जातीय विभेदविरुद्धको दिवसः यसरी जन्मियो दलितको आवाज दिने यो गीत

जातीय विभेदविरुद्धको दिवसः यसरी जन्मियो दलितको आवाज दिने यो गीत

आज तपाईले कसैलाई फोन गर्नुभएको छ वा गर्नुभयो भने मोबाइलमा एउटा गीतको रिङटोन सुन्न सकिन्छ-

‘मान्छे मान्छे एउटै हो नि, फरक किन भो,
श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो ।’

नेपाल टेलिकमले आज जातीय विभेदविरुद्धको दिवसको अवसरमा यस्तो रिङटोन बज्ने व्यवस्था गरेको हो । यसबाहेक जातीय छुवाछुतविरूद्धका विभिन्न सभा समारोहमा समेत यो गीत बजेको सुनिन्छ । दलितको मुद्दालाई सिर्जनात्मक रुपमा प्रस्तुत गर्न पनि यो गीत रोज्नेहरू धेरै छन् । 

यस्तो जीवन्त र शक्तिशाली गीत आखिर कसरी सिर्जना भयो होला ? त्यो थाहा पाउन ०५८ सालमा पुग्नुपर्ने हुन्छ । 

तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध पश्चिम नेपालका जिल्ला रोल्पा र रुकुममा उत्कर्षमा  पुगेको थियो । दलित र पिछडिएका वर्ग धमाधम युद्धमा सहभागी भइहेको थिए । त्यसरी युद्धमा होमिएका कतिपयले बन्दुक समाते भने कतिपयले सिर्जनात्मक बाटो रोजे । त्यही सिर्जनात्मक बाटो रोज्नेहरुको समूह थियाे, प्रतिरोध सांस्कृतिक परिवार ।

 

उक्त सांस्कृतिक परिवारले विभिन्न ठाउँ पुगेर त्यहाँका स्थानीयले बुझ्ने सरल भाषामा गीत, नृत्य, कविता प्रस्तुत गर्थ्यो । सोही बेला कर्णबहादुर पुन पुनित (शहीद)ले लेखेका हुन्, ‘मान्छे मान्छे एउटै भो’ । उनलाई नजिकबाट चिन्ने एक जनवादी गायिका भन्छिन्, ‘पुनितले त्यतिबेला सामाजिक संरचनालाई सुधार गर्न निकै बलिया र प्रेरणात्मक कविता र गीत लेख्थे । प्रतिरोध परिवारले उनको गीतलाई समुदायमा पुर्याएको हो ।’ 

त्यसो त, रुकुमको बाँफिकोट घर भएका पुनितले औपचारिक शिक्षा हाँसिल गर्न पाएनन् । ती गायिका भन्छिन्, ‘निम्न माध्यामिक तह पढ्दा पढ्दै उहाँ युद्धमा होमिनुभयो । उहाँको औपचारिक शिक्षा धेरै नभए पनि स्वअध्ययन गर्ने निकै राम्रो बानी थियो । सायद त्यसैले पनि होला, उहाँका सिर्जनाहरु आज पनि नयाँ र जीवन्त लाग्छन् ।’ 

पुनितको शब्दलाई पहिलोपल्ट प्रतिरोध परिवाका कलाकार प्रेमकुमारी सुनार र बलवान नेपालीले स्वर दिएका थिए भने खुशीराम पाख्रिनले संगीत भरेका थिए । तर, पछि ०६३ मा चलचित्र ‘आवाज’ निर्माण टिमले गीत मागेपछि दिपक लिम्बुको स्वरमा आधुनिक ढंगबाट रेकर्ड गरिएको थियो । 

स्मरण रहोस्, गीतका रचनाकार पुनितको युद्धको क्रममै तत्कालीन शाही सेनाद्वारा हत्या भएको थियो । हत्या भएको ठाउँ आठवीस डाँडागाउँलाई आज पनि ऐतिहासिक स्थाल  मानिन्छ ।

टिप्पणीहरू