गभर्नर घुमघाम,डेपुटी ठण्डाराम

गभर्नर घुमघाम,डेपुटी ठण्डाराम

राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल कर्णाली,लुम्बिनी र सुदूर पश्चिम प्रदेशको भ्रमणमा निस्केका छन् । उनी काठमाडौंबाट पोखरासम्म हवाईमार्ग र त्यहाँबाट बागलुङको बुर्तिबाङ हुँदै मध्यपहाडी राजमार्गको यात्रामा निस्केका हुन् । 

गभर्नरको साथमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावल पनि रहेको बताइएको छ । गभर्नर टोलीको यात्रा धेरैको भएको एक जना कार्यकारीले बताए । उनले भने, ‘मध्यपहाडी मार्ग भएर पश्चिमको यात्रामा निस्कनुको कारणबारे थाहा भएन ।’

गत चैतदेखि जेठ पहिलो सातासम्म गभर्नरको दौडमा रहँदा कायम मुकायम गभर्नरको हैसियतमा निकै व्यस्त निलम ढुंगाना तिम्सिना यतिखेर आफ्नै कार्यकक्षमा सीमित भएकी छन् । गभर्नर पौडेलले पदीय जिम्मेवारी वहन गरेको दुई सातामा दुई जना कार्यकारीको बढुवा भएको छ । चार जनाको सरुवा गरिएको छ ।

तर, बैंकको आन्तरिक प्रशासनबारे कुनै जानकारी नभएका गभर्नरले विभिन्न स्रोतबाट लिएको जानकारीका आधारमा निर्णय गरेपछि बैंकको आन्तरिक प्रशासनबारे जानकार रहेका डेपुटीहरु फुर्सदिला देखिएको स्रोतको दाबी छ । ‘गभर्नरले उहाँहरुसँग खासै सोधनी गरेको देखिएन,’ एक जना कार्यकारी निर्देशकले भने ।

यता, गभर्नर पौडेलको कामकारबाहीबारे पनि कर्मचारीहरुले कुरा काट्न थालेका छन् । विभागीय बिफ्रिङ र बधाई ज्ञापन गर्न आउनेलाई भेट्ने क्रममा गभर्नरले टाइम र आफ्नो ओहोदाको परम्परागत प्रोटोकलको ख्याल नगरेको उनीहरुको आरोप छ । उनै कार्यकारीले भने, ‘कुनै विभागीय प्रमुखसँग आधा घण्टा, कसैलाई अढाई घण्टा भेटेको देखिन्छ । कुन समयमा बोलाउने भन्ने सचिवालयको पनि ठेगान छैन । माछा बजार जस्तो पो देखिन्छ ।’ उनका अनुसार भेट गर्न आउनेसँग कुन हैसियतमा, कुन कोठामा,  कुरा गरेको भन्ने असरल्ल फोटोहरु सामाजिक सञ्जालमा व्यापक भएका छन् ।

विभागीय प्रमुखहरुसँगको ब्रिफिङमा डेपुटी गभर्नरहरुसमेत नराखेपछि धेरैले अचम्म मानेका हुन् ।

 

टिप्पणीहरू