मोदीपछि भाजपा अध्यक्ष नेपाली माटोमा

मोदीपछि भाजपा अध्यक्ष नेपाली माटोमा

अतिक्रमित नेपाली भूमि गुञ्जीमा भारतीय सेनाको सुरक्षा घेराभित्र उच्च तहका नेताहरूले भ्रमण गर्दै आएका छन् । डेढ वर्षअघि नरेन्द्र मोदीले अतिक्रमित भूमिमा पर्ने उक्त गाउँको भ्रमण गरेका थिए भने यसपटक भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पुगेका छन् । 

मोदी सरकारमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसमेत रहेका नड्डा आइतवार गुञ्जी क्षेत्रमा देखा परेका हुन् । उत्तराखण्ड राज्य सरकारको व्यवस्थापनमा नड्डाले गुञ्जी, आदि कैलाश र धारचुला क्षेत्र भ्रमण गरेको बुझिएको छ । 

नड्डाले लिम्पियाधुरा नजिकको तर महाकाली पश्चिमतर्फ अवस्थित आदि कैलाश हिमालयको समेत दर्शन गरेका छन् । चीनको तिब्बतमा पर्ने कैलाश हिमालको आकृतिसंग मिल्दोजुल्दो हिमालय भएकाले यसलाई आदि कैलाश नामांकरण गरिएको छ । 

आदि कैलाशको फेद जोलिङकाङमा पार्वती सरोवर छ । तिब्बतमा अवस्थित मानसरोवरसंग यसको तुलना गरिन्छ । कैलाश–मानसरोवर दर्शन गर्न चीन सरकारको अनुमति र भिसा आवश्यक पर्ने भएकाले हिन्दु तीर्थयात्रीलाई आदि कैलाश र पार्वती सरोवरमा यात्रा गर्न भारत सरकारले प्रेरित गरिरहेको छ । 

मोदी गएपछि गतवर्ष मात्रै आदि कैलाश क्षेत्रमा ३० हजार भारतीय पर्यटक पुगेका थिए । यो वर्ष एक लाख पर्यटक पु¥याउने योजना उत्तराखण्ड सरकारको छ । 

त्यहाँ पुगेर हालै पाकिस्तानी सीमाक्षेत्रमा सञ्चालित ‘अपरेशन सिन्दूरको सफलतामा नड्डाले भारतीय सुरक्षाकर्मीसंग खुशीयाली साटासाट गरेको’ भारतीय अखबारले लेखेका छन् । 

आदि कैलाश दर्शनपछि गुञ्जी पुगेका नड्डाले भारतीय सेना, भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी) र सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीसंग सामूहिक फोटो खिचाउनुका साथै सुरक्षाकर्मीहरूलाई मिठाइसमेत बाँडेका छन् । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको पुख्र्यौली गाउँ पिथौरागढ जिल्लामा पर्दछ । आफ्नो क्षेत्र भएकाले उनको पनि यसक्षेत्रप्रति ‘विशेष लगाव’ रहेको बताइन्छ । मोदी सरकारमा केन्द्रीय सडक परिवहन राज्यमन्त्री रहेका अजय टम्टा सीमाक्षेत्र पिथौरागढ–अल्मोडाबाट निर्वाचित लोकसभा सांसद हुन् । आफ्नो निर्वाचन क्षेत्रमा अध्यक्ष नड्डा आएकाले उनी पनि स्वागतमा उत्रिएका थिए । 

 

टिप्पणीहरू