कसले गर्यो प्रधानमन्त्रीमाथि षड्यन्त्र ?
नेकपाकालमा पार्टीभित्र अल्पमतमा परेपछि नेताहरूलाई फकाउने क्रममा केपी ओलीले बिहान वामदेव गौतम, दिउँसो माधव नेपाल र बेलुका प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको विषय निकै चर्चामा रह्यो । त्यसबेला नेकपाको ९ सदस्यीय सचिवालयमा विष्णु पौडेल र इश्वर पोखरेलको मात्र साथ प्राप्त ओली प्रष्ट अल्पमतमा हुनुहुन्थ्यो ।
अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब बढाउँदै लगेपछि उहाँले बामदेवलाई बोलाएर ‘मपछि तपाईं नै हो, साथ दिनुस्’ भनेर फकाउनुभयो । लगत्तै माधवलाई भेटेर पूर्व एमालेको नाममा भावनात्मक कुरा गर्नुभएका उहाँले प्रचण्डलाई चाहिँ पूर्व एमालेमा आफूपछिको अर्को नेता नभएको भन्दै लोभ देखाउनुभयो । पद जोगाउन ओलीले एकैदिन तीन जनालाई पालैपालो बोलाएर प्रधानमन्त्री प्रस्ताव गरेको कुरा त्यसको केही दिनपछि प्रचण्डले सार्वजनिक गर्नुभएको थियो ।
यस्ता चलखेललाई अध्यक्षको अद्भूत क्षमता ठान्ने एमालेपंक्ति सगौरव भन्ने गर्छ– आठ पछि नौ बज्छ भनेर त जसले पनि भन्न सक्छ तर उहाँ (ओली) त्योभन्दा फरक हुनुहुन्छ । मुखले एउटा तर व्यवहारमा अर्को गर्ने कार्यशैलीलाई क्षमता मानेर प्रशंसामा रमाउनेहरू भन्छन्– ओली निदाउँदा पनि उहाँको दिमाग सुतेको हुँदैन । यसलाई पुष्टि गर्न नवौं महाधिवेशनयताको घटनाक्रमलाई हेर्नुपर्ने उनीहरू बताउँछन् ।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनबाट ओली चुनावमार्फत अध्यक्ष चुनिनुभयो । माधव नेपाललाई हराएलगत्तै संसदीय दलमा झलनाथसितको प्रतिष्पर्धामा माथि पर्नुभयो । अर्थात् दुवै निर्वाचनमा बहुमत प्राप्त गरेर अध्यक्ष र दलको नेता चयन हुनुभएको हो । ०७४ को आम चुनावपछि एमाले संसद्को पहिलो दल बन्यो । माओवादीसँग गठबन्धन गरेकाले उसैको नेतृत्वमा सरकार बन्ने पक्का थियो । त्यसबेला माधवले दलको नेतामा ओलीको नाम प्रस्ताव गर्नुभयो, किनभने त्यहाँ ओलीको प्रष्ट बहुमत थियो । यो सन्दर्भ किन उठाएको भने बहुमतले अल्पमतलाई शासन गर्ने लोकतान्त्रिक विधिलाई एमालेले आफ्नो आन्तरिक राजनीतिमा पनि यसरी आत्मसात गर्दै आएको छ ।
तर, जब ओली पार्टीको मूल नेतृत्वमा आउनुभयो तब अरूले बहुमत पुर् याउन गरेका प्रयासलाई षड्यन्त्र देख्न थाल्नुभयो । पछिल्लो पटक त्यसको शिकार भए भीम रावल । ‘आफू बहुमतका आधारमा निर्वाचित हुँदा लोकतान्त्रिक प्रक्रिया ठान्ने तर त्यही बहुमत अरु कसैले निर्माण गर्न खोज्यो र आफूलाई चुनौती दियो भने षड्यन्त्र भन्ने गर्नुहुन्छ । त्यो मनस्थितिको प्रभाव जनवर्गीय संगठनहरूमा देखा परिरहेको छ ।’ चुनाव गर्दा अल्पमत–बहुमत हुने र त्यसले पार्टीमा अन्तरविरोध पैदा गर्ने जबजविरोधी भाष्य जबर्जस्ती खडा गरेर माथिबाट तोकेको पात्रलाई टिका लगाउने अभ्यासलाई त्यसैको परिणाम हो भन्छन् एमाले नेताहरू ।
