सभामुखलाई सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा ?

सभामुखलाई सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा ?

सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नाराबाजीका बीच प्रतिनिधिसभा बैठक चलिरहेका बेला नियमापत्ति गरेका छन् ।

‘हामी रत्नपार्कमा छौं कि शहीदगेटमा ?’ भन्दै उनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको हो-हल्ला र नाराबाजीतर्फ लक्षित गर्दै उनले संसद मर्यादित हुनुपर्नेमा अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए ।  

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेत बोलिरहँदा कुर्सीबाट उठेर नियमापत्ति गर्दै थापाले भने,  ‘हामी सबै सदस्यहरुले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? कस्तो मर्यादाका बिचमा यो बैठक गर्नुपर्ने हो ? हामी रत्नपार्कमा छौ कि शहीदगेटमा ? कलंकी वा पोखराको चिप्लेढुंगामा ? मैले बुझ्न सकिनँ, माननीयहरुका कुर्सी रोइरहेका छन्, यसमा ध्यानाकर्षण गराउन चाहान्छु ।’ 

त्यसपछि सभामुख घिमिरेले ‘ध्यानाकर्षण भएको छ’ भन्दै सांसद बस्नेतलाई आफ्नो भनाइ अघि बढाउन भने । त्यसपछि बस्नेतले बोल्न थाले ।
 

टिप्पणीहरू