जुत्ता, चप्पलमा लेबल अनिवार्य, अन्यथा कारबाही
सरकारले जुत्ता, चप्पल तथा औषधिजन्य पदार्थमा अनिवार्य लेबल लगाउन निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल लगाउनका निम्ति उत्पादनकर्तालाई सात दिनको अल्टिमेटम दिएको छ ।
विभागका महानिर्देशक कुमार दाहालको अध्यक्षतामा बसेको बैठकले जुत्ता, चप्पल तथा औषधीजन्य पदार्थमा लेबल लगाउनका निम्ति जुत्ता उत्पादन संघ, नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघलाई निर्देशन दिने निर्णय गरेको हो । विभागले जारी गरेको सूचनमा सर्वसाधारणले बुझ्नेगरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने व्यहोरा उल्लेख छ ।
‘जुत्ता उत्पादन संघ नेपाल तथा रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकज्यूको अध्यक्षतामा बसेको बैठकबाट उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने कुराहरुमाथि उल्लेखित उत्पादन संघ र आपूर्ति संघले आजको मितिबाट सात दिनभित्र अनिवार्य कार्यान्वयन गर्नेगरी निर्णय गरियो’,सूचनामा उल्लेख छ ।
उत्पादनकर्ताले अटेर गरेमा कारबाही गरिने विभागको चेतावनी छ ।
टिप्पणीहरू