चार महिनामै नगरपालिकाको झिंगटी गायब
करोडौंको काम, उद्घाटनको चार महिनामै देखिन थाल्यो भ्वाङ्ग ! प्रसंग हो, भक्तपुरको सूर्यविनायक नगरपालिकाको नवनिर्मित भवनको ।
झण्डै २१ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको नगरपालिकाको अत्याधुनिक र सुविधासम्पन्न प्रशासनिक भवन भत्किन थालेको छ । भवनलाई मौलिक देखाउनका लागि ठूलो खर्च गरेर लगाइएको झिंगटीहरु धमाधम उक्किएर भुइँमा झरेको छ ।
झिंगटी उक्किएको ठाउँमा दुईटा भ्वाङ्ग देखिएको छ । सडकबाट प्रष्टै भ्वाङ्ग देखिन्छ । सो प्वालबाट वर्षातको बेला पानी चुहिन्छ । उद्घाटन गरेको केही महिनामै झिंगटी उक्किन थालेपछि स्थानीयले कमशल निर्माण गरेको भन्दै नगरपालिकामाथि प्रश्न उठाउन थालेका छन् ।
नगरपालिका छेउ बस्ने एक स्थानीय भन्छन्,‘उद्घाटन गरेको तीन–चार महिना भयो होला, भवनको झिंगटी उक्किन थालिसकेको छ । केही समयपछि त भित्ताहरु पनि चर्किन बेर छैन । करोडौं खर्च लगाएर बनाएको भन्छन्, निर्माण हेर्यो भने यस्तो छ बनाउन नपाईकन भत्किने ।’ अन्य स्थानीयले पनि भवनबाट झिंगटी उक्किएको देखेर घोटाला भएको हुनसक्ने आशंका गरेका छन् ।
चार महिनामै झिंगटी गायब
नयाँ भवन बन्नुअघि सूर्यविनायक नगरपालिकाले आफ्नो सेवा भाडाको घरबाट प्रवाह गर्दै आएको थियो । टंकप्रसाद आचार्य प्रतिष्ठानको घर भाडामा लिएर सेवा दिँदै आएकोमा मेयर वासुदेव थापाले २०७६ माघमा आफ्नै प्रशासनिक भवनको शिलान्यास गरे । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी नगरपालिकाले बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गर्यो । तर, बल्लतल्ल पाँच वर्षमा निर्माण सम्पन्न भयो । गत माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो भवनको उद्घाटन गरेका थिए ।
त्यसयता नगरपालिकाले सोही भवनबाट सेवा प्रवाह गर्दै आएको छ । वडा नम्बर ५, कटुञ्जेस्थित निर्मित सो अत्याधुनिक भवनको लागत भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ रहेको छ । जसमध्ये संघीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी नगरपालिकाको आफ्नै स्रोत हो । साढे चार तले भवन ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ । भवनमा ९२ वटा कक्ष छ । त्यसैगरी, सो भवनमा अण्डरग्राउण्ड पार्किङ्ग पनि रहेको छ ।
दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र तालिम कक्ष पनि बनाइएको छ । भवनको सजावट र मौलिकता झल्काउनका लागि नगरपालिकाले परम्परागत शैलीको झिंगटी लगाएको थियो । जुन निस्किन थालिसकेको छ । झिंगटीमा लगाएको लगानी वालुवामा पानी भएको छ ।
रंग निस्किने जोखिम
सो भ्वाङ्गबाट वर्षातमा तपतप पानी चुहिने गरेको छ । जसले गर्दा रंग बिग्रिने जोखिम बढेको छ । तपतप चुहिने पानीले रंग पनि उक्किन्छ । ठूलो खर्च लगाएर गरिएको रंगरोगन पनि धेरै समय टिक्ने देखिँदैन । अबको केही समयपछि नै पुनः रंग लगाउनुपर्ने अवस्था आउने सहजै आकंलन लगाउन सकिन्छ । जसका कारण नगरपालिकालाई अनावश्यक आर्थिक भार थपिनेछ ।
हेरेर मर्मत गर्न लगाउँछौंः नगरपालिका
नगरपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद नेपालले विद्यालय सञ्चालन भइरहेको जग्गामा नगरपालिकाको प्रशासनिक भवन बनाइएको बताए । सो विद्यालयलाई सुशिल भैरवस्थानस्थित कुटञ्जे विद्यालयमा गाँभिएको र सोही जग्गामा नगरपालिका बसेको उनले जानकारी दिए । त्यसैगरी, उनले झिंगटी उक्किएको विषयमा कुनै जानकारी नभएको जनाए ।
‘म यहीँ नगरपालिकामा छु । पूर्वाधार शाखाको प्रमुख वरिष्ठ इञ्जिनियर जनक न्यौपानेलाई तत्काल हेर्न लगाउँछु । केही भएको रहेछ भने ठेकेदार कम्पनीलाई बोलाएर मर्मत गर्न लगाउँछौं’,उनले भने ।
टिप्पणीहरू