आठ प्रकारका बिरामीलाई बीमा रकम दोब्बर

आठ प्रकारका बिरामीलाई बीमा रकम दोब्बर

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले आगामी साउन १ गतेदेखि आठ प्रकारका रोगको उपचारमा दोब्बर खर्च पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममार्फत त्यस्ता बिरामीलाई दुई लाख रुपैयाँ उपचार खर्च दिन लागिएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर, मुटु रोग, मृर्गौला, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले सो सुविधा प्राप्त गर्नेछन् । आज सामाजिक सञ्जालमा एउटा स्ट्याट्स लेख्दै उनले स्वास्थ्य बीमा थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन मन्त्रालय निरन्तर प्रयासरत रहेको बताएका छन् । 

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट आठ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धताअनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं’,उनले लेखेका छन्,‘अब क्यान्सर, मुटु, मृर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।’

मन्त्रालयले बीमा रकम वृद्धि गर्नका लागि स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरिसकेको छ । बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि एक लाख रुपैयाँ बराबरको औषधीउपचार पाउने व्यवस्था छ । सरकारले आठ प्रकारका कडा रोगका बिरामीलाई भने थप राहत दिने उद्देश्यले एक लाख रुपैयाँ बढाइदिएको हो ।

टिप्पणीहरू