'सरकार आफ्नै बोझ थेग्न नसकेर ढल्दैछ'

'सरकार आफ्नै बोझ थेग्न नसकेर ढल्दैछ'

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार आफ्नै बोझ सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुँदै गएको टिप्पणी गर्नुभएको छ ।

हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत कपिलवस्तुको बहादुरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सत्ता साझेदार दलभित्रको तीव्र अन्तुष्टिले त्यसलाई पुष्टि गर्ने बताउनुभयो । सत्ताभित्र पहुँच बनाएका केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामसमेत अवरुद्ध बनेको प्रचण्डको दाबी छ ।

भ्रष्टाचारीलाई जोगाउन अप्राकृतिक ढंगले अहिलेको सरकार गठन भएको जिकिर उहाँले कपिलवस्तुमा पनि दोहोर्याउनुभएको छ । 'देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ', प्रचण्डले भन्नुभयो ।

आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेको उल्लेख गर्दै उहाँले अहिले भने भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौंको लुटतन्त्र चलाएको दाबी गर्नुभयो । किसानको हितमा सरकारले ठोस काम गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, 'किसानलाई मुख्य प्राथमिकता नदिई देशको समृद्धि सम्भव छैन ।'

भारतसँग सम्बन्ध सुदृढ गर्न आफूले खेलेको भूमिकालाई स्मरण गर्दै प्रचण्डले चीन भ्रमणका क्रममा बन्द रहेका नाकाहरू खोल्लेसम्बन्धी सम्झौता गरेको पनि जानकारी गराउनुभयो । देशमा स्थायित्व र समृद्धिको लागि राजनीतिक शुद्धता र इमान्दारीता  आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । 

कार्यक्रममा अन्य दल परित्याग गरि चार सय बढि नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

टिप्पणीहरू