कांग्रेस बैठकका भित्री कुरा

कांग्रेस बैठकका भित्री कुरा

शंकर भण्डारीदेखि सरिता प्रसाईंसम्मको आक्रोश देउवाले ध्यान दिएर सुने तर निर्णय सुनाउँदा सद्भावको एउटै शब्द पोखेनन् । अनि अन्तिममा भनिदिए–राजनीतिमा यस्तै हुन्छ । हामीलाई पनि भयो । जेल बसेर आयौं । थुनाका अनेक हण्डर पनि खायौं । यसलाई ठूलो रूपमा लिनुहुन्न ।’ प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो अनेक फुँदा गाँसेर नबोल्ने तर क्लियरकट बोल्ने स्वभावका देउवाको झटारो बालकृष्ण खाँण, माया राई र भर्खरै मुद्दा खेपेका मोहन बस्नेततिर थियो । 

भ्रष्टाचारको मुद्दा लागेपछि ‘इफ बट’ केही नभनी न्यायिक निरूपणको लागि तयार होऊ भन्ने सन्देश सबैलाई मिलेको संसदीय दलको बैठकमा उपस्थित नेताको टिप्पणी छ । ‘सभापतिले बोलेपछि सक्कियो । उहाँले चाहेको भए टेरामक्स (टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिष्टम)को मुद्दा पछाडि पनि धकेलिन सक्थ्यो । बैठकमा किन ओलीको पछाडि लाग्या भनेर धेरैले कुरा उठाए,’ कांग्रेसका एक सांसदको भनाइ छ, ‘मुद्दामा डामिएकाले चुपचाप सामना गर्ने हो, गुनासो पोख्ने होइन भनेर बुझ्न अब गाह्रो छैन ।’

हिन्दु राष्ट्र नेपाल फर्काउने अभियानमा खुमबहादुर खड्काको चेला भएकै कारण अर्का चेला मोहनबहादुरलाई किन मुद्दा लगाएको भन्न शंकर भण्डारीले भन्न भ्याए । हिन्दु राष्ट्रकै लागि नरम भएकी सरिता प्रसाईंले पनि उनलाई साथ दिइन् । 

सबै काम ओलीको इशारामा गर्ने, हाम्रालाई मात्रै डाम्ने भन्दै मोहन बस्नेत पक्षधर सांसद उग्र बन्न खोजे । बस्नेतले टेरामक्सको खरिद प्रक्रिया मात्रै थालेका  तर सञ्चारमन्त्री हुँदा कुनै समय ओलीका विश्वासपात्र गोकुल बाँस्कोटा र देउवाका प्रिय पात्र ज्ञानेन्द्रबहादुर कार्कीले प्रक्रिया अगाडि बढाएको बताइन्छ । यी दुवै भाइ अख्तियारको बयानमा तानिए । तर, अस्वाभाविक रूपमा बचे पनि चौतर्फी प्रश्नको घेरामै छन् । बस्नेतले जति फटाहा कम्युनिष्ट भने पनि कसरी उन्मुक्ति पाउनु ? वैशाख २३ गते नै उनलाई यी सबैको स्क्रिप्ट लेखिइसकिएको छ भन्ने छनक थियो । 

‘चौतर्फी हप्की र दप्की खानुपरेको छ । यता उता सबैतिर छिरेर कहाँ कसलाई सुइँक्याउने भन्दै पार्टीभित्र र बाहिरका लागेका छन् । कसलाई मुद्दा लगाउने र कसलाई नलगाउने हिसाब निकालिँदै छ,’ बस्नेतले आफूले पनि गुन्टा कसिसकेको भन्दै थपेका थिए, ‘यहाँ म पनि अछुतो रहन्न । कहिले पालो आउँछ, भन्ने मात्रै हो । तपाईंहरू कोही अछुतो रहनुहुन्न । सबैको पालो आउँछ, गुन्टा कसेरै बस्नुस् ।’

नभन्दै यस्तो आकलन गरेको एक हप्तालगत्तै बस्नेतमाथि आफूखुशी निर्णय गरेको, स्रोत पक्का नगरी, अध्ययन विना नै कमिसनको चक्करमा निर्णय गरेकोले टेरामक्स खरिदमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार बिगो दाबी गर्दै मुद्दा पर्‍यो । 

माया राई पनि के कम, संसदीय दलको बैठकमै ज्ञानेन्द्रबहादुर कार्कीमाथि जाइलागिन् । सुत्केरी हुँदा पनि देउवालाई भोट हाल्न आएको भनेर सान्त्वनाका शब्द पर्खिन् तर पाइनन् । अनि देउवाका विश्वासपात्र सदावहार शान्त बोल्ने ज्ञानेन्द्रमाथि झम्टिने शैलीमा प्रस्तुत भइन् । पूर्वतिर घर भएका अर्का सांसदले विद्यार्थी कालदेखि नै ज्ञानेन्द्रले मायालाई पेल्ने गरेको बताए । 

‘नबोल्ने, शान्त बस्ने भनेर के गर्नु, भोजपुरको एउटै जिल्लाका भए पनि विद्यार्थीकालदेखि नै ज्ञानेन्द्र दाइले मायालाई पेल्न छोड्नुभएको थिएन । राजनीतिमा उठ्दैन नदिने गरी पेल्नुभएको थियो । उहाँकै पालमा टेरामक्सको प्रक्रिया अगाडि बढेको कसलाई थाहा छैन ? तर मुद्दा जाँदा के भयो ?’ ओलीले किस्तीमा हालेर प्रधानमन्त्री पद टक्र्याउँछु भन्दा सभापतिले चुपचाप सबैथोक मानेकोमा पनि सांसदहरूले निन्दा गरे । 

‘किस्तीमा १४ महिनापछि प्रधानमन्त्री टक्र्याउँछु भन्नु इमान्दारी होइन व्यंग्य हो । अर्कोतिर एमालेले बहुमत ल्याएपछि मात्रै काम गर्न सकिन्छ भनेर किन भनिँदै छ ? हाम्रो सभापति पहिलेजस्तै फेरि आफ्नो नेतालाई डाम्ने काम हुँदा पनि ओलीलाई विश्वास गरिरहनुभएको छ,’ ती सांसद भन्छन्, ‘हिजो प्रचण्डले एक वर्ष बढी खेलाए, ओलीले एक वर्षदेखि खेलाइरहेका छन् । ओलीले गोकुललाई च्याप्ने, हाम्रो सभापतिले ज्ञानेन्द्रलाई च्याप्ने अरुलाई हान्ने नीति लिएको प्रष्टै देखिन्छ । मान्छेले खुलेर भन्दैनन् तर आफ्नालाई मुद्दा लगाउन तयार हुनुले यही सन्देश दिन्छ ।’
 

टिप्पणीहरू