कानुन नबन्दै शंकाको घेरामा राजनीतिक दललाई अनुदान

कानुन नबन्दै शंकाको घेरामा राजनीतिक दललाई अनुदान

नीतिगत भ्रष्टाचार रोक्न भन्दै राजनीतिक दलहरुलाई राज्यकोषबाट रकम दिन सरकारले कानून निर्माण प्रक्रिया अघि बढाउँदा यसको दुरुपयोग हुने चिन्ता पनि सँगसँगै देखिएको छ । जथाभावी चन्दा लिने प्रवृत्ति नियन्त्रण गर्दै दलहरुलाई पारदर्शी बनाउन राज्यकोषबाटै रकम दिने व्यवस्था लागू गर्न लाग्दा यो सार्वजनिक चासोको विषय बनेको छ । 

के राज्यकोषबाट अनुदान दिएपछि दलहरुको नीतिगत भ्रष्टाचार रोकिएला ? नेता, कार्यकर्ताले भ्रष्टाचार गर्न र चन्दा उठाउन छोड्लान् ? राज्यको ढुकुटीले धान्ला ? जनताले खाईनखाई तिरेको कर र रेमिट्यान्स दललाई दिनु न्यायाचित होला ? यी र यस्तै प्रश्नहरु बहसको विषय बन्दै गएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्न निर्वाचन आयोगले २०८१ फागुन २९ गते ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन तर्जुमा समिति’ गठन गरेको थियो । समितिले विभिन्न सरोकारवालसँग बृहत अन्तरक्रिया र छलफलमार्फत् राय–सुझाव संकलन गरी मस्यौदा तयार पारेको छ । मस्यौदा आयोगले गत चैत ७ गते सार्वजनिक गरिसकेको छ ।

मस्यौदा विधेयकको दफा ३८ (क) मा ‘आयोगमा दर्ता भएका राजनीतिक दललाई तोकिएको मापदण्डबमोजिम सरकारले निर्वाचन खर्च तथा दल सञ्चालनको लागि आवश्यक पर्ने रकम राज्यकोषबाट अनुदानस्वरुप उपलब्ध गराउन सक्ने’ भनिएको छ । 

निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार मस्यौदा गृह मन्त्रालयमा पठाइएको छ । गृहले अध्ययनपछि मन्त्रिपरिषदमा पुगेर अघि बढाउन स्वीकृति पाएपछि संसदमा पुग्नेछ । दलहरुको पारदर्शीतामाथि बेला बखत प्रश्न उठ्ने भएकाले त्यसलाई व्यवस्थित बनाउन अनुदान दिने व्यवस्था अघि बढाएको उनको भनाइ छ । 

त्यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि सरकारी कोषबाटै राजनीतिक दललाई अनुदान दिन सुझाएको छ । यसो गरिएमा राजनीतिक वित्त तथा चुनावी खर्चमा पारदर्शिता ल्याउन सकिनुका साथै उत्तरदायित्व प्रवद्र्धन हुने आयोगको भनाइ छ । 

‘राजनीतिक वित्तसम्बन्धी नयाँ ऐन ल्यार वा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३७ र ३८ र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ मा संशोधन गरेर निश्चित मापदण्डका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई संघीय सरकारी कोषबाट वार्षिक अनुदान दिने,’ आयोगले भनेको छ । 

दलले निश्चित शर्त र सीमाको अधीनमा रहेर बैंकिङ्ग प्रणाली प्रयोग गरी चन्दा लिन पाउने र निर्वाचनका बेला उम्मेदवारले कुनै चन्दा लिन नपाउने व्यवस्था गर्न आवश्यक रहेको पनि जनाइएको छ । 

‘निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले व्यक्तिगत सम्पत्ति प्रयोग गरेर वा व्यक्तिगत चन्दा उठाएर निर्वाध खर्च गर्न पाउने व्यवस्थाले निर्वाचित भइसकेपछि लगानी गरेको रकम जुनसुकै तवरले उठाउन प्रयत्न गर्ने प्रवृत्ति विकास हुन्छ । त्यसैले, यस्तो आर्थिक स्रोतको उपयोगको नियमन आवश्यक छ,’ आयोगको सुझाव छ ।
 
राजनीतिक दल राज्य सञ्चालनका निम्ति सुशासनका मूल खम्बा हुन् । यो खम्बा जति बलियो भयो, त्यति नै राज्यको सुशासन पनि मजदुत हुन्छ । दल र उम्मेदवारलाई मतदातासम्म पुग्न, आफ्नो लक्ष्य र नीति पूरा गर्न र पार्टी चलाउन आर्थिक स्रोतको आवश्यक पर्दछ । हाल दलहरु पार्टी गतिविधि सञ्चालनका लागि गैरसरकारी स्रोतको उपयोग गर्छन् । 

सदस्यता शुल्क, जनप्रतिनिधिबाट लेबी, दलले गरेका व्यवसायबाट प्राप्त प्रतिफल, वैयक्तिक वा निजी सम्पत्तिबाट सहयोग, व्यापारिक तथा वैदेशिक सहयोगबाट पैसा प्राप्त गर्छन् । तर, सरकारले राजनीतिक दलहरुलाई राज्यकोषबाटै रकम उपलब्ध गराउने अवधारणा कानूनी रुपमै सम्बोधन भएपछि दलहरु पार्टी चलाउनका निम्ति गैरसरकारी स्रोतमा भर पर्नुपर्दैन । त्यसो त दल सञ्चालन र चुनावी खर्च जोहो गर्न नेताले व्यापारी–व्यवसायीहरुसँग ‘स्वार्थगत’ साँठगाँठ गरेको आरोप पनि लाग्ने गरेको छ । 

