केपी ओलीका कानमा विष भरिदिने थुप्रै छन्

एमालेको जिल्ला कमिटी सदस्य, उपसचिव, तीन पटक जिल्ला अध्यक्ष रहेका कर्णबहादुर थापा अहिले स्थायी कमिटीमा छन् । जनताको बहुदलीय व्यवस्था विषयमा थेसिस तयार पार्दैछन् । जबजको प्रकाशमा समाजवादी व्यवस्था विषय लिएर विद्यावारिधि गर्ने तरखरमा छन् । उनीसँग सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योग मन्त्रालय चलाएको अनुभव छ । पछिल्लो समय प्रधानमन्त्री ओलीसँग तिक्तता बढेको देख्नेहरू धेरै छन् । गत साता बालुवाटारमा पाँच घण्टा ‘वान टु वान’ वार्ता गरेर फर्किएका उनी पूर्वराष्ट्रपति विद्या भण्डारीका विश्वासपात्र मानिन्छन् ।
‑ हरि गजुरेल
० कठिन समयमा पार्टी अध्यक्ष केपी ओलीदेखि महासचिव शंकर पोखरेलसम्मको काँध थाप्नुभयो । आज पार्टीमा किन गतिलो जिम्मेवारी पाउनुभएन ?
‑ अध्यक्ष केपी शर्मा ओलीसँग ०५१ सालदेखिको सम्बन्ध हो । उहाँ गृहमन्त्रीबाट हटेपछि शुरु भएको राजनीतिक सम्बन्ध आज पनि उस्तै छ । महासचिव शंकर पोखरेल र मेरो उमेर धेरै फरक छैन । संयोग नै भनौं, उहाँ र म एकै समय काठमाडौं प्रवेश गर्यौं । पार्टीभित्र अत्यन्त संकटका बेला दुवै जना कर्नरमा पर्नुभयो । म लड्दै लड्दै यहाँसम्म आएँ । संगठन सञ्चालनमा जबजसँग नमिल्दा जे–जस्ता व्यवहार भएका छन्, तिनलाई सच्याउनुपर्छ भन्ने लाइनमा छु ।
० यहाँको गत साता केपी ओलीसँग के विषयमा भएको थियो कुराकानी ?
‑ जे–जति राम्रो काम भएका छन् ती मेरै नेतृत्वमा भएको भन्ने उहाँलाई लागेको छ । केही गल्ती भइरहेका छन् भन्ने महसुस पनि हुन थालेको देखिन्छ । उहाँको राम्रो देख्नुपर्छ र उहाँबाट भए, गरेका कमीकमजोरी पनि भन्नुपर्छ । छलफलको निचोड के रह्यो भने उहाँलाई प्रिय लाग्ने कुरा मात्र कानमा भरिदिनेको संख्या धेरै छ । गएको छ, सबै कुरा ठीकठाक छ भनिदिएको छ । सकारात्मक भावका साथ भएका आलोचनालाई समेत गलत ढंगबाट बुट्टा भरेर सुनाइदिएको छ । हामी उहाँको सतप्रतिशत समर्थक तर फरक ढंगबाट सोच्नेहरूलाई विरोधी नै हुन् भन्ने प्रकारले कान भरिदिइएको छ ।
भनिन्छ नि खानामा विष घोल्नेभन्दा कानमा विष भरिदिनेहरू खतरनाक हुन्छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई मैले राम्रोसँग बुझेको छु । सही कुरा तथ्यसहित भनिदिएको खण्डमा महसुस गर्ने उहाँजत्तिको मान्छे मैले अर्काे देखेको छैन । तर, डर, त्रासका कारण जस्ताको तस्तै नभनिदिएकाले नै समस्या भएको हो । यी सबै समस्याको कारण लोभ हो । लोभले नै डर, त्रास जन्माउने हो ।
० एमालेमा सास भएका जिउँदा लाशको संख्या बढ्दै गएको भन्ने सुनिन्छ । लाश बन्न नखोज्दा तपाईंमाथि अप्ठ्यारो परेको छैन ?
‑ यो बडो चिन्ताजनक विषय हो । म सक्रिय राजनीतिमा लागेको ४० वर्ष नाघिसक्यो । पहिलो पटक यति धेरै डर, त्रास र भयको स्थितिबाट कम्युनिष्ट आन्दोलन गुज्रिरहेको देख्छु । यो नहुनुपर्ने हो । कार्यकर्तालाई सार्वभौम बनाउनुपर्छ भन्ने व्यक्ति नै अध्यक्ष र महासचिवको कुर्सीमा हुनुहुन्छ । केन्द्रीय कमिटीमा हेर्ने हो भने एकछत्र उहाँहरूकै मान्छे छन्, कोही विरोधी छैनन् । सबै जबज र नेतृत्वको समर्थक छन् तर स्वार्थ समूहले आफ्नो लाभका लागि अनावश्यक चाकडी, गुलामी गरिरहेकै छन् ।
० यहाँले संकेत गर्नुभएको प्रधानमन्त्रीको ‘कोर टिम’का कमरेडहरू हुन् वा बाहिरका ?
