मदन भण्डारीको पत्नी र पुत्रीसामु मानमर्दन !
एमालेको अध्यक्ष वा प्रधानमन्त्रीका रूपमा केपी ओलीको धेरैजसो बोलीमा अहंकार र निषेध मिसिएको हुन्छ । यो नवसामन्ती र परपीडक वा हेपाहा प्रवृत्ति हो । फरक र मीठो सुनिनु तर अन्तर्यमा भने अप्रिय सन्देश दिनु र दवावमा राख्नु त्यसको उद्देश्य हो । सनातन संस्कृतिमा एउटा उदाहरण छ –
विद्या विवादाय धनं मदाय, शक्तिः परेषां परिपीडनाय ।
खलस्य साधोर्विपरीतमेतद्, ज्ञानाय दानाय च रक्षणाय ।।
(विद्या विवाद गर्न, धन घमण्ड गर्न र शक्ति अरूलाई दुःख दिन नभएर विद्या बाँड्न, धन दान गर्न र शक्ति अरूको रक्षा गर्नमा केन्द्रित हुनुपर्छ)
संसारका सबै वस्तु र विषयको ज्ञाता त कोही छैन वा हुन सक्दैन तर ठूला–ठूला शब्द र विषय बोल्दैमा वा लेख्दैमा त्यति नै ज्ञानको सामर्थ्य मलाई छ भनेर कसैलाई भ्रम हुन सक्छ । दुनियाँ त्यति धेरै लाटो पनि छैन । इतिहासमा आत्मप्रशंसामा रमाउने भोक कमरेड ओलीको अर्जुनदृष्टिमा देखिन्छ ।
अन्य सबै असाध्य रोगको उपचार होला तर यो ‘आत्मप्रशंसा’को औषधि विज्ञानले पत्ता लगाउन बाँकी छ । राधाकृष्ण मैनालीले किन केही भने वा किन केही लेखे भन्ने कुराबारे जगत्ले जिज्ञासा राख्न सक्छ भनेर केपी कमरेडलाई अब कसले सोध्ने ? अरू धेरै वा सबैका ज्ञानको सीमा र स्वार्थ फरक होला तर कमरेड मैनाली त निरंकुशताको विरुध्द लडेका र कमरेड ओलीकै कठिन दुःख काट्दाका सहयात्री पनि हुनुहुन्छ । आफ्नो पार्टीको सिद्धान्तकार र सहयात्री मानेको मदन भण्डारीबारे उठेका ती अप्रमाणित आरोपबारे अब के उनका श्रीमती वा छोरीहरूले उहाँलाई स्पष्टीकरण दिनुपर्ने हो ? अन्यथा कमरेड केपी ओलीले मदन भण्डारीबारे राखेको जिज्ञासा गैरराजनीतिक मात्र होइन, पारिवारिक मर्यादा र भावनाको विपरीत पनि छ ।
कम्तीमा मदन भण्डारी नेपाली राजनीतिमा त्यसरी विवाद र बद्नाम नभएका व्यक्ति हुन् । राजनीतिक विवाद र कसैले गैरराजनीतिक वा गलत प्रश्न गरेको होला तर त्यही गलत गैरराजनीतिक प्रश्न त्यो ठाउँमा त्यो तहको व्यक्तिले बोल्नु भनेको सुविचारित कुण्ठा हो । मदनलाई सानो देखाउने र विद्यालाई दया गर्ने र नियन्त्रित अवसर दिने यत्न हो । केपीको यो सनक उहाँको अहम्, उमेर, औषधिको परिणाम त हो नै, नियत पनि सबैलाई सानो देखाउने हो । पृथ्वीनारायण शाहको एकीकरणबारे पनि कमरेड केपीले बोलिसक्नुभा’छ । राज्य निर्माण, राज्यव्यवस्था, तत्कालीन राजा रजौटा वा विश्व परिवेशमा कमरेडहरू मोहनविक्रम सिंह वा आहुतीले चर्चा र उत्खनन गर्नु फरक हो तर कमरेड केपी ओलीले गरेको टिप्पणी फरक छ । कमरेड ओली इतिहासकार, विचारक, सिद्धान्तकार पनि होइन । राजनीतिक सिद्धान्त र निकटताबारे गरिने प्रश्न वा जिज्ञासा फरक हुन सक्छन् र तिनमा मतैक्य हुन वा नहुन पनि सक्छ । तर, दिंवगतगत मदन भण्डारीको व्यक्तिगत जीवन वा पारिवारिक जीवनबारे अप्रमाणित विषयमा सार्वजनिक रूपमा उठाइएका प्रश्न मदनका परिवारलाई अपमानित गर्न र पीडा दिनकै लागि हुन् ।
‘ज्ञान’को दियोले चारैतिर उज्यालो छर्छ तर ‘अहम्’को राँकाेले धुँवा र खरानी मात्र थुपार्छ ।
अझै पनि कमरेड ओलीले पार्टी नेतृत्वचाहिँ विद्या भण्डारीलाई नै बुझाउन सक्नुहुन्छ । विद्या भण्डारीको राजनीतिक मोह कमरेड केपीको नवसामन्ती कम्युनिष्ट स्कुलिङबाट सिकेको निषेध र सिण्डिकेटको राजनीतिकै परिणाम हो । विद्या भण्डारी पुनः राजकीय शक्तिमा आएर मदन भण्डारीको उत्तराधिकारीका रूपमा मदनका अधुरा सपना कति र कसरी पूरा हुन्छन् त्यो भविष्यले देखाउला तर यतिचाहिँ निश्चित छ बितिसकेका मदनका नाममा अरू केही रकम राज्यबाट खर्च गर्न सजिलो हुन्छ । त्यो खर्चबारे सधैँ विवाद छ र सडकदेखि संसदमा समेत प्रश्न उठ्ने गर्छ । पूर्वराष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त अवसरलाई कति न्याय गर्न सकेँ वा सकिनँ होला तर सकेको इमान्दार प्रयास गरेँ भनेर आत्मास्वीकृति नगर्नुको कारण आफ्नो क्षमता देखाउन र प्रमाणित गर्न नसकेर हो र ?
