डाक्टरसा’ब अफिसै नआउने, बिरामीले सेवा कसरी पाउने ?

डाक्टरसा’ब अफिसै नआउने, बिरामीले सेवा कसरी पाउने ?

जिल्ला अस्पताल रुकुम पश्चिमको सेवा खस्किँदै गएको छ । कार्यालय प्रमुखको रूपमा डा. सुशील पोखरेल हुँदा आर्थिक तथा अन्य व्यवस्थापनमा राम्रो विकास भए पनि पछिल्लो समय खस्किँदै गएको छ । अस्पताल प्रमुख हाल डा. महेश चौलागाईंं छन् । तर, उनी अस्पतालमा कम र बाहिर बढी बस्ने गरेका छन् । लामै समयदेखि अस्पतालमा हाजिर पनि छैनन् । 

केही दिनअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मासहित सांसद तथा पत्रकार अनुगमनका लागि पुग्दा अस्पतालमा थिएनन् । पूर्वमुख्यमन्त्री शर्माले डाक्टरसा’ब खै भनेर सोद्धा अन्य कर्मचारीले तालिमका लागि बाहिर भएको बताएका थिए । हाल अस्पताल प्रदेश सरकारमातहत भए पनि त्यताबाट खासै निगरानी गरिएको देखिँदैन । उता, जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत बजेट आउने गरेकामा कात्तिकदेखि पैसा रोकिँदा १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिए । त्यसैगरी, जिल्ला अस्पताल रुकुम पश्चिमको भवन निर्माणमा ढिलाइ भएको छ ।

टिप्पणीहरू