– कोर त अहिले महाकोर भइसक्यो । अध्यक्ष केपी शर्मा ओलीमाथि यति धेरै घेराबन्दी छ । कम्तीमा एक हजार मान्छेले उहाँलाई सेन्टर मानेर डे टु डे काम गर्नुपर्ने हो । हरेक क्षेत्रका विज्ञ र विशेषज्ञहरू उहाँसँग हुनुपर्ने हो तर स्थिति ठीक विपरीत देखिन्छ । उहाँसँग अहिले एक/दुई जनाभन्दा अरुको पहुँच छैन । एक्सेस कन्ट्रोल गरेपछि सबै सूचना प्राप्त नहुने नै भयो । सही सूचना प्राप्त नभएपछि कतिपय सन्दर्भमा सही निर्णय नहुनु स्वभाविक हो ।
त्यसले पार्ने प्रभावको आँकलन पनि नहुने नै भयो । आफ्नो स्वार्थका लागि दोष जति केपी ओलीको टाउकोमा हालिदिने र व्यक्तिगत लाभ आफूले लिने गरेका छन् । यो कुरा सबैको मन मनमा छ तर कसैले खुलेर भन्न सकिरहेका छैनन् । अब पनि विवेकलाई बन्धक राखेर यसैगरी मौन बस्ने हो भने यो पार्टी, आन्दोलन र केपी ओलीको व्यक्तित्व पनि जोगाउन सकिँदैन । प्रधानमन्त्रीज्यूलाई अस्ति भएको वान टु वान वार्तामा यी विषयमा प्रष्टसँग, छर्लंग हुने गरेर भनेको छु ।
० यहाँले केही दिनअगाडि धनगढीमा दुर्गा प्रसाईं र जगमान गुरुङलाई कसले दिएको जिम्मेवारी ? भनेर प्रश्न गर्नुभएको थियो । यसलाई अलि प्रष्ट भनिदिनुहोस् न !
‑ एमाले मात्र होइन, लोकतान्त्रिक व्यवस्था र गणतन्त्रप्रति नै नयाँ पुस्ताले असन्तुष्टि पोखिरहेको सुनिन्छ । त्यस्तै मान्यता बोक्नेहरू छँदै थिए । त्यहीं मिसिएका छन् असन्तुष्टहरू । दलहरूले धेरै हदसम्म राम्रै गरेका छन् । यद्यपि, सतप्रतिशत ठीक गरेका छौं भन्ने पक्षमा हामी छैनौं । कांग्रेसभित्रको घात अन्तर्घातले कृष्णप्रसाद भट्टराईलाई हरायो र मुलुकलाई मध्यावधिमा लग्यो । आफूभित्रको समस्या पार्टीले समाधान नगरी देशको टाउकोमा हाल्ने कामको शुरुवात नेपाली कांग्रेसले गर्यो । त्यसकै निरन्तरता नेकपाको विभाजनमा देखियो र संसद विघटनमार्फत लुतो देशको टाउकोमा फालियो । यसनिम्ति नेताहरुले माफी माग्नुपर्छ ।
वामदेवलाई उपप्रधानसहित गृहमन्त्री बन्नुपर्ने भयो, यसर्थ उनैले घिसारेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाउन बाध्य पारे । केही समयपछि कांग्रेसले सूर्यबहादुर थापालाई बोकेर उनकै नेतृत्वमा सरकार बनायो । लोकेन्द्रलाई बोकेपछि एमाले र सूर्यबहादुरलाई बोकेपछि कांग्रेस विभाजन भयो । यो कुराका लागि प्रमुख दलहरूले आत्मालोचना गर्नुपर्दैन ? एक अर्काे दललाई सक्नका लागि दरबारियाहरू उहिल्यै व्यापक रूपमा परिचालित भए । दरबारियाहरू त माओवादी जनयुद्धको प्रशंसक हुन् । जगमान गुरुङ मात्र होइन, लोकमानसिंह कार्की पनि सबै दललाई मनाएर अख्तियारको प्रमुख आयुक्त बनेका हुन् ।
कम्युनिष्ट आन्दोलनमा कुनै योगदान नभएको हावा मान्छे दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्य बनाइयो । बैंकको ऋण लिएर नतिर्ने मान्छे हुन् उनी । झण्डै ११ अर्ब ऋण छ । ती बैंकहरूले यो कुरा किन सार्वजनिक गर्न सक्दैनन् ? नारा लगाएर ऋण माफी हुने हो ? ऋण माफी हुन्छ भनेर गणतन्त्र मूर्दावाद भन्ने युवालाई शिष्टतापूर्वक भन्न चाहन्छु, यो भ्रममा तपाईंहरू नपर्नुहोस् । सबै आलोचकहरू दुश्मन हुँदैनन् र सबै प्रशंसक मित्र हुँदैनन् । जगमान गुरुङले हिजो केका लागि प्रशंसा गरेका रहेछन् भन्ने आज देखिँदै छ । जगमान गुरुङ विद्धत् मान्छे, नेपालको संस्कृति, सभ्यता, इतिहासको ज्ञाता । केपी ओली त महेन्द्रभन्दा माथिका हुन् भनेर उनले प्रशंसा गरेको सुनेको छु । त्यो प्रशंसामा त निहितार्थ रहेछ । राजा आएर देशको समस्या सामाधान हँुदैन भन्ने कुरा जगमानजत्तिको मान्छेलाई थाहा नहोला ? यहाँ पनि मैले ठीक गरें भन्न मिल्दैन होला । आफूले गरेको गल्तीमा निसंकोच माफी माग्नुपर्छ ।
० केही महिनाअगाडि मात्र विन्दा पाण्डे, उषाकिरण तिमिल्सिनाहरूलाई निलम्बन गरिएको भनियो तर पत्रै तयार भएको रहेनछ । यो त हुकुमी शासन भएन र ?
