विदेशी विश्वविद्यालयलाई नेपाल भित्र्याउने चौधरीको चाहना
निजीकरणको प्रभावले सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको गुनासो बढिरहँदा एकजना सांसदले विश्वविद्यालयमा विदेशी लगानी खुला गर्ने कानुन निर्माणमा जोड दिएका छन् । नेपाली काँग्रेसका सांसद तथा व्यापारी विनोद चौधरी विदेशीलाई विश्वविद्यालय खोल्न दिनुपर्ने पक्षमा उभिएका हुन् ।
वद्यार्थीलाई विदेश पठाउनुभन्दा उताका राम्रा विश्वविद्यालयहरुले नेपालमा आएर अध्ययन गराउने वतावरण बनाउन सके राज्यलाई फाइदा हुने दाबी गर्दै चौधरीको यस्तो धारणा आएको हो । संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकमा यो प्रावधान राख्नुपर्ने उनले बताए ।
अहिले विधेयक पारित गर्ने तयारी भैरहेको जनाउँदै सांसद चौधरीले यहिबेला विदेशी लगानीकर्ताले नेपालमै आएर इन्स्टिच्युसन खोल्न पाउने कानुन बनाउनपर्नेमा जोड दिए ।
‘अहिले हामी एजुकेसन बिल पास गर्ने संघारमा छौँ । आजको बेला भन्या वल्र्डका रेपिटेड एजुकेशन इस्न्टिट्युसनहरुले फ्रेन्चाइज कोलाब्रेसनहरु विश्वभर दिइरहेका छन् । हामी एकोहोरो रुपले हाम्रा विद्यार्थीलाई बाहिर पठाइरहेका छौँ । त्यो गर्नुको सट्टा उताका इन्स्टिट्युसनहरुले यहीँ आएर इन्स्टिट्युशन खोल्ने कोलाब्रेसन बनाउन जरुरी छ’, नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै उनले भने ।
सांसद चौधरीले नेपाली विद्यार्थी बाहिर पठाएर डेढ खर्ब रुपैयाँ खर्च गर्ने केही व्यक्तिहरुको दोकान बन्द गर्नुपर्ने बताए । स्मरणीय छ, नेपालका बैंकलाई विदेशमा शाखा खोल्न दिनुपर्ने धारणा राखेको एक हप्तापछि उनको यस्तो भनाइ आएको हो ।
देशबाहिर पनि होटल र रियलस्टेटजस्ता क्षेत्रमा लगानी गरेका चौधरीले नेपाली बैंकले विदेशमा शाखा खोल्न पाउनुपर्ने मत राखेका थिए । यसो गर्दा नेपाली बैंकले विदेशमा रहेको नेपाली पुँजी संकलन गर्न पाउने उनको तर्क छ ।
टिप्पणीहरू