साफ यु १९ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

भारतमा जारी साफ यु १९ च्याम्पियनसिप अन्तर्गत आज हुने समूहचरणको खेलमा नेपाल र श्रीलंका भिड्दैछन्। भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।
नेपाल आज पहिलो खेलमै जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । पहिलो खेलमा आयोजक भारतसँग ८-० गोलको हार बेहोरेको श्रीलंकालाई हराएको खण्डमा नेपाल एक खेल अगावै अन्तिम चारमा पुग्नेछ भने श्रीलंका प्रतियोगिताबाट बाहिरिनेछ । समूह बीमा रहेको नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल प्रतियोगिताको उपाधि दाबेदारी टोली हो। गत संस्करणमा बंगलादेशसँग ४(१ गोलले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो संस्करण जितेको थियो भने सन् २०१७ मा भएको यु १८ च्याम्पियनसिपको पनि उपाधि कब्जा गरेको थियो ।
यस्तै समूह ए अन्तर्गतआज हुने दिनको पहिलो खेलमा बंगलादेश र भुटान खेल्नेछन् । पहिलो खेलमा माल्दिभ्ससँग २(२ गोलको बराबरीमा रोकिएसँगै बंगलादेशको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र समूह बी को उपविजेता भिड्नेछन् भने दोस्रो सेमिफाइनल खेलमा समूह बीको विजेता र समूह एको उपविजेता प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलको दुवै खेल १६ मेमा हुनेछ भने फाइनल खेल १८ मेमा हुनेछ ।
टिप्पणीहरू