायौँ भनेर छाडेका छैनाैँ । त्यसैले रहर पुग्यो भन्ने कुरा होइन । जनताका एकपछि अर्का समस्या समाधानका लागि सधैँभरि लागिपर्ने प्रण गरेको छु । त्यो काम गर्न कुन निकायमा पुगिन्छ वा स्थानीय तहमै बसिन्छ कि भन्ने कुरा भविष्यले निर्धारण गर्नेछ ।
० अन्त्यमा एकीकृत समाजवादीबाट निर्वाचित भएर पनि पार्टीलाई समय नदिएको, भनेको कतिपय काम नगरिदिएको आरोप सत्य हो ?
– मेरो लागि पार्टी भन्नु नै जनता हो । पार्टी नेतृत्वसँग आवश्यक पर्दा छलफल गर्ने र सल्लाह गर्ने कामलाई निरन्तरता दिएकै छु । मूलतः जनताको काममा लाग्नु पर्ने भएकाले राजनीतिक गतिविधिहरू र क्रियाकलापहरूमा नदेखिएकोजस्तो यहाँलाई लागेको होला । म सँधै जनताकै बीचमा छु, र रहनेछु ।
टिप्पणीहरू