‘हुटिट्याउँले सागर थामेर चट्याङ रोकिन्न’ भन्दै आफैँले किनारमा बस्नुपर्नेमा कमरेड केपीले भन्न बाँकी मुखै नबिसाई खाने रहर किन ? यो दिन पनि आउनेछ र उहाँले भन्नुहुनेछ– अघाउञ्जेल दिएकै हो तर त्यतिले नपुगेर कोल चाट्नु किन ? यदि नेकपा एमालेलाई उहँहरू दुईमध्ये एकले 'नियन्त्रण' मा राख्ने आन्तरिक तयारी होइन भने यो दिन आउन अब धेरै कुर्नु पर्दैन |
राज्य र राज्यका निकायलाई अलमल, द्विविधामा पारेर सत्ता र शक्तिको लालसा विद्या कमरेडले पनि नगरे हुने । शिखरमा पुगेर सुरक्षित अवतरण गर्नु जति बुद्धिमानी हुन्थ्यो, उहाँले पनि शिखरमै बसिरहने रहर पालेर आफ्नै कमजोरी प्रमाणित गर्नुभयो । विद्या वा केपीले जानेको र सकेको अरूले नसक्ने हुँदैन । यो राजनीतिक अपराध, नयाँ राजनीतिक नेतृत्वको निषेध र ‘राजनीतिक बन्ध्याकरण’ पनि हो । उहाँहरूको अवसर, उमेर, अनुभव र क्षमताको प्रयोग र प्रमाणित हुन बाँकी छैन । लैंगिकमैत्री नलाग्न पनि सक्छ, ‘ओगटेर’ नै बस्ने हो भने, जनताले निर्वाचित गर्ने अर्थात् रोज्ने, अवसर नपाउने हो भने यो प्रणाली नै किन ? विद्याको र केपी कमरेडको परीक्षण भयो र परिणाम पनि देखियो | अब अरूको परीक्षण गर्ने अवसर खै ? विष्णु, शंकर, ईश्वर, अष्ट वा अरू जो–कोहीले पनि अवसर पाउनुपर्दैन योग्यता र परिणाम देखाउने ? मुखै खाली नगरी सेवा गर्नुपर्ने को हो उहाँहरू ? राज्य, व्यवस्था र राजनीतिक पार्टी नै उहाँहरूको ‘जनैको साँचो’ भयो । यसरी त कसरी हुन्छ ?
अरुले पनि अबसर पाउनुपर्छ भनेर साहनुभूतिले हेरेका कमरेड इश्वर पोखरेलको भक्ति कता हो तर राजकीय पदहरूमा को कति पटक र कसरी प्रवेश गर्न पाउँछन् भन्ने प्रश्नमा भन्दै हुनुहन्छ - 'त्यो व्यक्तिको स्वतन्त्रता र सार्वभौम अधिकार हो यसमा के को नैतिकता ? म कहाँ जन्मे, कहाँ हुर्कें र कहाँ बिबाह गरें यसमा मर्यादा र अमर्यादाको प्रश्न छैन |' बिबाह बाहेक उहाँकै भनाइ सही मानौं के जन्म र विचारका आधारमा आजीवन राजकीय पदमा आलो-पालोको सेन्डिकेट लोकतान्त्रिक गणतन्त्र ? योग्यता-क्षमता र परिक्षणका आधारमा जनताका छोराछोरीले समान अबसर पाउनुपर्छ भनेर लडेकै कारण राजा ज्ञानेन्द्रले कमरेड पोखरेललाई पनि २०६२-६३ मा 'पाता कसेर' कैद गरेका होइनन् र ?