यसले अनुदानको व्यवस्थापछि एकातर्फ मुलुकमा सुशासन कायम राख्न र दलहरुलाई पारदर्शी बनाउने विश्वास गरिएपनि अर्कोतर्फ दोहोरो लाभ लिनसक्ने खतरा पनि उत्तिकै छ । दललाई राज्यकोषबाट अनुदान दिने प्रावधानमा आम नागरिकको दृष्टिकोणले भ्रष्टाचारलाई सिधै वैधानिकता दिने खतरा देखिएको हो । किनकि राज्यकोष भनेको जनताको कर हो । यसको प्रयोग जनसेवा, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकमा केन्द्रित हुनुपर्छ भन्ने जनअपेक्षा छ ।

पहिला पनि लागू गर्न खोजिएको थियो

राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनुपर्ने बहस सतहमा आएको यो पहिलो पटक भने होइन । आर्थिक वर्ष २०६०–०६१ को बजेट वक्तव्यमै तत्कालीन अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले यस्तो प्रस्ताव गरेका थिए । उनले राजनीतिक दलले पछिल्लो निर्वाचनमा प्राप्त गरेको मतका आधारमा प्रतिमत २० रुपैयाँका दरले सरकारले सम्बन्धित दललाई अनुदान दिने प्रस्ताव बजेटमै गरेका थिए । तर, राजनीतिक उथलपुथलका कारण त्यो कार्यान्वयन हुन सकेन । 

मुलुकको लागि आदर्श तर अव्यवहारिक : राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक झलक सुवेदी राजनीतिक दलहरुलाई राज्यकोषबाट अनुदान दिने व्यवस्था मुलुकको लागि आदर्श भएपनि व्यवहारिक नभएको बताउँछन् । सरकारले अनुदान दिँदैमा नीतिगत भ्रष्टाचार रोकिने वा दलले चन्दा उठाउन छाड्ने ग्यारेन्टी नहुनाले यो व्यवस्था लागू गरिए राज्यकोषको दुरुपयोग हुने उनको ठहर छ । 

उनले भने, ‘कुरो त राम्रै हो । दललाई पारदर्शी बनाउन राज्यबाट अनुदानको व्यवस्था गरिनुपर्छ । जुन विदेशी देशहरुमा पनि छन् । तर, नेपालको हकमा भने अव्यवहारिक देखिन्छ । किनकि एकातिर राज्यकोषबाट अनुदान लिने, अर्कोतिर गलत ढंगले पनि पैसा उठाउने क्रम जारी रहन सक्छ । जनताले तिरेको करको व्यापक दुरुपयोग हुन्छ । यसैले, नेपालको हकमा यो व्यवस्था आदर्श भएपनि व्यवहारिक चाँहि होइन ।’

विलासी जीवन जीउनेतर्फ नेताहरुको बढ्दो मोह र त्यसका लागि भ्रष्टाचार वा गलत ढंगले पैसा कमाउनैपर्ने अवस्था वर्तमान समयमा रहँदा राज्यकोषबाट अनुदान दिने व्यवस्थाले दलहरुलाई झनै फाइदा पुग्ने तर भ्रष्टाचार रोक्ने यो विकल्प नभएको उनको बुझाई छ । ‘अनुदान दिएपछि नेताहरुले भ्रष्टाचार गर्दैनन् वा चन्दा उठाउँदैनन् भन्ने के ग्यारेन्टी छ ?,’ प्रश्न गर्दै सुवेदीले भने, ‘जबसम्म दलहरुमा भित्री रुपमै परिवर्तन ल्याउन सकिँदैन, तबसम्म यस्ता व्यवस्था लागू नगर्नु नै उचित हुन्छ ।’

नियमन आवश्यक : पूर्वप्रमुख निर्वाचन आयुक्त

पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव राजनीतिक दलहरुलाई व्यवस्थित र पारदर्शी बनाउन राज्यकोषबाट अनुदान दिने व्यवस्था लागू गर्न जरुरी रहेको बताउँछन् । यद्यपि, यसमा कडा नियमनको भने आवश्यक रहेको उनको भनाइ छ । 

अगाडि भन्छन्, ‘दलहरुलाई व्यवस्थित बनाउन यो कानून आवश्यक छ । तर, दोहोरो लाभ लिने छुट कसैलाई हुनुहुँदैन । व्यवस्थासँगै नियमनको ग्यारेन्टी पनि सरकारले लिनुपर्छ । भ्रष्टाचार र चन्दा उठाउने काम रोकिनुपर्छ । नभए दललाई राज्यकोषबाट अनुदान दिनु अर्थहीनको खतरा उत्पन्न हुन्छ ।’

राज्यकोषबाट अनुदानको व्यवस्थासँगै दलहरुको सम्पूर्ण वित्तिय कारोबार पनि अनिवार्य बैंकिङ्ग प्रणालीमा आधारित बनाउनुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ । ‘बैंकमार्फत् कारोबार भएपछि कहाँबाट कति पैसा ल्याइयो र केसका लागि भनेर स्पष्ट हुन्छ । यसो गरिए दलहरुले गलत ढंगले कोही कसैबाट पैसा लिन पाउँदैनन् र लिए भने कारबाही गर्न सजिलो हुन्छ,’ उनले भने ।

टिप्पणीहरू