पेटमा पिसाब भरिएपछि बालकको अवस्था गम्भीर
मोरङको कटहरी गाउँपालिका–४, नयाँबजारका ७ वर्षीय प्रेम कामतको गम्भीर स्वास्थ्य अवस्थाका कारण आमाबुबा चिन्तित देखिन्छन् । मृगौलामा समस्याका कारण पिसाब बन्द भएपछि उनको पेट फुलेको बताइन्छ ।
पिसाब नभएपछि अस्वाभाविक रूपमा पेट फुलिरहने समस्या रहेको उनका बाबु शिवनारायण र आमा धनवन्तीले बताए । उनीहरुका अनुसार प्रेमले चार वर्षदेखि यो समस्या झेल्दै आएका छन् । काठमाडौंको कान्ति बाल अस्पताल, विराटनगरको नोबेल र विराट टिचिङ अस्पतालमा उपचार गराइसक्दा पनि दीर्घकालीन सुधार नदेखिएको मातापिताले बताए ।
अस्पतालमा भर्ना भएर पेटको पिसाब खाली गराइएपछि केही महिना सुधार देखिए पनि जाडो याममा समस्या बल्झिने गरेको हो । यसपटक पनि छठपर्वदेखि प्रेमको पेट एक्कासी बढ्दै गएकाले परिवार उपचारको दौडधूपमा देखिन्छ ।
बाबु शिवनारायणले भने, ‘फेरि कान्ति बाल अस्पतालमै लैजानुपर्छ, डाक्टरहरुले यहाँ सम्भव छैन भनेका छन् । पाँच लाखभन्दा बढी खर्च गरिसक्यौँ, अब ऋण लिने पनि ठाउँ छैन।’
विपन्न परिवारलाई आर्थिक अभावका कारण बालकको निरन्तर उपचारमा संलग्न हुन कठिन देखिन्छ । यो समस्यापछि प्रेम विद्यालय जानबाट वञ्चित छन् । परिवारले १० वर्षीय ठूलो छोराको पनि टाउकोसम्बन्धी समस्या भएकाले थप खर्च थेग्न गाह्रो भएको बतायो । सुकुम्बासी परिवारका अभिभावकले नाबालक छोराको थप उपचारमा सहयोगी हातको अपेक्षा गरेको छ ।
टिप्पणीहरू