‘हाम्रा बा भकारीमा लुकेका छैनन्’ भनेर होस् वा चोरका खुट्टा काट्छु भनेर, चोर पत्ता लगाउने सनातनी न्याय प्रणालीको कसीमा मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा एमाले अध्यक्ष तथा प्रम केपी ओलीले ‘पार्टीभित्रको ‘डाङडुङ’ दृश्यमा ल्याउनुभयो । ओलीको भनाइ थियो, ‘एमालेभित्र यो छ त्यो छ भनेर यहाँ कसैले बम पड्काउँछ भनेर सोचेको भए त्यो पूरा हुनेवाला छैन । तर, त्यो माथिको सनातनी न्याय प्रणालीका कसीमा स्वयं ओलीले नै सार्वजनिक गर्नुभयो, ‘तपाईंहरू राम्रो बोल्नुहोला ।’ राम्रो बोल्नुहुन्छ, उहिलेदेखि नै थाहा छ । थाहा के छ भने ‘म जे चाहन्छु त्यही बोलिरहनुभएको छ, अब पनि त्यही बोल्नुहोला ।’ कमरेड ओलीले मनमा लागेका कुरा बोल्नुहोस्, मन नपरेका कुरा नबोल्नुहोस् त भन्नु भएन नि ! संसदमा जननिर्वाचित अन्य प्रतिनिधिका गुनासो त सुन्न नसकेर राष्ट्रियता र विधिविपरीत बोल्ने छुट कसैलाई छैन भनी धम्की दिनुहुने बा’ले आफ्ना दुःख र तजविजले बनाएका पार्टीका उपाध्यक्ष, रक्षामन्त्री, सभामुख, मुख्यसचिव वा राष्ट्रपति कसैले आफूलाई मन नपरेको कुरा गर वा तिमीहरूको मनमा लागेको कुरा गर कसरी भन्न सक्नुहुन्छ ? सबै ठीकठाक छ, म छँदै छु, मेरो विकल्प वा मेरो उत्तराधिकारी ऐन मौकामा मै घोषणा गरौंला । कमरेड ओलीले भन्नु भएको दुनियाँले यसरी नै बुझेको छ |
राम यहीँ जन्मे, वाल्मीकि पनि । शंकर हुन् वा शंकराचार्य, पाणिनी हुन् वा जैमिनी यहीँका हुन् । कौटिल्य हुन् वा विश्वकर्मा, सरस्वती हुन् वा लक्ष्मी कहाँका हुन् ? आजसम्म यी कसैका उत्तराधिकारी कोही छैनन् । यी सबैको ‘लिगेसी’ बोकेको पृथ्वीनारायण शाहभन्दा पहिले र बुद्धभन्दा पछि उनी बराबर कोही जन्मेको छैन यो लोकमै भनेर त राजगुरू जगमानले पनि मानेकै हुन् ! राजगुरूको त्यही मन्त्रको अहंले कमरेड ओलीलाई उठ्नै नसक्नेगरी थिचेको छ । मदन भण्डारीबारे उहाँले जे बोल्नुभयो र जसरी बोल्नुभयो, त्यो स्वाभाविक र स्वस्थ होइन । ‘ज्ञान’को दियोले चारैतिर उज्यालो छर्छ तर ‘अहम्’को राँकोले धुँवा र खरानी मात्र थुपार्छ ।
माथि पनि उल्लेख छ, अझै पनि एमालेमा केपी ओलीले नै विद्या भण्डारीलाई पार्टी नेतृत्वका लागि अवसरको मार्ग खोलिदिनुहुने सम्भावना छ । यो अनुमान यसकारण पनि गर्न सकिन्छ कि उहाँहरूबीच स्वार्थ बाझ्ने कुनै राजनीतिक घटना– दुर्घटना सार्वजनिक भएका छैनन् । दृश्यमा पार्टी पद्धति र प्रक्रिया पुर्याएरै दुवै जनाले राजनीतिक उचाइ प्राप्त गरे पनि अन्तर्यमा एकअर्कालाई व्यक्तिगत रूपमा गरेको उदारमना सहयोग निर्णायक नै छ । यदि, राष्ट्रपतिका रुपमा मध्यरात गरिएका निर्णय सुविचारित वा विवेकसम्मत थिएनन्, करकाप र डरत्रासमा गरेका थिए भने अर्कै कुरा, अन्यथा यो एकअर्कालाई गुन तिर्न गरिएको ‘त्यो पर्दैन’ प्रहसन मात्र हो । तर, पछिल्लो पटक केपी कमरेडले पारिवारिक जीवनमा श्रीमती वा छोरीहरूले मात्र होइन, एमाले मात्र नभएर नेपालको कम्युनिष्ट