बालुवाटारबाट यसरी उल्टियो टिम

बालुवाटारबाट यसरी उल्टियो टिम फाइल फाेटाे

अनेरास्ववियुको अध्यक्ष हुने रहर भए पनि उद्घाटनको दिन साँझसम्म पनि डा. सुजन कडरिया लाइनमा थिएनन् । उद्घाटन सत्रको अघिल्लो दिन शंकर पोखरेलले दीपक धामीको नाम बालुवाटारबाट फाइनल गरेर आएका थिए । 

तर, सुजनलाई शुरुदेखि अध्यक्ष बनाउन हिँडेका जिल्लावासी पूर्वअध्यक्ष माधव ढुंगेलले बाजी मारिछाडे । ‘उद्घाटन सत्रको फोटो हेर्नुस् त, माधव दाइको मुहार कस्तो थियोे ?’ अखिलका एक निवर्तमान पदाधिकारी भन्छन् । माधवले  शुरुमा नरेश रोकायालाई (निवर्तमान महासचिव) सम्झाए, त्यसपछि समिक बडाललाई (निवर्तमान अखिल अध्यक्ष) समाते । जबकि त्यो दिनसम्म पनि समिकले प्रकाश पौडेललाई अध्यक्ष बनाउने भनिरहेकै थिए । त्यही रात अध्यक्षमण्डलका भानुभक्त ढकाल, किशोरविक्रम मल्ल, माधव ढुंगेल, समिक बडाल, नरेश रोकाया आदि बालुवाटार पुगे । 

र, केपी ओलीलाई रिपोर्टिङ गरे– प्रकाश हामीले भनेको मान्दैन, दीपक धामी पार्टी लाइनभन्दा दायाँबायाँ गर्दैन, सुजनलाई अध्यक्ष बनाउँदा हामीमाथिको आक्रमण अलि कम हुन्छ । हाम्रोमा डाक्टर अध्यक्ष छ भनेर देखाउन पाइन्छ । समिकले प्रस्ताव राखे, नरेशले समर्थन जनाए । केपी ओलीको सोधाइ रह्यो– सर्वसम्मत हुन्छ, या निर्वाचन गराउनुहुन्छ ? निर्वाचन भएमा जिताउने जिम्मा कसले लिन्छ ? माधवले तत्काल भने, ‘जिताउने जिम्मा मेरो भो ।’

नरेशलाई पुनः केपी ओलीको नजिक हुनु थियो । २३ औं महाधिवेशनमा (२०७९) बागी उठेर महासचिव जितेपछि उनको वजन बढेको थियो । त्यसपछि बालकोट (पहिले) र बालुवाटार (अहिले) को ढोका बन्द रह्यो । उनी बन्द ढोका पुनः खोल्न चाहन्थे । (केपी ओलीलाई ‘बा’का नामले ब्राण्डिङ गर्नेमध्ये नरेश पनि एक हुन् ।) 

भोलिपल्ट (सोमबार, २६ जेठ) बन्दसत्र समयमै भएन । केही गडबड छ भनेर गोविन्द गिरी बुझ्न जाँदा धमाधम प्रतिनिधिहरू हेरफेर भएको देखेपछि भने, ‘व्यवस्थापन उपसमितिको निर्णयभन्दा बाहिरका प्रतिनिधि आए, म मान्दिन, बन्दसत्र अघि बढ्दैन ।’ उता कोशी प्रदेशको प्रतिनिधि हेरफेर गर्न लाग्दा मनोज ताम्लीले (निवर्तमान सचिव) फाइल नै धुजा–धुजा हुने गरी च्यातिदिए । यही विषयमा ४/५ घण्टा जति बन्दसत्र चलेन । पछि प्रतिवेदनहरू पास भयो ।

(मंगलबार) २७ गते बन्द सत्र शुरु भयो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले हलसामु यसरी नाम प्रस्तुत गरे, 

अध्यक्ष : सुजन कडरिया
उपाध्यक्ष : प्रकाश पौडेल, अञ्जना शिवाकोटी 

महासचिव : दीपक धामी

हलले तुरुन्तै विरोध गर्‍यो । वि वान्ट इलेक्सन भनेर नाराबाजी चलेपछि भानुभक्त बाहिरिए । १/२ घण्टा लगातार हलले निर्वाचन माग गर्‍यो ।

