नारायणहिटीको दीप प्रज्वलन अन्यत्रै सारियो, पूर्वराजा सहभागी नहुने

नारायणहिटीको दीप प्रज्वलन अन्यत्रै सारियो, पूर्वराजा सहभागी नहुने

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नारायणहिटी दरबार संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्वलनसहितको पूजापाठ स्थानान्तरण गरिएको छ ।

दरबार हत्याकाण्डमा दिवंगत तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका अन्य सदस्यहरुको सम्झनामा सपरिवार नारायणहिटी परिसरमा रहेको मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम थियो । तर, राजावादी आन्दोलनलाई मध्यनजर गर्दै सरकारले सो क्षेत्रमा निषेधाज्ञा लगाएपछि पूर्व राजपरिवारले कमलादीस्थित गणेश मन्दिरमा पूजापाठ गर्ने निधो गरिएको छ ।

कार्यक्रमअनुसार भोलि साँझ ६ बजे गणेश मन्दिरमा पूजा गरिनेछ । पूर्व युवराज पारस, उनकी पत्नी तथा पूर्व युवराज्ञी हिमानी, छोरा हृदयेन्द्रसहित शाही परिवारका अन्य सदस्यहरु पूजामा सहभागी हुनेछन् । ‘राजा फर्काउने जनआन्दोलनका सल्लाहकार’ जगमान गुरुङले त्यसको सबै समन्वय र सहजीकरण गर्ने बताइएको छ । 

पूर्व राजा ज्ञानेन्द्र र पत्नी कोमल भने सहभागी नहुने बुझिएको छ । केही दिनअघि झापा जानुभएका उहाँहरु उतै हुनुहुन्छ । 

दीप प्रज्ववलनजस्तो शान्तिपूर्ण कार्यक्रमलाई निषेधाज्ञाले असर नगर्ने आकलन सुरुमा गरिएको थियो । तर, प्रहरी–प्रशासनले अवरोध गर्नसक्ने संकेत मिलेपछि स्थान परिवर्तन गरिएको हिमानी ट्रष्ट स्रोतले बतायो ।

टिप्पणीहरू