हिजो गंगटा खाएका माओवादी नेता आज शोभा तालमा

हिजो गंगटा खाएका माओवादी नेता आज शोभा तालमा

पार्टी बलियो बनाउन देश दौडाहामा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर पुग्नुभएको छ । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा कैलाली हुँदै हिजो साँझ कञ्चनपुर छिर्नुभएका उहाँले आज बिहान शोभा तालको अवलोकन गर्नुभएको छ । 

पुनर्वास नगरपालिका-५ स्थित उक्त ताल हेर्न जानुअघि  प्रचण्डसहित माओवादी नेताहरुले मतियाबस्ती पुगेर शहीद तथा वेपत्ता परिवारसँगै बसेर चिया पिउनुभएको थियो । सोक्रममा ‘एक शहीद, एक रोजगार’ कार्यक्रम शुरु गर्न लागिएको जानकारी गराइयो । 

‘शहीदहरुकै बलिदानबाट यो व्यवस्था जन्मिएको हो, त्यसकारण ज्यान गुमाउने योद्धाहरुप्रति हामी सबैभन्दा जिम्मेवार छौ’, प्रचण्डले भन्नुभयो, ‘प्रत्येक शहीद, वेपत्ता र घाइते परिवारमा एक जनालाई रोजगारी प्रदान गर्नेगरी नयाँ कार्यक्रम तय गर्दैछौ ।’

प्रचण्डसहितका माओवादी नेताहरु गएराति सहिद परिवारकै घरमा बास बस्नुभएको थियो । साँझ भोजनमा स्थानीयले गँगटा र बयरको चटनी, घोँघी, लोकल कुखुराको मासुलगायतका परिकार खुवाएका थिए । सरकारमा हुँदासम्म शहीद तथा वेपत्ता परिवारलाई वास्ता नगरेको आरोपका बीच पछिल्लो समय भने माओवादी नेताहरु यो मामिलामा बदलिन खोजेको देखिन्छ ।

अभियान टोलीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङलगायत केन्द्रीय कार्यालयका सदस्यहरु सहभागी छन् । गत फागुन १२ गते देशकै सबैभन्दा होचो भूभाग झापाको केचनकबलबाट शुरु भएको जागरण अभियान आज महेन्द्रनगरमा कार्यक्रम गरी समापन गरिँदैछ । 

गत वर्ष प्रचण्ड  नेतृत्वको  सरकारलाई विस्थापित गर्दै कांग्रेस र एमाले सत्तामा पुगेपछि एकाएक 'जनतामा फर्किएको' माओवादीले अब गण्डक यात्रा पनि गर्दैछ ।

टिप्पणीहरू