प्रकाश पौडेलको समूहले जुलुस निकाल्यो, त्यसपछिको पालो दीपक धामीको थियो । उपाध्यक्षमा निर्वाचित रामेछापका ई. विकास श्रेष्ठको समूहले नाराबाजी गरेपछि बल्लतल्ल निर्वाचन आयोग प्राविधिक कामतिर लाग्यो ।

त्यसपछि नै हो, टिममा राख्ने/फाल्ने आधिकारिक र (न) आधिकारिक वीचको लफडा शुरु भएको । डा. सुजनको नाम घोषणा भएपछि दीपक धामी भाउन्न भए । केपी ओलीका पिए राजेश बज्राचार्यसँग उनको अत्यन्तै नजिकको सम्बन्ध छ । उनले राजेशलाई कल गरेर घटना विवरण टिपाएपछि, बालुवाटारबाट तुरुन्त भानुभक्त ढकाललाई फोन गयो । त्यसपछि भानुले भने, ‘माधव, जसरी पनि दीपकलाई अध्यक्ष बनाउने निर्देशन छ, के गर्ने ? माधवले रिसाउँदै जवाफ दिए, ‘अस्ति बेलुकाको जे सहमति हो, त्यहीअनुसार हिँड्ने । बीचमा कसले के भन्छ, म मान्दिनँ । यदि सुजनलाई अध्यक्ष नबनाउने हो भने, हल छोडेर हिँड्छु, जेसुकै गर्नुस् ।’ भानुभक्त थप चेपुवामा परे । बालुवाटारको सहमति कार्यान्वयन गर्नु कि, अहिले आएको फोनको !

बल्लतल्ल मिलाएर अध्यक्ष सुजन, महासचिव दीपकको नाम फाइनल भयो । उता अन्तिम घडीमा प्रकाशले दीपकको टिमबाट महासचिव बस्छु भन्ने खबर पठाएका थिए, तर त्यतिञ्जेल ढिला भइसकेको थियो । 

उपाध्यक्षमा लफडा 

नरेश रोकायाहरूले विकास श्रेष्ठलाई उपाध्यक्ष आधिकारिक भन्दै बोके तर गोविन्द गिरी र नारायण घर्तीका उम्मेदवार राजकुमार ढकाल थिए । धर्म गिरी मौन बसे तर जितचाहिँ विकासकै भयो ।

धर्मले मदन भण्डारीलाई हराए 

निर्वाचन अवधिभर धर्म गिरी निर्वाचन स्थलमा खासै देखिएनन् । गिरीको फेसबुक पेज पनि सुनसान थियो । उनले उपाध्यक्षमा उठेका कसैको पनि प्रचार गरेनन् । उनले आफ्नो श्रीमती (रचना सापकोटा) लाई सचिवमा जिताउन नरेश रोकायसँग कुरा मिलाएर राजकुमार ढकाललाई हराएको उनीमाथि गम्भीर आरोप छ । उता, प्रकाशको समर्थनमा श्रीमतीलाई ३६ उम्मेदवारमध्येबाट ४ सचिवमा पनि दोस्रो सर्वाधिक मत (३०४) दिलाउन सफल भए ।

आफ्नै जिल्ला (प्युठान) का र बौद्धिक तथा लडाकु स्वभावका मदन भण्डारीलाई सचिवमा पराजित गर्न उनले कुनै कसुर बाँकी राखेनन् भनिन्छ । ‘आरआर क्याम्पसमा पटक–पटक कुटाइ खाएका र झण्डै गर्धन नै काटिएका मदनलाई त्यसरी शहीद बनाउन हुन्थेन’ धर्मनिकट एक कार्यकर्ताले गुनासो पोख्दै भने ।

त्यति मात्र हो र, एमाले महासचिव शंकर पोखरेल र सुजिता शाक्यले बेलायत उड्नुअघि समेत फोन गरेर दाङका भीमा डिसीले चुनाव हार्लिन् है भनी सम्झाएका थिए । तर, धर्मले भीमाको नाम लिस्टमै हालेनन् । 