पार्टीका सबै समूह, कांग्रेसका अतिरिक्त नेपालबाहिर पनि प्रभावशाली कम्युनिष्ट नेताको छवि बनाएका मदन भण्डारीको चरित्र हत्या गर्ने अप्रमाणित विषयमा प्रवेश गर्नुचाहिँ रहस्यमय र शंकास्पद मात्र होइन, व्यक्तिगत सदाशयतालाई गलत रूपमा दबावमा राख्ने प्रयास हो । सम्बन्धमा कटुता नै शुरु भएको हो भने उहाँहरूको विगतदेखिको सुमधुर सम्बन्धमा तुषारापातको प्रस्थानबिन्दु यहीँबाट शुरु हुनुपर्छ ।
जीवन यात्राको लय नसमात्दै पति गुमाएकी पत्नी र नाबालक छँदै पिता गुमाएका छोरीहरूका अगाडि कमरेड केपीको त्यो अभिव्यक्ति सबैलाई होचो देख्ने, होचो बनाउने, अपमानित गर्ने र दयाका पात्रको रूपमा दबाबमा राख्ने उद्देश्यले नै प्रकट भएको हो । मदनमाथि विरोधी पक्षले निर्वाचनको प्रचारका क्रममा लगाएको आक्षेपको मदन स्वयंले प्रतिवाद गरेर खण्डन भएको विषय हो । त्यो झुट थियो र गलत भएको कुरा त्यो प्रचार गर्नेहरूले ३ दशकपहिले नै स्वीकार गरेर प्रायश्चित पनि गरिसकेको विषय थियो । ‘तपाईंले जे बोल्नुहुन्छ, राम्रै बोल्नुहुन्छ’ तर मेराविरुद्ध नबोल भनेर खबरदारी गरेको होइन भने उहाँहरूको यो ‘नोंकझोक’ देखाउने दाँत मात्र हुन् ।
जति जवाफदेही हुनुपर्ने त्यो नहुने कमरेड ओलीका अनेक उदाहरण छन् । तीमध्ये अप्रमाणित स्रोतको हवाला दिएर मदन भण्डारीको हत्या नेपाली कांग्रेसको षड्यन्त्र-योजनामा भएको लोकलाई सार्वजनिक रूपमा बताउनुहुने ओलीले गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्मका खोज, अनुसन्धान र अनुभव समेटी तथ्य सार्वजनिक गर्नु पर्दैन ? जबकि उहाँ नै पार्टीले छानबिन गरेर तथ्य पत्ता लगाउन गठन गरेको समितिको संयोजक पनि हो । म बुढो भएँ । रोगी भएँ,स्मरण शक्ति पनि गुमाएँ तर मलाई चैं ' यस्तो भयो होला जस्तो लाग्छ ' भनेर कसैले कसैलाई सुनाएको अनौपचारिक गफ नै उहाँको छानबिन समितिले निकालेको निष्कर्ष हो र ?
तर, यसको उल्टो उहाँकै निष्कर्षमा मदन भण्डारीको हत्यारालाई काँधमा बोकेर ‘समृद्ध नेपाली र सुखी नेपाल’ को सपना साकार पार्न उहाँ प्रधानमन्त्री बन्नुभएको मात्र छैन दिन गनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर किस्तीमा हाली बुझाउन तयार रहेको आफ्नो इमान्दारीको ‘हाँक’ पनि दिइरहनुभएको छ ! यो विरोधाभासबारे एमालेका कुनै नेता कार्यकर्ताको मनमा जिज्ञासा नहोला र ? आफूलाई प्रश्न गर्ने र जिज्ञासा राख्नेहरूमाथि असहिष्णु र बदलाको भावना राख्नुहुने कमरेड ओलीबारे विगतमा कुनै सन्दर्भमा मदन भण्डारीले नजानेर कुनै प्रश्न गरेको पनि हुन सक्छ । त्यसको बदला अहिले कमरेड ओली मदनका परिवारलाई सार्वजनिक मञ्चमा अपमानित गरेर लिरहनुभएको त छैन ?! यो राजनीतिक, सैद्धान्तिक, मित्रवत् र मानवीय छैन । यसबारे कमरेड ओलीलाई प्रश्न नगर्ने, त्यसलाई उत्तेजनामा आएर गल्ती–कमजोरी गरेको नस्वीकार्ने र आत्मालोचना नगर्ने हो भने मदन भण्डारीको यो हदको सुविचारित अपमान आजसम्म अरू कसैबाट भएको छैन ।
टिप्पणीहरू