मन्त्रीलाई डुबाउन अरु कोही चाहिन्न
सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलबीच विवाद चुलिँदै जाँदा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी मुख्यमन्त्री कमलबहादुर शाहको निशानामा परेका छन् ।
सुदूरमा अहिले नेपाली काँग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टी सम्मिलित तीन दलीय सरकार छ । पर्यटनमन्त्री मन्त्री चौधरीले सरकारमा नाउपाको प्रतिनिधित्व गर्छन् । तर, उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।
आफ्नो पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीलाई हटाउन मुख्यमन्त्रीले दबाब दिएको नाउपा सम्वद्ध स्रोतले जनाएको छ । तर,मन्त्री चौधरीले राजीनामा नगर्ने स्पष्ट पार्दै बर्खास्त गर्न चुनौती दिएका छन् ।
मुख्यमन्त्री शाहले यसअघि पनि नाउपाका लक्ष्मण किशोर चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन बाध्य पारेका थिए । दिगो वन व्यवस्थापनको कार्यविधिमा ठेकेदारसँग मिलेर घप्लाबाजी गरेको आरोप उनीमाथि लगाइएको थियो । त्यसपछि नियुक्त भएका अहिलेका मन्त्री रामेश्वरलाई पनि घोटालाकै आरोप लगाइएको छ । कृषिमन्त्री हुँदा उनले किसानलाई पावर टिलर उपलब्ध गराउने भनी पैसा असुलेको र त्यसविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको भनिए पनि भित्री कुरो भने अर्कै रहेको स्रोत बताउँछ ।
दाबी गरिएअनुसार आ.व. २०८२-०८३ को बजेटमा योजना पारिदिने भन्दै मन्त्रीका स्वकीय सचिव नविन थापाले ठूलो रकम कमिसन उठाएको प्रमाण मुख्यमन्त्रीकहाँ पुगेको छ । २५ लाखभन्दा तलका योजना नराख्ने र पूर्ण सुशासनयुक्त बजेट बनाउने भन्दै आएका मुख्यमन्त्री त्यसविपरित आफ्नै क्याबिनेट मन्त्रीका स्वकीयले धमाधम पैसा उठाएर खाएको थाहा पाएपछि आक्रोशित त छन् नै नैतिक संकट पनि छ ।
स्वकीय थापाले मन्त्रालयका योजनाहरु १० प्रतिशतमा खुलेआम बेचेको धनगढीका चोक चोकमा सुन्न पाइन्छ । अछामतिरका माओवादी पृष्ठभूमिका एक नेताले खुलेआम योजना खरिद गरेर ल्याएको सुनाउँदै हिँडेको धेरैलाई थाहा छ ।
'धेरैतिर चाहारेर यता आएका थापाको रेशमसङ्ग कुनै नाता छैन। तर, अहिले मामा भन्ने गरेका छन्', उनी भन्छन्, 'हाम्रो पार्टीबाट जो मन्त्री बने पनि उनै स्वकीय हुनुपर्ने किन ? यति कुराले भित्री खेल बुझिँदैन र !'
'बाहिर सुशासनका कुरा गरिएको छ, तर भित्र क्याबिनेटमै भ्रष्टाचारको गन्ध आएपछि उहाँ(मुख्यमन्त्री) अप्ठेरोमा हुनुहुन्छ, त्यही भएर मन्त्रीको राजीनामाको कुरा आएको हो', मुख्यमन्त्री निकट स्रोतले भन्यो । त्यसो त,मुख्यमन्त्री शाहका पूर्व निजी सचिवसमेत रहेका अवकाशप्राप्त कमर्चारी नारायण शर्माले घुमाएर मन्त्री रामेश्वर चौधरीका स्वकीय सचिव नविनलाई यो घट्नाक्रममा जोडेका छन् ।
विवादको अर्को विषय हो खप्तड पर्यटन विकास समिति । त्यहाँ मुख्यमन्त्रीले आफ्नो मान्छेलाई कार्यकारी बनाउन खोजेका थिए । तर, मन्त्री चौधरीले स्वकीयका मान्छे खेमराज जोशीलाई नियुक्त गरिदिए । त्यसपछि मुख्यमन्त्री 'फायर भएको' कुरा धेरैलाई थाहा छ ।
स्वकीय थापा यति शक्तिशाली छन् कि मन्त्रीलाई नै गुमराहमा राखेर निर्णय गराउन सक्छन् । आफूलाई नसोधी निर्णय गरिए रेशम चौधरीलाई भनेर पद फुस्काइदिने धम्की दिने गरेको गुनासो मन्त्रीका मान्छेहरुले गर्ने गरेका छन् । उनले रेशमको नाम लिएर आफ्नो दुनो सोझ्याउन खोजेको हो या साँचै संरक्षण पाएका हुन् भन्ने चै पार्टीका नेताहरुले पनि बुझेका छैनन् ।
उसो त यसअघि राजीनामा गरेका लक्ष्मण किशोर र एक ठेकेदारबीच भएको कुराकानीको अडियो रेकर्ड गरेर मुख्यमन्त्रीकहाँ पुगाएको आरोप पनि थापामाथि छ । लक्ष्मणलाई पद छोड्न बाध्य पार्ने काम उनले नै गरेको ठान्नेहरु नाउपामा धेरै छन् ।
बिचौलियासँग सेटिङ मिलाउन खप्पिस भनिएका थापालाई रेशमले काखी च्यापेको अध्यक्ष रञ्जिता पक्षका एक नेताले दाबी गरे । 'धेरैतिर चाहारेर यता आएका थापाको रेशमसङ्ग कुनै नाता छैन। तर, अहिले मामा भन्ने गरेका छन्', उनी भन्छन्, 'हाम्रो पार्टीबाट जो मन्त्री बने पनि उनै स्वकीय हुनुपर्ने किन ? यति कुराले भित्री खेल बुझिँदैन र !'
सुदूरपश्चिम प्रदेश सभाका पूर्व सभामुख अर्जुनबहादुर थापाका भतिजा नाता पर्ने नविन त्यसबेला गाडी चालक थिए । अर्जुनको सभामुख पद सकिएपछि प्रदेश सभाबाट तलब खानेगरी पाएको ड्राइभरी जागिर गयो । त्यसपछि एमालेतिर लागेका उनी केही समय त्यतै रमाए । गत आम निर्वाचनपछि सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी एकाएक उदाएपछि अवसरको खोजीमा रहेका थापाले एमाले छोडे । त्यसपछि नाउपामा प्रवेश गरेका उनी रेशम मामा साइनो लगाएर केन्द्रीय सदस्य बन्न सफल भए ।
पहिला सभामुखको भतिज भन्दै यताउता मिलाउने गरेका थापाले अहिले भने सोझो थारूलाई फस्ल्याङफुसलुङ पारेर तर मार्ने गरेको दाबी रञ्जिता निकटहरुको छ । अध्यक्ष रञ्जिताले धेरै अगाडि पार्टीबाट निकाले पनि रेशमकै नाम बेचेर यिनले पुरानै चल्तापुर्जा धन्दा चलाइरहेको बताइन्छ ।
टिप्पणीहरू