‑ बोलेको अर्थात् भनेकै आधारमा कुनै मान्छेलाई कारबाही गर्नु अनुचित हो । सम्पूर्ण हिसाबले पार्टी र आन्दोलनका लागि काम नलाग्ने पुष्टि भएको खण्डमा मात्र कारबाही गर्ने हो । आफूलाई चित्त नबुझेको कुरा बोल्दैमा कारबाही गर्ने होइन, स्पष्ट पार्न मौका दिनुपर्छ । वा स्पष्ट पारिदिनुपर्छ । यसरी जिम्मेवारीबाट हटाउने कुरा उचित होइन । हामी यही कुरा सच्चाऊ भनेर चिच्याइरहेका छौं । विन्दा स्थायी कमिटीमा हुनुहुन्थ्यो, कमिटीभित्रै कुरा राख्नुहुन्थ्यो होला । सीमित मान्छेबीच छलफल चलाउने र कारबाही गर्ने कुराले पार्टी कहाँ पुग्छ ? पार्टी निर्माणमा सबैको आ–आफ्नो ठाउँबाट योगदान छ ।
० धितोपत्र बोर्ड, गभर्नर, बिमा प्राधिकरणलगायत अर्थ मन्त्रालय मातहतका निकाय मात्र होइन, एमालेले सम्हालेका शिक्षा र सञ्चार मन्त्रालयमातहत कतिपय निकायमा समेत कांग्रेसले धमाधम नियुक्ति खाइरहेको छ । एक थान प्रधानमन्त्रीका लागि सबै त्वम् शरणम् गर्नुपर्ने बाध्यता के आइलाग्यो होला, नेतृत्वमाथि ?
‑ राजनीतिक नियुक्तिमा भनेजस्तो ठ्याक्कै भइरहेको छैन । दुई मुख्य दलको सहमति, सहकार्यको सरकार छ । म यस प्रकारको सरकार हुनुपर्छ भनेर वकालत गर्ने व्यक्ति हुँ । यस्तो सरकारले ‘तेरो मेरो’ भन्दा उठेर देश र जनतालाई केन्द्रमा राखी काम गर्नुपर्ने हो । योग्यमध्येका पनि सबैभन्दा काविललाई नियुक्ति दिनुपर्ने हो तर त्यो काम सन्तोषजनक रूपमा भइरहेको छैन । यस्तै गतिविधिले राजनीतिक दल र प्रणालीप्रति जनताको विश्वास टुट्दै गएको छ । अहिलेको गणित नबदलुञ्जेलका लागि अन्तिम विकल्प हो यो तर गतिविधि सोच, चिन्तन, कार्यशैली, कार्यसम्पादन विशिष्ट प्रकारको देखिन्न । यो त्रुटीपूर्ण छ । समस्या समाधान गर्ने कोणबाट सरकार अगाडि गएको देखिन्न ।
० तपाईंहरू पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जसरी पनि राजनीतिमा कम ब्याक गराउन लाग्नुभएको छ । मिसन पूरा हुने सम्भावना छ त ?
