कालोमोसो दल्ने हल्ला चलेपछि दिनभर सुरक्षाकर्मीको ताँती
काठमाडौँ महानगरपालिकाको कार्यालय वरपर आज दिनभर सुरक्षाकर्मी खटाइएको छ । महानगरका कर्मचारीमाथि आक्रमण र हातपात हुनसक्ने गुप्त सूचनाका आधारमा कार्यालय समय अवधिभर काडमाडौँ प्लाजा परिसरमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरियो । यद्यपि, कुनै अप्रिय घटना भने भएन ।
बताइएअनुसार बिहान एउटा समूहले उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहितका कर्मचारीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिने योजना बनाइरहेको भन्ने सूचना काठमाडौँ प्रहरी परिसरसमक्ष पुगेको थियो । त्यसलगत्तै परिसरले सम्भावित स्थितिलाई मध्यनजर गरेर सुरक्षाकर्मी खटाएको हो ।
अहिले भने केही सुरक्षाकर्मी मात्र देखिएको प्रवक्ता नवीन मानन्धरले जनआस्थालाई जानकारी दिए । ‘बिहानैदेखि एउटा समूहले महानगरमा आएर हुलदंगा र हातपात गर्न लागेको भन्ने सूचना प्रहरीलाई पुगेको रहेछ’, उनले भने, ‘कार्यालय समयभरी प्रहरी आएर सुरक्षा दियो, दुई चार जना मात्रै हुनुहुन्छ त्यस्तो कुनै घटना भएन ।’
प्रवक्ता मानन्धरका अनुसार उपमेयर डंगोल आज बिहान विराटनगर पुगेकी छन् भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पौने ४ बजेतिर कार्यालयबाट निस्केका थिए । कुन समूहले आक्रमण गर्न लागेको हल्ला चलेको थियो ? भन्ने प्रश्नमा प्रवक्ता मानन्धर भन्छन्, ‘त्यहि त म पनि छक्क छु, महानगरको लफडामा घुसेर फाइदा लिन खोज्ने तेस्रो समूह हो जस्तो लाग्यो ।’
मेयर बालेन साह आज कार्यालय नआएको उनले बताए । ‘आज आउनुभएन, एक दुई दिन भो, देखेको छैन, देखे पनि संवाद हुँदैन’, उनले थपे ।
पछिल्लो समय मेयर बालेन र जनप्रतिनिधि तथा कर्मचारीहरुबीचको तिक्तता बढ्दै गएपछि महानगरको धेरै कामहरुमा अवरोध सिर्जना भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मेयर बालेनका विश्वास पात्र मानिने नगर प्रहरी प्रमुख राजु पाण्डेलाई छ महिनाको लागि निलम्बन गरेपछि आक्रोशित बनेका बालेन समर्थहरुले आक्रमणको योजना बनाएको कर्मचारीको बुझाई छ ।
टिप्पणीहरू