ओलीको शायद पहिलो आत्मस्वीकारोक्ति
हत्तपत्त कमजोरी स्वीकार नगर्ने र आफ्नो अडान नछोड्ने नेताको रूपमा नेपाली राजनीतिमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको छुट्टै पहिचान छ । तथ्य र प्रमाणले भन्दा तर्क–वितर्कले आफ्ना कुरा माथि पार्ने सिप भएका उहाँले आत्मसमीक्षा गरेको खासै सुनिँदैन । कम्युनिष्ट पार्टीहरूले जीवन पद्धति मानेको आलोचना–आत्मालोचनाको प्रक्रियाप्रति त झन उहाँमा थोरै पनि विश्वास नरहेको पछिल्ला केही भाषणबाट प्रष्ट भैसकेको छ । यस्तो स्वभाव र शैलीका ओलीले हालै पार्टीको एउटा बैठकमा घुमाएर आत्मालोचना गरेपछि कार्यकर्ताहरू अचम्ममा परेका छन् ।
वैशाख ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाइएको थियो । अधिवेशन सम्पन्न भएका १० वटा जनसंगठन इञ्चार्ज र पदाधिकारीलाई अनिवार्य गरिएको बैठकमा करिब सय जना उपस्थित थिए । अखिल, युवासंघ, बुद्धिजीवी, कानुन व्यवसायी र मुक्ति समाजलगायत अधिवेशन नगरेका संगठनका अध्यक्ष र इञ्चार्जलाई भने ऐच्छिक निम्तो थियो । राति साढे ८ बजेका लागि बोलाइएको बैठक सधैँजस्तो अध्यक्ष ओलीका कारण एक घण्टा ढिलो शुरु भयो ।
अध्यक्षले भाषण गर्ने, अरुले बेलाबेला ताली पिट्ने शैलीको बैठकको औपचारिक शुरुआत गर्दै जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कुरा राखे । त्यसपछि करिब एक घण्टा लामो भाषण गर्ने क्रममा ओलीले अहिलेकै अवस्थामा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नसकिने निचोड सुनाउँदै सच्चिएर जानुपर्नेमा जोड दिनुभयो । गत आम चुनावलगत्तै ‘मिशन–८४’ भन्दै आएका उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाएर देशको नेतृत्व आफूले गर्ने बताउँदै आउनुभएको छ ।
सिधै ‘म आत्मालोचित हुन्छु’ नभने पनि अध्यक्ष ‘घुमाएर कान समात्न’ तयार भएको बैठकमा सामेल एक जना जनसंगठनका अध्यक्षले जनआस्थालाई सुनाए । अध्यक्षको भनाइ उद्धृत गर्दै भने– ‘यस्तो तालले ०८४ सफल हुँदैन । हामी सबै सक्रियतापूर्वक लाग्नुपर्यो, जनताको बीचमा जानुपर्यो ।’ प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चालेकोमा होस् या छँदा खाँदाको कम्युनिष्ट पार्टी फुटेर तीनटुक्रा हुँदा नै किन नहोस्, आत्मस्वीकारोक्ति नगरेका ओली ‘जनतासँगको सम्बन्ध कट्यो’ भन्ने ‘रियलाइजेसन’ मा पुग्नुले एमालेको आगामी राजनीतिक यात्रा कठिन रहेको अड्कल नेताहरूले लगाएका छन् ।
आलोचकहरू भन्ने गर्छन्– केपी ओलीको नजरमा संसारमा दुई खालका मान्छे हुन्छन्– शत्रु या चाकर । भीम रावल एमालेबाट निकालिएको सन्दर्भमा पछिल्लो पटक घनश्याम भुसालले यो भनाइ दोहोर्याएका थिए । फरक सन्दर्भमा फरक अर्थ लगाइए पनि यसलाई सारतः आत्मकेन्द्रित व्यक्तिवादमाथिको आलोचनात्मक टिप्पणीका रूपमा लिन सकिन्छ । व्यक्तिवादले संघर्ष, रूपान्तरण र एकताको माक्र्सवादी दृष्टिकोणलाई निषेध गर्छ, जुन कुरा एमाले अध्यक्षका सार्वजनिक मन्तव्यहरूमा पनि प्रकट हुने गर्छ । केही दिनअघि एउटा कार्यक्रममा उहाँले ‘पार्टीमा आलोचना–आत्मालोचना हैन एकतामात्र हुने’ धारणा राख्नुभएको थियो ।
एमालेलाई कुनै समय समकालीन राजनीतिक पार्टीहरूमै सबैभन्दा बढी अनुशासित र धेरै संगठित सदस्य भएको पार्टीका रूपमा चिनिन्थ्यो । पार्टी फुटको आलो घाउ बोकेर प्रतिष्पर्धामा उत्रिएको उसले ०७९ को चुनावमा पहिलो लोकप्रिय मत पाएको त्यही सांगठानिक जगमा हो । तर, गत वर्ष असारमा आफूसमेत सम्मिलित वामपन्थी सरकार ढालेर नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष सत्तासिन भएयता एमालेको लोकप्रियता निरन्तर ओरालो लागेको देखिन्छ । सामाजिक सञ्जालमा व्यक्त मत र प्रधानमन्त्री सहभागी कार्यक्रममा लाग्ने गरेका नाराले चिन्तित एमालेजन यसबीच अध्यक्षले त्यस्तो निश्कर्ष दिएपछि फिल्डबाट राम्रो रिपोर्ट आइरहेको छैन भन्नेमा झन् ढुक्क भएका छन् ।
तर पनि कांग्रेस र एमालेको विकल्प अझै तयार भइनसकेकाले डराईहाल्न नपर्ने विश्लेषण बालुवाटारको छ । नेता भन्छन्– आगामी निर्वाचनमा रवि लामिछानेहरूको अवस्था ०७९ मा जस्तो हुनेवाला छैन । सत्ता बहिर्गमनपछि देशदौडाहामा रहेका प्रचण्डले जतिसुकै मेहनत गरे पनि माओवादीले त्यस्तो उत्पात गरिहाल्ने देखिँदैन । तीनकुने काण्डले थलिएको राप्रपा विकल्पका रूपमा आउने सम्भावना एमाले नेताले देखेका छैनन् । तथापि यही तालले मिशन– ०८४ सफल हुँदैन भन्नुलाई अध्यक्षले सचेत गराएको अर्थमा बुझ्नुपर्ने तर्क उनीहरूको छ ।
बालुवाटार निकट एक नेता यसरी विश्लेषण गर्छन्– अहिले प्रमुख राजनीतिक पार्टीहरू अलोकप्रिय छन् भन्ने पक्का कुरा हो । आजको दिनमा कांग्रेस–एमालेसँग जनता वाक्कदिक्क भएको पनि सही हो । तर, चुनावमा कसलाई भोट दिने ? भन्ने जवाफ कसैसँग छैन । किनभने सहकारी काण्डमा डामिएका रविको क्रेज जमिनमा पुगेको छ । बालेन र हर्कहरूको पनि लोकप्रियता पहिलेजस्तो छैन ।
टिप्पणीहरू