‑ वर्तमान पार्टी अध्यक्ष केपी ओलीपछि सबैले स्वीकार्ने व्यक्ति को हो त ? सबै प्रकारको जिम्मेवारी निर्वाह गरेको र वरिष्ठतम व्यक्ति विद्या भण्डारी नै हुनुहुन्छ । केपी शर्मा ओली पार्टीको लोकतन्त्रीककरण मुद्दालाई नेतृत्व गर्ने नेता भएकाले उहाँले नेतृत्व सहज ढंगबाट हस्तान्तरण गर्नुपर्छ । एमालेभित्रको समस्या, जटिलता र खतराप्रति उहाँ जानकार नै हुनुहुन्छ । समाधान उहाँले आफैं दिनुहुन्छ, यो मेरो विश्वास हो । विकसित घटनाक्रमअन्तर्गत केपी ओलीकै प्रस्ताव र सहमतिमा विद्या भण्डारी नेतृत्वमा स्थापित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।
० पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट र सम्पर्क कत्तिको हुन्छ ?
‑ उहाँसँग नियमित भेटघाट भइरहेको छ । देश राम्ररी अगाडि बढ्न नसकेकोमा उहाँमा ठूलो चिन्ता पाएको छु ।
० पछिल्लो समय एमालेमा ‘टिके प्रथा’ मौलाउँदै गएको देखिन्छ । चाहे राजेश राईलाई लखेटेर गणेश पाण्डेलाई टीका लगाउँदा होस् वा रेवन्त गौतमलाई ब्लक गरेर भवानी दाहाललाई अध्यक्ष बनाउँदा । समर्थन गर्नुहुन्छ यस्ता कदमलाई ?
‑ जनवर्गीय संगठन सञ्चालनको सन्दर्भमा जनताको बहदुलीय जनवादले जे मान्यता अगाडि सारेको छ, त्यहीबमोजिम नै नेतृत्व निर्माण, सञ्चालन हुनुपर्छ । राजनीतिक हिसाबले जनवर्गीय संगठनहरू पार्टीको सान्निध्यतामा रहन्छन् तर संगठन सञ्चालनको आफ्नै विधि, विधान र तत् तत् जनवर्गीय संगठनमा काम गर्नेहरू नै निर्णायक हुन्छन् । तर, त्यसबमोजिम काम हुन सकेको छैन । त्यसले हामीलाई नोक्सान पु¥याउँछ र सके प्रतिस्पर्धीका बीचमा सहमति गराउनुपर्छ नभए चुनावी मैदानबाट नेतृत्व चयन गरिनुपर्छ । अरुले लादेको सहमतिलाई जबजले चिन्दैन र मान्दैन पनि । जोर जबर्जस्ती गर्न कहीँ पनि पाइँदैन । जो मान्छेका कारण यी भ्रातृ संगठनमा समस्या उत्पन्न भएका छन् उनीहरूले यी समस्याको जिम्मेवारी लिनुपर्छ ।
० तपाईंहरूकै क्षेत्रका नेता भीम रावलसँग कस्तो छ सम्बन्ध ?
‑ पार्टीले निश्कासन गरेपछि उहाँसँग कुनै सम्पर्क, संवाद छैन । भीम रावल कमरेडले पार्टीभित्र मूल्य, मान्यताको लडाइँ थियो भन्नुभयो । पार्टीबाट निश्कासित भएपछि मैले ‘अब भीम रावलले मूल्य–मान्यताको लडाइँ लड्न सक्नुहुन्न’ भनेको छु । अन्यन्त्र काम नलागेका, विभिन्न पार्टीमा असन्तुष्ट भएका, अपराधै कर्म गरेर राम्रो गरें भन्नेको जमात सानो छैन हामीकहाँ । तिनको समर्थन लिन्न भन्न पनि उहाँलाई गाह्रो हुन्छ । बदनामी कमाएका साथीहरूलाई बोकेर उहाँले मूल्य मान्यताको लडाइँ लड्न सक्नुहुन्न ।
० सुदूरपश्चिममा एमालेका नेताबीच मारामार छ । भीम रावल पनि तपाईहरूसँग छैनन् । आगामी निर्वाचनमा त्यता पार्टीको भविष्य कस्तो देखिरहनुभएको छ ?
‑ असाध्यै चिन्ताजनक र दुःखद विषय हो यो । अहिलेको स्थितिमा त्यहाँ पार्टी निर्माण गर्ने पहिलो पुस्ताका मान्छे कोही बाँकी रहेनन् । म ५६ वर्षको भएँ । मलाई दाइ भन्नेको जमात ठूलो भइसक्यो । लड्दै, भिड्दै उभिएको छु । केही बिते, कतिलाई कारबाही गरेर हटाइयो, कसैले पार्टी छाडे । कसैलाई बुढ्यौली लाग्यो । ठूलो पंक्ति जिम्मेवारीविहीन छ । तिनलाई फर्काउन सकिएको छैन । बरु हामीभित्रै लडाइँ भइरहेको छ । मूल दायित्व र जिम्मेवारीभन्दा बाहिर संकीर्ण सोचका साथ भित्रभित्रै लडिरहेका छौं । यसले नसोचेको दुःखद परिणाम ल्याउँछ ।
टिप्पणीहरू