निर्देशन एकातिर,गाडी अर्कैतिर

निर्देशन एकातिर,गाडी अर्कैतिर

अर्थ मन्त्रालयको परिपत्र विपरीत नवलपरासीको सुनवल नगरपालिकाले १ करोड ३० लाख खर्च गरेर दुई वटा स्कोरपियो गाडी खरिद गरेको छ । खर्चलाई मितव्ययी बनाउनका लागि केही महिनाअघि अर्थ मन्त्रालयले स्थानीय तहलगायतका सबै निकायलाई मापदण्ड जारी गरेको थियो । तर, नगरपालिकाले भने आवश्यकताभन्दा बाहिर गएर प्रति गोटा ६५ लाखका दरले १ करोड ३० लाखमा दुई वटा गाडी खरिद गरेको हो । नगरपालिकासङ्ग हाल एउटा स्कोरपियो छ । दमकल नभएर आगलागी नियन्त्रण हुन नसक्दा लाखौंको धनमाल नष्ट हुने नगरपालिकाले स्थानीयको मागलाई बेवास्ता गर्दै आफ्नो सुविधाका लागि गाडी खरिद गरेको भनी स्थानीयस्तरमा आलोचना शुरु भएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कर्मचारी तालिम खर्च,मेसिनरी गाडी तथा औजार,फर्निचर,फिक्स्चर र पुँजीगतलगायत पाँच शीर्षकको खर्चमा कटौती गर्न मन्त्रालयले परिपत्र गरेको थियो । नगरपालिकाले खरिद गरेको उक्त स्कोरपियो समानीकरण अनुदान शीर्षकको रकमबाट हो । पुँजीगत खर्चको निःशर्त अनुदानअन्तरगत पर्ने समानीकरण रकमबाट नगरपालिकाले आफैं निर्णय गरेर विभिन्न योजना र कार्यक्रममा खर्च गर्न पाउँछन् । तर, मन्त्रालयले उक्त शीर्षकमा खर्च कटौती गर्दागर्दै नगरपालिकाले अति आवश्यक बाहेकको गाडीमा खर्च गरेको भनी कर्मचारी र जनप्रतिनिधिहरुमा पनि असन्तुष्ट बढेको छ ।

समानीकरण अनुदानको रकममध्येबाट १ करोड ३० लाखमा दुई वटा गाडी किनेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । ‘राष्ट्रिय बजेटमै भएर किनेको हो । त्यसै होइन ।’ पौडेलले भने । नगर क्षेत्रमा आवश्यक रहेको दमकल पनि छिट्टै आउने उनले बताए ।

गाडी खरिद गर्ने विषयमा नगर प्रमुख विमला अर्याल र कार्यालय प्रमुखलाई आफूले आवश्यक परे अहिलेलाई एउटा गाडी खरिद गर्न सुझाव दिए पनि नमानेर दुई वटा खरिद गरेको उपप्रमुख सूर्यप्रसाद दुबेले बताए । उपप्रमुख दुबेले आफ्नै निजी सवारी प्रयोग गर्दै आएका छन् । ‘मलाई गाडी चाहिँदैन, अहिलेसम्म त चढिन,अब डेढ दुई वर्षलाई चाहिएन । मेयर साहेबको छँदै छ, रहाकिम साहेब र अन्य कर्मचारीलाई चाहिए एउटा किनेर खर्चमा मितव्ययिता अपनाऊँ भनेको,मान्नु भएन ।’ उपप्रमुख दुबेले भने । दुई वटा गाडी किनेर सुरु भएको आलोचनाले अहिले बाहिर हिंड्दा खपिसाध्य छैन ।
 

टिप्पणीहरू