षड्यन्त्रको सिद्धान्तबाट निर्मित यस्तो मनोदशा पार्टी संगठनमा मात्र होइन सत्ता सञ्चालनमा पनि प्रकट भएको पाइन्छ । जन्मजात प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेसको बुई चढेर सत्ताको नेतृत्व गरिरहेको एमालेले देशी–विदेशी शक्तिले सरकारलाई घेराबन्दी गरेको दाबी गर्दै आएको छ । शंकर पोखरेलहरूले सार्वजनिक कार्यक्रमबाटै आफ्ना अध्यक्ष र पार्टीलाई कमजोर बनाउन माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतले षड्यन्त्र रचेको आरोप लगाउने गरेका छन् । तर, दुर्ई दलीय प्रणालीका वकालतकर्ता उनले बहुमत नल्याएको र पहिलो पार्टीको अध्यक्षसमेत नभएको अवस्थामा ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेको वास्तविकतालाई भने लुकाउने गरेका छन् ।
‘हाम्रो एकल बहुमत छैन । उहाँ (ओली) संसद्को सबैभन्दा ठूलो दलको अध्यक्ष पनि होइन । अनि पहिलोचोटि प्रम हुन लागेका चामत्कारिक नेता पनि होइन । तर पनि प्रधानमन्त्री हुनुभएको छ भने घेराबन्दी भयो कसरी भन्ने र ?’ एमालेका एकजना केन्द्रीय सचिवको प्रश्न छ ।
बरु एमालेले पो घेराबन्दी गरिरहेको देखिन्छ । सरकारको नेतृत्व गरिरहेको उसको सत्ताको महत्वपूर्ण अवयव अदालत, संवैधानिक निकाय, कर्मचारी प्रशासनमा जबर्जस्त प्रभाव छ । संसदको दोस्रो ठूलो शक्ति हुँदै हो । अनि काठमाडौँ कब्जा गर्न सडकमा मान्छे पनि उसैले उतारेको छ । प्रधानमन्त्री ओली र शंकरहरूले दिनदिनै विपक्षीलाई गाली गरिरहेको सुनिन्छ ।
अर्कोतिर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले तामझामका साथ शुरु गरेको झोले अभियान प्रारम्भमै ‘सुपरफ्लप’ भएको छ । एक से एक ठूला नेताले आफू व्यक्तिको झोले नभई पार्टीको कार्यकर्ता भएको बताएपछि भारतमा नरेन्द्र मोदीले चलाएको ‘मैं भी चौकीदार’ को कपी गरेर विष्णु रिमाल र अस्गर अलीहरूको सल्लाहमा ओलीले फेसबुकमा फोटो पोष्ट्याउँदै थालेको अभियान अलपत्र परेको हो ।
षड्यन्त्रको सिद्धान्त राम्रैसँग चल्ने एमालेमा पूर्व राष्ट्रपतिको सम्भावित राजनीतिक पुनरागमनलाई लिएर पनि विभिन्न प्रकारका अनुमान र शंका उपशंका भैरहेका छन् । चीन भ्रमणबाट फर्केलगत्तै पूर्वी नेपालको यात्रमा रहेकी विद्या भण्डारीले त्यहाँ पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटलाई बाक्लो बनाएपछि बालुवाटार तरंगित भएको भनिएको छ । तर, ओलीको प्रस्तावमा आएर अध्यक्ष हुने वा इश्वर पोखरेलको ठाउँमा वरिष्ठ उपाध्यक्ष भएर बस्नेबाहेक विकल्प नभएको ठान्नेहरू पनि छन् । ‘केपी ओलीसँग प्रतिष्पर्धा गरेर विद्या एमालेमा आउन सक्नुहुन्न,’ उनै सचिवको विश्लेषण छ ।
माओवादीमा पासाङ प्रचण्डको मुनि बस्न तयार भएर पार्टीमा फर्केजस्तै विद्याले पनि ओलीलाई नै अध्यक्ष मानेर वरिष्ठ उपाध्यक्षमा चित्त बुझाउने भनी बालुवाटार निकटहरूले भित्रभित्रै चर्चा चलाएका छन् । ‘विद्याको व्यक्तित्व बनाउन ५० प्रतिशत मदन भण्डारी र उहाँ आफैंको पनि भूमिका होला बाँकी ५० प्रतिशत चाहिँ ओलीको योगदान छ’, ओलीबाहेक नेतृत्वमा अरुको सम्भावना नदेख्ने अर्का सचिवालय सदस्यले भने, ‘दुर्ई–दुर्ई पटक ओलीको टिमबाट उपाध्यक्ष बनेको र राष्ट्रपति पनि ओलीले नै बनाएकाले चुनाव लड्ने गरी उहाँ पार्टीमा फर्किनु होला भन्ने लाग्दैन ।’
तर, चीन भ्रमणमा जानुअघि बालुवाटारमा ओलीलाई भेटेर विद्याले आफूलाई अध्यक्षमा समर्थन गर्न आग्रह गर्दै अन्यथा मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि तयार रहन घुमाउरो चेतावनी दिएको विषय बाहिर आएको थियो ।
टिप्पणीहरू