तीन छोरीको नाम लिँदै यसो भन्थे लेखक

तीन छोरीको नाम लिँदै यसो भन्थे लेखक

संविधान बनाउन सक्रियतापूर्वक लागेका, कानुनमन्त्री भैसकेका र कांग्रेसबाट संस्थापन धारको अगुवाइ गर्ने गृहमन्त्री रमेश लेखक कसरी भिजिट भिसाजस्तो लफडामा परे ? उनलाई नजिकबाट चिन्नेहरू यसको गहिराई बुझ्न कांग्रेसको १४ औँ महाधिवेशन र त्यसयताको घटनाक्रमलार्ई विश्लेषण गरेर हेर्नुपर्ने बताउँछन् ।

२०७८ मंसिरको महाधिवेशनमा लेखक देउवा समूहबाट महामन्त्रीको आकांक्षी थिए । तर, देउवाले डा. प्रकाशशरण महतलाई अघि सारे । त्यतिमात्र होइन पदाधिकारी टिममासमेत नपारेपछि ‘निराश’ भएका उनी त्यतिबेला पार्टी छोड्ने तहमा असन्तुष्ट थिए ।

विभिन्न सन्दर्भमा निकटहरूसँग भन्थे, ‘अब चुनावमा पनि टिकट दिंदैनन्, राजनीति छोड्छु होला !’ तीन छोरीका बाबु उनले बैराग्य पोख्दै भनेका थिए, ‘एउटी छोरी अमेरिका, अर्को अष्ट्रेलिया र कान्छी नेपालमा छन् । चार–चार महिना छोरीहरूसँग बस्छु ।’

तर, महाधिवेशनको ठ्याक्कै एक वर्षपछि २०७९ मंसिरको संसदीय चुनावमा टिकट पाएका उनी कञ्चनपुर–३ बाट माओवादीसमेतको भोटले निर्वाचित भए । पार्टीको पदाधिकारीमा आशा गरेका उनी चुनाव जितेर आएपछि स्वभाविकरूपमा मन्त्रीको दावेदार थिए । तर, प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुँदा लेखक मन्त्री बनेनन् ।

संसदीय दलको सचेतकमा थन्क्याईएका उनलाई घोच्ने गरी एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइयो । यौटै जिल्ला कञ्चनपुरका यी दुई देउवा गुटको भए पनि लामो समयदेखि ‘पानी बाराबार’को स्थिति छ । त्यसताका लेखक भन्ने गर्थे, ‘प्रमुख सचेतक हुँदासम्म धान्दिनुपर्ला । त्यसपछि पार्टीमा रहन्न ।’

एमाले वृत्तमा कहिलेकाहीँ चर्चा हुने गर्छ, माओवादीसँग लेखक भाँडिएर पनि हो कांग्रेससँग हाम्रो गठबन्धन भएको । प्रचण्डले कांग्रेस र एमालेलाई पालैपालो धोका दिएको भन्दै उनले संसदको रोष्ट्रमबाटै ‘धोका खानेहरू एक ठाउँमा आए तपाईंको हालत के होला ?’ भनी घुमाउरो चेतावनी दिएका थिए ।

नभन्दै त्यसको केही महिनापछि गत वर्ष असार १७ गते मध्यराति कांग्रेस र एमालेबीच सात बुँदे सहमति हुँदा देउवाको साक्षीका रूपमा लेखक नै अगाडि देखिए । यसरी झण्डै राजनीतिबाट बिदा हुने मनस्थितिमा पुगेका उनी अन्ततः शक्तिशाली गृहमन्त्री बने । 

लेखक देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउँदा त्यतै लागेका थिए । त्यसबेला वार्ता टोलीको सदस्य पनि थिए । मन्त्रीका रूपमा भने उनको सिंहदरबार प्रवेश श्रम राज्यमन्त्रीबाट भएको हो । पछि क्याबिनेट मन्त्री हुने अवसर आउँदा शुभेच्छुक, शुभचिन्तकहरूले कानुनमन्त्री हुन सल्लाह दिएका थिए । तर, विकासे मन्त्रालय रोजेका उनी भौतिक योजना मन्त्री बने ।

