पति फेर्दै हिँड्नेहरूको पराजय

पति फेर्दै हिँड्नेहरूको पराजय सांकेतिक तस्विर

मन्त्रीहरू नै गतिछाडा भएर कान्छी बटुल्दै हिँड्ने मुलुकमा कर्मचारीले समेत सोही पथ पछ्याउनु के नै नौलो भयो र ? एक जना श्रीमतीसँग सम्बन्धविच्छेद नगरी दोश्रो विहे गरे हत्कडी लाग्छ तर महिलामैत्री कानुन भएको मुलुकमा एकै बेला अलग–अलग व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा हाल्ने एक महिला कर्मचारीलाई सर्वाेच्च अदालतले झड्का हानेको छ । पतिसँग सम्बन्धविच्छेद नगरी पिता उमेरका अवकाशप्राप्त उपसचिवलाई मर्नु न बाँच्नुको स्थितिमा पुर्‍याइदिएकी थिइन्, लमजुङकी कल्पना डौलियाले । उनै पूर्व उपसचिव भीमलाल लामिछानेले जीवनको उत्तरार्धमा १२ वर्षभन्दा बढी अड्डा–अदालत धाएपछि सर्वाेच्च अदालतबाट बल्लतल्ल गत सोमबार न्याय पाएका छन् ।

‘मुद्दा जिताइदेऊ, आधा सम्पत्ति दिन्छु’ भन्दै कानुन व्यवसायीलाई समेत प्रभावित पार्न खोजेकी थिइन् । उनको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ बहसमा उत्रिए भने लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैध र नारायण श्रेष्ठ भिडेका थिए । अधिवक्ताहरूको बहसपछि न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पोखरा उच्च अदालतको फैसलालाई सदर गर्दै वृद्ध उपसचिवको पक्षमा फैसला सुनाएको छ । 

सर्वोच्चले भीमलालसँगको विवाहलाई बदर गर्दै अंश नपाउने निर्णय गरेको छ । कल्पनाले भीमलालभन्दा अगाडि पोखराकै पूर्णबहादुर रञ्जित, तनहुँका मानबहादुर दरै, काठमाडौँका राम मुल्मी, चितवनका टीकाराम न्यौपानेहरूसँग विवाह गरी अंश लिइसकेको पाइएको छ । ०६६ सालमै रिटायर्ड भएका भीमलालका तीन छोरा र दुई छोरी छन् । ०६३ साल साउनमै जेठी श्रीमतीसँगको सम्बन्धलाई कानुनी रूपमा पूर्णबिराम लगाएसँगै उनी एक्लो थिए । तिनै कल्पना र भीमलालको विवाह गराउने काम कास्कीकै तत्कालीन कांग्रेस सांसद तथा हाल केन्द्रीय सदस्य शारदा पौडेल, कांग्रेस नेता मुक्तिराम अधिकारी, कास्कीकै अधिवक्ताद्वय शुकदेव गौतम र ध्रुवबहादुर खत्रीबाट भएको हो । उनीहरूकै सक्रियतामा भीमलाल र कल्पनाबीच लगनगाँठो कस्सिएको थियो ‑०६६ मंसिर ३० गते । ४ महिनापछि अर्थात् ०६६ चैत ९ मा विवाह दर्ता भयो ।

विवाह दर्ता गरेको केही महिनापछि रातारात हराइन् श्रीमती । खोजी गर्दा फेला परिन् टीकाराम न्यौपानेसँग । १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत चितवनका प्रजिअले जरिवाना तिराएर मुद्दा टुंग्याए । चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् टीकारामविरुद्ध । ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई संबोधन गरी लेखेको पत्रमा भनिएको छ– ‘म टीकाराम न्यौपानेको कान्छी श्रीमती हुँ । दमौली बस्छु । श्रीमान्ले खान दिएनन् । श्रीमान्लाई झिकाएर छलफल गराइपाऊँ ।’ भोलिपल्टै कल्पना र टीकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो । ६ लाख ५० हजार लिएर दोस्रा पति टीकाराम न्यौपानेसँग मिली बस्ने भन्ने निर्णय माइन्युट बुकमा सही गराएको प्रमाण नै भीमलालको पक्षमा फैसला आउने गतिलो प्रमाण बन्न पुगेको हो ।

विवाह गरेको दुई वर्षपछि उनै कल्पनाले ०६९ साल माघ १४ गते कास्की जिल्ला अदालतमा मुद्दा हालिन्, सम्बन्धविच्छेद र माना चामलको । जिल्ला अदालतले मुद्दा सदर ग¥यो । आफूमाथि अन्याय भएपछि प्रमाण भेला पारेर भीमलाल उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको, आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले । न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने ।

यसपछि कल्पना सर्वाेच्च आइपुगेकी थिइन् ०७५ साल मंसिर ५ मा । सर्वाेच्चमा पटक पटक पेशी चढेर साढे ६ वर्षपछि उच्च अदालत पोखराको निर्णय सदर भएको छ । यसरी पति फेर्दै हिँड्ने अनमी कालिकानगर चितवन सिद्धि स्वास्थ्य चौकीमा कार्यरत छिन् । ०५९ भदौ ३० गते मातृ शिशु कार्यकर्ता सहायक दोश्रोबाट सरकारी सेवामा प्रवेश गरेकी उनी कर्मचारी समायोजनपछि कालिका नगरपालिका हुँदै अहिले पदमपुर स्वास्थ्य चौकीमा कार्यरत रहेको जनाइएको छ । श्रममन्त्री शरत्सिंह भण्डारीले ‘लिभिङ टुगेदर’ सम्बन्धलाई वैध बनाएको खबर केही साताअघि जनआस्थाले प्रकाशन गरेको थियो । 

यसबीच सेवा प्रवेश गरेको २२ वर्षमै एक उपसचिवले ३२ ठाउँमा घर–घडेरी जोड्न भ्याए, अर्को सुब्बाले चार–चारवटी पत्नी जोडेर तिनका नाममा घर, घडेरी र बैंक ब्यालेन्स थुपारे । उनीहरूको सिको गर्दै अधिकृतले पत्नीद्वयका नाममा डेढ करोड सम्पत्ति लुकाएर राखे तर करोडौं करोड भ्रष्टाचार गर्ने कर्मचारीलाई श्रीमानहरूले केही लाख धरौटीमा चोख्याइदिएको अवस्था छ ।

बलरा नगरपालिका सर्लाहीका जनस्वास्थ्य निरीक्षक (सातौं)कौशलेन्द्र मिश्रले १ करोड ३० लाख ४५ हजार ७६० रकम श्रीमतीद्वय सरोजकुमारी र तुलसीकुमारीको नाममा राखेपछि दुबै श्रीमतीलाई प्रतिवादी बनाएर अख्तियारले केहीअघि मुद्दा चलाएको थियो । सुब्बा सुरेश अधिकारी ०५९ साल असोज १६ गते रोल्पाबाट गाविस सचिवको रूपमा सेवा प्रवेश गरेका हुन्, जसमाथि साढे पाँच करोड भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले उनीसहित चारै जना पत्नीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुष्मिता अधिकारी, सोममाया श्रेष्ठलाई समेत प्रतिवादी बनाएर मुद्दा चलाउँदा अदालतबाट ३ करोड धरौटी तिरी उन्मुक्ति पाइसकेका छन् । कानुनतः दुई विवाह बर्जित भनिए पनि कान्छी राख्नेहरू निजामतीभित्र थुप्रै भेटिन्छन् ।

 

टिप्पणीहरू