हिजो छुटेकी टिकटकर रमा बस्नेतविरुद्ध अर्को मुद्दाको तयारी
प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा पक्राउपरी अदालतको आदेशले धरौटीमा छुटेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता तथा टिकटकर रमा बस्नेतविरुद्ध अर्को मुद्दाको चेतावनी दिइएको छ ।
आफूलाई सामाजिक अभियन्ता भन्दै आएका सिन्धुलीका युवराज सफलले बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिन लागेका हुन् । करिब दुई हप्ता प्रहरी हिरासतमा बसेर हिजो छुटेकी उनले आफ्नो चरित्र हत्या हुने खालको भिडिओ बनाएर टिकटकमा हालेको युवराजले बताएका छन् ।
'आफ्नो मान्छेको भजन कीर्तन गरेर अरुको चरित्र हत्या गर्ने छुट छैन । कति पटक युवराज सफलको पनि चरित्र हत्या गरेको भिडिओ मैले देखेको छु', उनले भने, 'यो गरेवापत तिमीले फेरि सजाय पाउनुपर्ने नै छ । छिटोभन्दा छिटो साइबर क्राइममा रमा बस्नेतलाई अर्को मुद्दा हाल्दैछु ।' सार्वजनिकरुपमा माफी मागेको भिडिओ पोस्ट गरेको खण्डमा भने मुद्दा नहाल्ने युवराजको भनाइ छ ।
टिकटकमा लाइभ बसेर तथा भिडिओ बनाएर सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, एमालेसहित विभिन्न राजनीतिक दल र नेताको निन्दा र भर्त्सना गर्दै आएकी बस्नेत रवि लामिछाने र रास्वपाको भने 'अन्धभक्त' समर्थक हुन् । आफूलाई मन नपरेको पार्टी र व्यक्तिलाई तथानाम गाली गर्दै सञ्जाल रंग्याउने उनको टिकटकमा रविको समर्थन गरिएका भिडिओ पोष्टहरु देख्न सकिन्छ ।
आफ्नो पार्टीको समर्थक भएकै कारण उनको पक्राउप्रति आपत्ति जनाएका रास्वपाका केही नेता हिजो रिहाइ हुँदा खादा लगाउन पुगेका थिए । जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासको आदेशमा बस्नेत हिजो साँझ ३० हजार रुपैयाँ धरौटी बुझाए छुटेकी हुन् ।
टिप्पणीहरू