अनिश्चितकालीन सार्वजनिक यातायात ठप्पमा सघाउन आह्वान

अनिश्चितकालीन सार्वजनिक यातायात ठप्पमा सघाउन आह्वान

नमस्ते पासाङ्गल्हामु यातायात प्रालिले गाडी ग्यारेजमा थन्काएर भोलिदेखि शुरु हुने यातायात व्यवसायीको आन्दोलनलाई सघाउन आह्वान गरेको छ । नुवाकोटको विदूर नगरपालिका–१, त्रिशुलीस्थित प्रालिले ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति, २०८२’ को घोषणाअनुसार भोलिदेखि अनिश्चितकालका लागि सार्वजनिक यातायात ठप्प पारेर सहयोग गर्न भनेको हो ।  

प्रालिका अध्यक्ष रामहरि श्रेष्ठले आफ्नो संस्थाअन्तर्गतको गाडी घर वा ग्यारेजमा थन्काउन आग्रह गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ,‘यातायात व्यवसायीहरुको हकहितको लागि महासंघहरु तथा मजदूर, संघ–संगठनहरुबाट देशभरिको सार्वजनिक सवारी साधनहरु मिति २०८२ साल जेठ १९ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने घोषणा भएको हुँदा यस संस्थाबाट सञ्चालनहुने सम्पूर्ण सवारी साधनहरु आ–आफ्नो घर ग्यारेजमा राखी आन्दोलनलाई सहयोग पुर्याइदिनुहुन यो सूचनाद्वारा सूचित गरिन्छ ।’

गण्डकी प्रदेश सरकारले गत वैशाख ३१ गते ‘राइड सेयरिङ’लाई भाडाका सवारी साधनको रुपमा प्रयोग गर्ने भनि ‘गण्डकी प्रदेश राइड सेयरिङ नियमावली, २०८२’ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको थियो । सो रोक्न माग गर्दै यातायात व्यवसायीले संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

तर, माग सुनुवाई नभएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । गण्डकीबाट आन्दोलन शुरु गरेका यातायात व्यवसायीले भोलिदेखि देशभर यातायात ठप्प पार्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू