पार्टी सक्ने, देश पनि सक्ने क्या राम्रो काइदा

पार्टी सक्ने, देश पनि सक्ने क्या राम्रो काइदा

हामीले किन केन्द्रीय सदस्य बनाएको भनेर आलोचना गर्दा कुटुँलाझैँ गर्थे, अहिले उनीहरू नै दुर्गा प्रसाईंंले गलत तरिकाले अर्बौ कमाएको भनेर भटाभट समाचार सेयर गर्दै छन् । त्यही पार्टीको केन्द्रीय सदस्य बन्दासम्म उनी गान्धीजत्तिकै इमान्दार मान्छे थिए, कि त्यो पार्टी वासिङ मेसिन हो एक तिरबाट फटाहा हाल्ने, अर्कोतिर इमान्दार बनाएर निकाल्ने ? यो भनाइ हो झापा एमालेका विद्यार्थी नेता लक्ष्मी गौलीको । उनीजस्तै प्रतिक्रिया छ अर्का एमाले कार्यकर्ता हरि दाहालको पनि । 

उनले लेखेका छन्, दशाैँ वर्ष झापा क्षेत्र नं. ३ का एमाले कार्यकर्तालाई राप्रपामा भोट हाल्न लाउने नेतृत्वको कारण त्यहाँ एमाले नेतालाई स्थापित हुन अझै दशौं वर्ष लाग्ने देखिएको छ । कारण हो– क्षेत्र नं. ५ का राप्रपाको भोट तानेर आफू जित्ने रणनीति । त्यति मात्र होइन, अघिल्लो निर्वाचनमा बहुमतले जित्ने झापा १ को ख समेत राप्रपालाई सुम्पने निर्णयले पार्टी पंक्तिमा वितृष्णा जगाएको हो । चैत ३० गते शनिबारको भेलाबाट झापा पार्टीमा भएको भेलामा यसरी वितृष्णा पोखिएको हो । एमाले कार्यकर्ता किन फुर्सदिलो समयमा पनि दमक गएनन् ? हिजो आफ्नै उम्मेदवारलाई हराउन केन्द्रदेखिको जोडबल र गोप्य सूचना बेचिएकोे प्रमाण हुँदाहुँदै विगतको लालकिल्लाबारे कसले सोच्ने हो ? समय छ ०८४ आउन ।

त्यही दिन प्रधानमन्त्री केपी ओली दमक पुगेर कोशीमा एमाले कमजोर भयो भन्दै थिए । झट्ट हेर्दा मात्र होइन, तथ्यले पनि यता एमाले कमजोर बन्दै गएको देखिन्छ । कुनै समय सिंगो मेची अञ्चल लालकिल्ला थियो तर के त्यो अब सम्भव छ ? गाह्रो छ । उनै विद्यार्थी नेता लक्ष्मी गौलीको विगतको टिप्पणी थियो, कहिले दुर्गा प्रसाईं बोक्ने, कहिले राजेन्द्र लिङदेन उचाल्ने अनि कहाँबाट पार्टी बलियो हुन्छ ? क्याडरहरू जनताको घर–घर पुगेर जनमत बनाउने, गरिबका छोराछोरी क्याम्पस–क्याम्पस गएर संगठन बनाउने, पार्टी अध्यक्षचाहिँ घण्टाको हजारका दरले मतदाता घटाउने ! पार्टी नि सक्ने, देश नि सक्ने क्या राम्रो काइदा !

देशका प्रधानमन्त्रीको जिल्लाका एमाले कार्यकर्ताको विचार यसरी प्रकट भइरहँदा उनले भने आफूबिनाको एमालेको कल्पना नगर्न बुटवलबाट जवाफ फर्काएका छन् । यतिबेला एमालेभित्रै बसेर ओलीकै आलोचना गर्ने क्रम निकै बढेको छ । जति रोकावट, उति नै जवाफ भनेजस्तो अवस्था छ । अझ झापातिरैका पार्टी कमिटीमा ओलीको शैलीबारे छलफल हुने गरेका तथ्य प्रमाण सार्वजनिक भइरहेका छन् । यो कुरा थाहा पाएझैँ गरी ओलीले दमकमा भनेका छन्, अझै १०/१५ वर्ष पर्खनू– ओलीबिनाको एमाले पाउन । 

दमकमा राजावादीको पूरै तयारी छ रे ! त्यहाँ कुनै हिंसात्मक घटना हुन सक्छ भनेर पार्टी बैठकमा केपी ओलीले भनेको केही दिनमा त्यहाँ सभा गरियो । सायद त्यही केही हुन सक्ने आशंकाका बीच चैत ३० गतेको सभा भयो । दुई दिनअगाडि तिनै पात्र जसको बारेमा संशय थियो, पक्राउ परे । दुर्गा प्रसाईं कुनै दिन भन्थे, अब एमालेले झापामा कुनै सभा सम्मेलन गर्न सक्दैन, गर्न पनि दिन्नँ । तर, ओलीले सभा गरेर देखाइदिए तर फितलो । एकप्रकारले आफ्नै नाति पक्राउ पर्दा खुशी हुने आधार पनि थियो तैपनि पर्याप्त मान्छे सभामा नदेखेपछि ओलीले मञ्चबाटै कोशीमा पार्टी कमजोर भएको तर्क गरे । 

