पूर्वाञ्चलको ‘परीक्षा काण्ड’ मा अख्तियारको चासो

पूर्वाञ्चलको ‘परीक्षा काण्ड’ मा अख्तियारको चासो

विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा भएको अनियमितताको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आन्तरिक छानबिनको नाममा भित्रभित्र घटना ‘फासफुस’ पार्ने चलखेल बाहिरिएपछि अख्तियार अग्रसर भएको हो । 

विराटनगर महानगरपालिका–२, पोखरियास्थित इञ्जिनियरिङ संकायको विश्वविद्यालयको आंगिक क्याम्पस ‘पुसेट’ मा गत असार ३ गते सञ्चालित परीक्षामा गार्ड बसेका कर्मचारी मनिष यादवको स्कुटरको डिक्कीबाट ८० हजार रुपैयाँ र दुई थान खाली उत्तरपुस्तिका बरामद भएको थियो । घटना छानबिनका लागि पूर्वपरीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतको संयोजकत्वमा एक साताभित्र प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय समिति गठन गरिएको थियो । तर, अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन । 

आन्तरिक छानबिनको नाममा गम्भीर अपराध ढाकछोप हुने आशंका बढेपछि ईटहरीस्थित अख्तियारको कार्यालयले परीक्षा नियन्त्रक कार्यालयलाई पाँच दिनभित्र प्रतिवेदनको सक्कलप्रति बुझाउन निर्देशन दिएको छ । अख्तियार स्रोतका अनुसार कार्यालयले गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पत्राचार गरेर छानबिनको प्रतिवेदन बुझाउन भनेको हो । 

घटनामा संलग्न कर्मचारी यादवलाई विश्वविद्यालयले हालसम्म आन्तरिक सरुवाको कारबाही मात्र गरेको छ । ‘लहरो तान्दो पहरो भत्किने' डरले प्रहरी कारबाही अगाडि नबढाएको स्रोतको जिकिर छ । कार्यालयले छानबिनलाई आन्तरिक रुपमा सीमित गर्न खोजेको छ । 

परीक्षा केन्द्रमै अनियमितता भएको सूचना बाहिरिएपछि छानबिन समिति गठन गरेको भएपनि घटनालाई सामसुम पार्ने नियत रहेको शंका कर्मचारीहरुले गरेका छन् । विश्वविद्यालयको छाप लागेको उत्तरपुस्तिका बाहिर लैजाने, बाहिरबाटै उत्तर लेखाएर भित्र ल्याएर साट्ने कार्य विगतदेखि नै हुने गरेको र यसमा गिरोह नै सक्रिय भएको बताउँदै केही कर्मचारीले निष्पक्ष छानबिनको माग गरेका छन् । 

यता, सो घटनापछि परीक्षा नियन्त्रक कार्यालयमा चहलपहल बढेको छ । एक कर्मचारी भन्छन्,‘गिरोहको मिलेमतोबिना उत्तरपुस्तिका बाहिर जान सक्दैन । यस्तो गम्भीर घटनालाई सामान्य ठान्नुहुँदैन, सीआईबीबाट गहन अनुसन्धान गरी दोषी पत्ता लगाउनुपर्छ ।’ 

घटनामा पहुँचवाला विद्यार्थी नेता र परीक्षा कर्मचारीको संलग्नता रहेको अनुमान लगाइएको छ । त्यसो त, विश्वविद्यालयको परीक्षामा प्रश्नपत्र किनबेच र उत्तरपुस्तिका साटफेरको घटना पटकपटक सार्वजनिक भइसकेको छ । 

पुसेट कलेजको ल्याबमा पाँच वर्षदेखि ज्यालादारीमा कार्यरत कर्मचारी यादवलाई परीक्षामा गार्डका रुपमा खटाइने गरिएको छ । उनी प्रत्येक परीक्षा शुरु भएलगत्तै स्कुटर लिएर बाहिर जान्थे र डेढ घण्टापछि मात्र फकिन्थें । गत असार ३ गते परीक्षा शुरु भएको १२ मीनेटमै बाहिर निस्कन लागेका उनलाई प्रहरीले स्कुटरबाट दुई थान खाली उत्तरपुस्तिका र ८० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

तर, उनको प्रत्यक्ष संलग्नता फेला नपरेको भन्दै प्रहरीले मुचुल्का उठाएर छोडेको छ । जेठ १८ गतेदेखि शुरु भएको संकायको छैठौं सेमेस्टरको परीक्षा असार १९ गते सम्पन्न भएको छ । उक्त केन्द्रमा ईस्टर्न इञ्जिनियरिङ कलेजका दुई सय विद्यार्थी सहभागी थिए ।
 

टिप्पणीहरू