मतगणना शुरु भयो । विद्युतीय मेसिन प्रयोग गरिएको हुँदा मत परिणम १५/२० मिनेटमै सार्वजनिक हुन्थ्यो तर प्रदेशअनुसार मत निकाल्दै प्रिन्ट गर्दा ढिला भएको हो । 

शुरुमा सुजनको प्रभाव क्षेत्र मानिएको बागमतीको मत गनियो । उनलाई १२१ मत आउने आंकलन गरिएकोमा सुजनको ९२ र प्रकाशको ५८ मत आयो । त्यसपछि सुदूरपश्चिम, कर्णाली, उपत्यका विशेष र मधेश प्रदेशको (१–१५ बुथ) गन्दा सुजनको ३०० र प्रकाशको २३६ मत भयो । आयोजक र विविध क्षेत्रको गणना सकिँदा (१–२८ बुथ) प्रकाश पौडेल ३० मतले अघि बढे । सुजनले ४८९ ल्याउँदा प्रकाशले ५१९ मत प्राप्त गरेका थिए । माधवले त्यतिबेला भनेका थिए, ‘आज बालुवाटारको स्टाटसले गर्दा हारिने भैयो ।’ र, अन्तिममा सुजनले ७ मतले जिते । 

प्रकाशलाई सेटल गर्न नयाँ आयोग 

अनेरास्ववियुमा पहिले ३ वटा आयोग थिए– अनुशासन, लेखा र निर्वाचन । यसपटक थपिएको छ– नीति, योजना तथा अनुसन्धान आयोग । 

पदाधिकारीमा झापाको कोही नहुने भएपछि यस्तो बाध्यता आइलागेको बताइन्छ । शुरुमा प्रकाश विष्टलाई उपमहासचिव बनाउने आश्वासन थियो । तर, अवस्था प्रतिकूल भएपछि पदाधिकारीसरह हैसियत हुने भन्दै नयाँ आयोगको अध्यक्ष बनाउने जिम्मा लिएर माधव ढुंगेल बालुवाटारबाट आए । प्रकाश शैक्षिक पात्र हुन् तर हल वरपर पनि एक्लै हिँड्थे । अखिलका एक प्रभावशाली पूर्व नेताकाअनुसार ‘आयोग अध्यक्षको पोर्टफोलियो पदाधिकारीसरह हुने र आउने महाधिवेशनबाट नेतृत्वमा लाने गरी आयोगमा ल्याइएको हो’ । 

पदाधिकारी स्नातक मात्र 

एमालेको विद्यार्थी संगठनमा नयाँ नेतृत्व आएको २ हप्ता हुन लागेको छ । पदाधिकारीहरू डाक्टर, इञ्जिनियर, खेलाडी, वकिल, जनस्वाथ्यकर्मी आदि छन् । केन्द्रीय कमिटीको पहिलो बैठकसमेत सम्पन्न भइसकेको छ ।

स्रोतले दिएको जानकारीअनुुसार पदाधिकारी अधिकांश स्नातक उत्तीर्ण छन् । सचिव गोपाल नेपाल र नीति, योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश बिष्टले मात्र स्नात्तकोत्तर गरेका छन् । गोपालले अर्थशास्त्रमा एमए गरेका छन् भने, प्रकाश एम.फिल.पिएचडी स्कलर हुन् । 

अनेरास्ववियुको पहिलो बैठक गत जेठ ३१ गते एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्यो । बैठकले सचिवहरूको कार्यविभाजन, अखिल एपे निर्माण गरेर जेनजी पुस्तालाई समेट्न प्रयत्न गर्ने, बराबर मत ल्याएकाहरूलाई मनोनीत गर्ने, ३२ वर्ष उमेर कटेका प्रदेश एवं जिल्ला नेतृत्वले एक महिनाभित्र पद हस्तान्तरण गर्ने, सदस्यता वितरणलाई अनलाइन र भौतिक दुवैतर्फबाट गर्ने, संगठनको बैंक खाता नामसारी गर्ने आदि निर्णय गरेको छ । उपत्यका विशेष बागमती प्रदेशबाट ३२ कटेको कारण विशाल न्यौपानेले असार ६ गते बानेश्वरको एक कार्यक्रममार्फत उपाध्यक्ष डम्बर खड्कालाई हस्तान्तरण गरेका छन् ।

टिप्पणीहरू