पर्यावरण र प्राकृतिक संरक्षण सिन्जियाङको मुख्य प्राथमिकता

चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ स्वायत्त क्षेत्रले भौतिक,आर्थिक र सामाजिक विकाससँगै प्राकृतिक वातावरण र पर्यावरण जोगाउनेतर्फ विशेष महत्व दिएको छ । १६ लाख ६० हजारभन्दा बढी वर्गमीटर क्षेत्रफलको यो क्षेत्र मुख्यगरी तीन पहाडी र दुई समथर भूभागमा फैलिएको छ । 

विश्वकै दोस्रो मरुभूमि ताक्लामाकान पनि यही क्षेत्रमा छ । त्यसैगरी भित्री भागको सबैभन्दा लामो नदीको रुपमा तारिमलाई लिइन्छ । चीनको सबैभन्दा होचो भागमा रहेको आइदिङ ताल पनि सिन्जियाङमै छ । हिउँदमा अधिक चिसो,गर्मीमा उखरमाउलो हुने यो क्षेत्रका केही उच्च भागमा असारमा समेत हिउँ देख्न सकिन्छ । मुलुकको कुल हिमनदीमध्ये सिन्जियाङले झण्डै ४३ प्रतिशत ओगटेको पाइन्छ । जैविक विविधता कायम राख्र्दै पर्यावरणीय स्वच्छताको लागि यसले ठूलो भूमिका खेलेको बताइन्छ ।

सिन्जियाङको जमिनमुनी मुलुकको ३० प्रतिशत तेल र ग्यास एवम् कोइला ४० प्रतिशत रहेको अनुमान छ । उच्च प्रविधिको कपास मुलुककै ९१ प्रतिशत सिन्जियाङले उत्पादन गर्दै आएको छ । यो क्षेत्र विभिन्न प्रजातिका फलफूल र खरबुजाको निम्ति ‘राजधानी’ नै कहलिएको छ ।

विभिन्न आठ मुलुकसँग अन्तर्राष्ट्रिय सीमा जोडिएको सिन्जियाङ सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमाना जोडिएको चीनको स्वायत्त क्षेत्र पनि हो । चीनको विशिष्टकृत भूमिले सजिएको स्वायत्त क्षेत्रको ऐतिहासिक पहिचान दिलाउन सिन्जियाङको राजधानी उरुमुछीको शहरी क्षेत्रमा झण्डै ३३ एकड जमिनमा प्राचीन पर्यावरणीय पार्क सञ्चालनमा ल्याइएको छ ।

सयौं वर्ष पुराना रुखका अवशेषदेखि वनस्पति र सिन्जियाङको जीवनसँग जोडिएको घोडाको सम्बन्धलाई जीवन्त रुपमा पार्कमा देखाइएको छ । पार्कभित्र रहेको अखल टेके घोडा प्रदर्शनी केन्द्र धेरैको आकर्षणको केन्द्र बनेको छ । पार्कले उपलब्ध गराएको पर्यावरणीय पर्यटन, सांस्कृतिक पहिचान र त्यसको विकास एवम् लोक अनुभवले चीनको प्राचीन र आधुनिक सिल्क रोड जीवन्त रुपमा झल्केको छ ।

केन्द्र सञ्चालित एमा कर्पोरेसनको प्रचार विभागकी निर्देशक छुमेइका अनुसार दशौं लाख घोडा रहेको सिन्जियाङमा ७० प्रजाति पाइन्छ । निकै राम्रोसँग पालनपोषण गर्नुपर्ने उच्च प्रजातिका घोडाको मूल्य लाखौं युआन पर्ने उनको भनाई छ । उनी भन्छिन्, ‘घोडाको स्याहार सुसारदेखि प्रजननसमेत केन्द्रमा हुने गरेको छ । हालसम्मको अनुभवले हेर्दा जुम्ल्याहा घोडा बिरलै जन्मिन्छ । मुश्किलले एक लाखमा एक पटक हुने त्यस्तो जन्म केन्द्रमा भएको छ ।’

यता, सिन्जियाङको उत्तर पश्चिममा रहेको वेनछुवान काउन्टीको चालेमुटे टाउनसिपमा अवस्थित बोर्ताला रिभर वेटल्याण्ड (सिमसार) पार्क पर्यावरणीय संरक्षणको पछिल्लो नमुना बनेको छ । यहाँ रहेको तातो पानीको मुहान स्थानीय र पर्यटकको निम्ति अर्को आकर्षणको केन्द्र बन्दै गएको छ । 

वरपरका सेता हिमाल र हरियो घाँसे मैदान अवलोकन गर्दै स्थानीय र पर्यटकहरुले प्राकृतिक तातोपानीमा निःशुल्क गोडा डुबाउने सुविधाले सबैलाई आकर्षण गर्न थालेको बताइन्छ । स्थानीय टाउनसिप तथा काउन्टी जनसरकारले आगामी दिनमा थप पर्यटक भित्र्याउन विभिन्न परियोजनासमेत अघि सारेका छन् । स्थानीय सरकारले सिमसार क्षेत्रको संरक्षण, तातोपानी कुण्डको विस्तारका लागि दुई वटा परियोजना तर्जुमा गरिसकेको छ । यसबाट सिन्जियाङमा समुदायको तल्लो तहदेखि नै वातावरण र पर्यावरणीय संरक्षणमा विशेष ध्यान दिइएको सजिलै अनुमान लगाउन सकिन्छ ।

टिप्पणीहरू