त्यसताका सहकर्मीहरूलाई भनेका थिए, ‘कानुन मन्त्री बनेर के गर्ने, मेरो क्षेत्रमा धेरै विकास गर्नु छ, बजेट चाहिन्छ ।’ मन्त्री बनेपछि उनले आफ्नो पहलमा ८–१० अर्ब रकम कञ्चनपुर लगेको जानकारहरू बताउँछन् । 

पछिल्लो पटक आरजुलाई परराष्ट्र र लेखकलाई कानुनमन्त्री बनाएर टिआरसी हल गर्ने योजना कांग्रेसले बनाएको थियो । तर, उतिबेलैदेखि ‘मालदार मन्त्रालय’ रोज्ने आदत परेका उनले गृहतिर रुचि राखे । खासमा नीतिगत बहसमा रमाउने उनको स्वभाव र कार्यशैलीले गृह मन्त्रालयको नेतृत्व गर्न सक्दैनथ्यो । जुन कुरा तीनकुने घटनाबाट पुष्टि भैसकेको छ । 

‘जब पार्टीमा पदाधिकारीको हैसियत दिएनन्, त्यसपछि पैसा नभई नहुने रहेछ भन्ने परेपछि उहाँ गृहमन्त्री बन्नेतिर लाग्नुभयो’, लेखक निकटहरू भन्छन्, ‘अहिलेसम्म त देउवाले च्यापेर ल्याइरहेका थिए, अब देउवा हुँदैन । आफ्नो बलमा जानुपर्छ, त्यसका लागि पैसा खर्च गर्नुपर्छ भन्ने भएपछि भटाभट कमाउनतिर लागे ।’

लेखक बाहिर जति शालीन देखिन्छन्, आफ्नो राजनीतिक हितका लागि भित्र उत्तिकै कठोर पनि छन् । पहिलो संविधानसभा विघटनका बेला उनले लिएको अडान त्यसको एउटा दृष्टान्त हो । सर्वोच्च अदालतको आदेशले १४ जेठ २०६९ मा संविधान सभाको म्याद सकिँदै थियो । दलहरू संविधान जारी गर्न सहमत भए पनि कतिपय विषय टुंगो लागिसकेको थिएन ।

प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेको दोस्रो तहका नेताहरू सहमतिको प्रयासमा थिए । संसद सचिवालयका महासचिवको कोठामा भित्रपट्टी संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गसहितका नेताहरूको छलफल चलिरहेको थियो । र, मध्यरातिसम्म लगाएर भए पनि संविधान जारी गर्ने भनी नेम्वाङ्गले सञ्चारमाध्यमलार्ई समेत बोलाएका थिए । तर, कांग्रेसको प्रतिनिधित्व गर्दै बैठकमा पुगका लेखक त्यसमा सहमत भएनन् । 

‘सहमति जुटाउनु त कता हो कता भएका सहमति पनि उल्ट्याउने हिसाबले प्रस्तुत भए’, त्यसबेलाको घटना स्मरण गर्दै एमालेका एक नेता भन्छन्, ‘प्रधानमन्त्री बाबुराम भट्टराई संविधानसभामा जाने र बैठक नियमित लगेर साइड बाइ साइड नेगोसियसन गरी टुंग्याउने योजना थियो । तर, बैठकमा लेखक छिरेपछि यो पनि मिलेन, त्यो पनि मिलेन भनेर सबै उल्ट्याइदिए । त्यसपछि नै संविधानसभा विघटन भएको हो ।’

संविधान नबनाई जननिर्वाचित संविधानसभा भंग हुनु सामान्य घटना थिएन । प्रधानमन्त्रीको रूपमा त्यसको कलंकको टीका आजपर्यन्त बाबुरामले बोकिरहेका छन्् । तर, संविधान सभा तुहिनुको एउटा कारक रमेश लेखक पनि हुन् भन्ने धेरैलाई थाहा छैन । 
 

टिप्पणीहरू