फेरि पनि कमरेड ‘छेपारे’ !

फेरि पनि कमरेड ‘छेपारे’ !

छेपारे–१

सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड यतिबेला निकै आलोचित बनिरहेका छन् । यो आलोचना अरुले होइन, उनैका नेता तथा कार्यकर्ताले गरेका हुन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सदनबाट पास गर्ने बेला (२०७८ फागुन २५ गते) सरकारमै थियो माओवादी । एकातिर माओवादीले सदनबाट एमसिसी पास गर्दै थियो भने वाइसिएललगायत माओवादी केन्द्रका कार्यकर्ता नयाँबानेश्वर क्षेत्रको सडकमा सोविरुद्ध उत्रिएका थिए । यतिसम्म कि अध्यक्ष प्रचण्ड एमसिसी सम्झौता पास गर्ने दिन कार्यकर्तालाई सडकमा सशक्त विरोध गर्नु भन्दै आगोमा घ्यू हालेको शैलीमा हौस्याउँदै संसद भवनभित्र प्रवेश गरेका थिए । माओवादी सांंसदहरू पनि एमसिसी कुनै पनि हालतमा पास हुँदैन भन्ने संसदभित्र छिरेका थिए । एकातिर कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रहार गरिरहेको थियो, कतिपय कार्यकर्ता प्रहरीमाथि ढुुङ्गामुढा गर्दै थिए । केही घाइते पनि भए । अर्कातिर माओवादीले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसिसी पास गर्‍यो । सडकका कार्यकर्ता हेरेको हेर्‍यै भए । लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनकै कार्यकर्ताले ‘छेपारे’को संज्ञा दिए । 

छेपारे–२

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएपछि नेकपा (माओवादी केन्द्र)ले उनको राजीनामालाई बटम लाइन बनाएको थियो । केही दिन उसले संघीय संसदमा पनि बिरोध जनायो । संसदका धेरै बैठक माओवादीकै कारण अवरुद्ध हुन पुगे । अन्ततः अध्यक्ष प्रचण्डले प्रमुख सचेतक हितराज पाण्डेमार्फत एकाएक सत्ताधारी दलहरूसँग दुई बुँदे सम्झौता गरे, गृहमन्त्रीको राजीनामालाई थाती राखे, सदन चल्न दिने सहमति गरे । आफ्नो अडानमा रहन नसक्ने प्रचण्डले छेपारे प्रवृत्ति देखाए भन्दै फेरि कार्यकर्ताले सामाजिक सञ्जालका भित्ता रङ्ग्याए । दुई दिनसम्म त उनकै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेसमते प्रचण्डले के गरेका हुन् भन्ने भेउ नै पाएनन् । देशका केही जिल्ला भ्रमणमा रहेकै बेला प्रचण्डले गरेको यस्तो ‘व्याख्यात्मक टिप्पणी’ बारे मेसो नै पाएनन् । पत्रकारहरूको जिज्ञाशामा उनी भन्थे, ‘यसबारे मलाई जानकारी छैन, अध्यक्षसँग भेटेपछि मात्रै सबै कुरा थाहा हुन्छ ।’ सायद अहिले काजीले कुरा बुझे कि !

‘रफ्फु’ भर्दै माओवादी 

प्रचण्डले अचेल सदनबाट शिक्षा, टिआरसीलगायत धेरै विधेयक पास गर्नुपर्ने र नयाँ बजेट पनि छलफलपश्चात पारित गर्नुपर्ने भएकाले सदन खुलाउन गृहमन्त्रीको राजीनामालाई लिएर सदन अवरुद्ध नगरिएको बताउने गरेका छन् । माओवादीका अर्का नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दुई कदम अघि बढ्नका लागि आफूहरू एक कदम पछि हटेको प्रतिक्रिया दिएका छन् । यस्ता तर्क र प्रतिक्रियाले गर्दा माओवादी आफैँले च्यातेको चोलीमा ‘रफ्फु’ भर्दै गरेको दृश्य हेर्नका लागि भने निकै रोचक बनेको छ । 

टिप्पणीहरू