काठमाडौँतिर १०–१५ हजार मान्छे यताउता गरिरहेका छन् । शिक्षक, राजावादी, राप्रपादेखि मीटरब्याज पीडितहरूका जुलुस निस्किरहेका छन् । कांग्रेसकै मन्त्रीदेखि गगन, शेखर, विश्वप्रकाश, चन्द्र भण्डारीहरू कुर्लिरहेकै छन् । सत्ताप्रति आक्रोश छ । जनतामा निराशा छ । तैपनि, देशभन्दा पार्टी बचाउने मात्र चिन्ता छ । सत्तासीनहरूले सडक कब्जा गर्न छाडेका छैनन् । दमकको पशुहाटमा भेटिएका एमालेकै कार्यकर्ता यसै आइदिएको भन्दै गरेका भेटिन्थे । गाडी, तेल र खाजा खर्च गरेर मान्छे ल्याउनुपर्दाको पीडा स्थानीय नेतामा उत्तिकै थियो । एक जना नगर कमिटी नेता भन्दै थिए– यस्तो बेलामा भाषण सुन्ने मान्छे कहाँबाट ल्याउनु ? हामीले त हरेक दिन सुनेकै हो नि ! त्यही दमक हो, जहाँ राप्रपाको मेयर र कांग्रेसको उपमेयर छन् ।

झापा–५ बाट केपी ओलीले जितेकै हुन् तर त्यही राप्रपाको सहयोगमा । झापा–३ मा एमालेले राजेन्द्र लिङदेनलाई भोट हालेकै हो । त्यो असन्तुष्टिले पार्टीभित्र भुसको आगो बलेको छ । त्यही पीडा पोखेर एमाले नेता हरिचरण बानियाँले लेखेका छन्, ‘हामीले गल्तीवश भोट दिएर जनताको सेवा गर भनी पठाएका छाउराछाउरी सदनमा गएर राजा माग्दै छन् रे ! अबका दिन गन्ती गरेर बस, फेरि कस्ता दिन आउनेछन् !’ यो भनाइलाई आधार मान्दा प्रष्ट हुन्छ कि त्यो सहमति कति घातक थियो । अब राजेन्द्र लिङदेनले झापा–५ मा ओलीलाई भोट हाल्न लगाउँछन् त ? त्यो सम्भव छैन किनभने राजावादी आन्दोलनको ज्वारभाटाले मिशन ८४ लाई नराम्रोसँग असर गर्नेछ । त्यसमा पनि दुर्गा प्रसाईं कथंकदाचित छुटे भने उनको ज्वालामुखी बिष्फोटन हुने उत्तिकै खतरा छ । 

एमालेले ‘जागरणसभा’ गरेर होइन, हरेक तह र मोर्चामा चुनावमार्फत नेतृत्व चयन गरेमा माहोल आउँछ । ‘जागरणसभा’ त एउटा राजनीतिक पिकनिक र समाचार उत्पादन केन्द्र मात्र हो ! ‘जागरण’ गर्नुपर्ने ‘स्वयम्’बाट हो, ‘सभा’बाट होइन । पत्रकार विराट अनुपमले लेखेको स्टाटसमाथि इनरुवाका पत्रकार राजेन्द्र पोखरेलको टिप्पणी छ, ‘लोकतान्त्रिक विधिअनुसार चुनावी प्रतिस्पर्धाबाट एमालेको नेता चुन्ने चुनिने कुरा अब अझै १५ वर्षसम्म हुँदैन भन्ने कुरा ‘बा’ ले भनिसक्नुभयो । अब गणेश बन्ने र गणेश हुन योग्य एमाले मात्रै एमाले होला बाँकी कुरा तपसिलबमोजिम होला ।’

यस्ताखाले टिप्पणी आउनुअघि भने प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा गलत तथ्यांक प्रस्तुत गरेका थिए । ओलीले त्यही एमाले कमजोर रहेको कोशी प्रदेशमा निरपेक्ष गरिबीको दर ११ प्रतिशत रहेको र ५ वर्षमै शून्यमा झार्ने वा न्यून बनाउने बताएका थिए । तर, कोशी प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा समावेश तथ्यांकमा अहिले गरिबीको दर १७ प्रतिशतभन्दा बढी छ । यो दर २०८५ सम्म १२ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्रीले ८१ को अन्तिमतिरै एकैपटक ११ प्रतिशतमा झारिदिए । कोशी प्रदेशमा एमालेकै हिक्मत कार्की मुख्यमन्त्री छन् । उनैको नगर गौरादहमा अघिल्लो दिन रास्वपाको नगर भेला भयो । त्यहाँ ज्वाला संग्रौला भन्दै थिइन्, ‘रवि जेल गयो, अब रास्वपाको कथा अन्त्य भयो ।’ तर गणतन्त्रका छोटे महाराजहरूको अन्त्य नभएसम्म न कुनै कथा सकिनेछ, न रास्वपा सकिनेछ ।
 

टिप्पणीहरू