राजा झुक्न कसरी तयार भए ?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको खुलासा गरेपछि यतिबेला राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।
राजतन्त्र पुनःस्थापनाको माग राखेर राजावादी सडकमा ओर्लिंदै गरेका बेला २०६२–०६३ को जनआन्दोलनको नेतृत्वकर्तामध्येका एक व्यक्तित्वको यो प्रतिक्रिया आफैँमा अर्थपूर्ण छ । आफूहरू तीन जनाले बसेर सहमति गरिसकेपछि मात्रै माओवादी गणतान्त्रिक आन्दोलनमा मिसिएको दावीले पक्ष–विपक्षमा तर्क–वितर्क भइरहेका छन् ।
गिरिजा र आफूले बसेर सबै सहमति गरेको र त्यसअनुसार नै ज्ञानेन्द्र प्रतिनिधिसभा पुनर्बहालीका लागि तयार भएको उनको दावीलाई कतिपयले ‘हावादारी’ करार गर्दै गर्दा सच्चाइ थाहा पाउन इतिहासको तथ्यलाई केलाएर हेनुपर्ने हुन्छ । तत्कालीन नेकपा (एमाले)को शक्तिशाली महासचिवका हैसियतमा जनआन्दोलनको सफलतामा माधवको नाम जोडिनु अन्यथा होइन । आन्दोलन असफल भएको भए पनि इतिहासले गिरिजा, माधव र सात राजनीतिक दलका नेताहरूलाई नै जिम्मेवार ठह¥याउँथ्यो । त्यसैले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न राजा, सात राजनीतिक दल र विद्रोही माओवादीको तर्फबाट कस्तो भूमिका निर्वाह भयो भन्ने यथार्थ जानकारी सम्प्रेषण गरिनुपर्छ । राजाको शाही घोषणा, त्यसपछि उत्पन्न प्रतिक्रिया, देशी–विदेशी चलखेल अनि सात दलका शीर्ष नेताको भूमिकालाई संक्षेपमा चर्चा गरिएको छ ।
वैशाख ७ को शाही घोषणाको विपक्षमा उभिएका एमाले महासचिव माधवकुमार नेपाल वैशाख ११ गते बल्खुस्थित पार्टी कार्यालयमा व्यस्त थिए । त्यसैबेला राजा ज्ञानेन्द्रको सन्देश लिएर नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधि म्याथ्यु कहाने त्यहाँ पुगे । गिरिजा र कांग्रेस ७ गतेको घोषणामा सहमत भइसकेका थियो । माधवलाई मनाउन दरबारको प्रतिनिधि बनेर गएका उनले घुमाउरो दबाब दिए । तर, माधव टसमस भएनन् । कीर्तिपुरको डाँडाबाट रिङरोडतर्फ झर्दै गरेका आन्दोलनकारीको ताँतीलाई हातको इशाराले देखाउँदै उनले प्रष्ट जवाफ दिए– जनताको मनोविज्ञान अर्कै ठाउँमा पुगिसक्यो, अब सम्भव छैन । दरबारले सिधै आफूसँग सम्पर्क गर्न अनिच्छा देखाएकोमा असन्तुष्ट माधवले म्याथ्युलाई अर्को कुरा पनि भने, नारायणहिटीबाट पुल्चोक हुँदै न्युयोर्क पुगेर फेरि न्युयोर्कबाट नारायणहिटी हुँदै कोटेश्वर किन ! सिधै मसँग कुरा गर्न राजालाई के समस्या छ ?
म्याथ्यु बल्खुबाट बाहिरिएको केहीबेरमा राजा ज्ञानेन्द्रका प्रमुख निजी सचिव पशुपतिभक्त महर्जनले फोन गरेर भेट्न आग्रह गरे । त्यही दिन साँझ रविभवनस्थित भरतमोहन अधिकारीको घरमा भेट्ने तय भयो । यता, बल्खु कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बस्दै थियो । बीचमै भरतमोहनलाई लिएर माधव रविभवन पुगे । शुरुमै पशुपतिभक्तले ‘मिलाउनुप¥यो हजुर !’ भन्दै सम्झौताको प्रस्ताव गरेपछि उनले जवाफ दिए, ‘राजाले सम्पूर्ण अधिकार जनताको हातमा सुम्पिने भए सहमति गर्न तयार छु ।’ त्यसपछि राजाले एउटा लिखित वक्तव्य जारी गर्ने सहमति भयो र त्यहाँ तयार पारिएको ड्राफ्ट लिएर पशुपतिभक्त दरबार फर्किए । त्यसबीच गिरिजालाई पनि भेटेका उनलाई कृष्ण सिटौलाले पनि अर्को ड्राफ्ट दिएका थिए ।
बेलुका ५ बजेतिर पशुपतिभक्तले फेरि फोन गरेर माधवलाई भेट्न बोलाए । काठमाडौँमा कफ्र्यु थियो, हिँडडुल सहज थिएन । दिनभर पार्टी कार्यालयमा रहेका उनी दरबारले पठाएको गाडीमा भरतमोहनलाई लिएर साँझ महाराजगञ्जस्थित गिरिजा निवास पुगे । गिरिजासँगै कृष्ण सिटौला र पशुपतिभक्त पहिल्यै पुगिसकेका थिए । राजाले जारी गर्ने वक्तव्य कस्तो बनाउने र के लेख्ने भन्नेबारे छलफल चल्दै गयो । यता, छलफल लम्बिँदै गएपछि बेलुका ९ बजे वक्तव्य दिने दरबारको तयारी ११ बजेका लागि सारियो । यताबाट पठाएको ड्राफ्टको शुरुमा ‘प्यारा देशवासीहरू’ र अन्तिममा ‘श्री पशुपतिनाथले सबैको कल्याण गरुन्’ भन्ने दुई वाक्यबाहेक ज्ञानेन्द्रले अरु जस्ताको त्यस्तै पढेर सुनाएका थिए ।
भोलिपल्ट वैशाख १२ गते टँुडिखेलमा सात राजनीतिक दलको आमसभा थियो । स्वास्थ्य अवस्थाका कारण गिरिजा सहभागी हुन सकेनन् । कांग्रेसबाट सुशील कोइराला र शेरबहादुर देउवा गएका थिए । तर, उनीहरू बोल्नेबित्तिकै चर्को हुटिङ भयो । कांग्रेसको दबाबमा झुकेर दरबारसँग सम्झौता गरेको आन्दोलनकारीको आशंका थियो । भड्किएको भीडलाई शान्त हुन आग्रह गर्दै माधव नेपालले मञ्चमा उभिएर भने, ‘हामीले आन्दोलनलाई धोका दिएका छैनौँ, अनावश्यक र अनुचित सम्झौता गर्दैनौँ ।’ उनले सार्वभौमसत्ता नेपाली जनताको हातमा रहने कुरामा कसैसँग पनि सम्झौता नगर्ने विश्वास दिलाएपछि भीड शान्त भयो ।
वैशाख ७ गते माधव नेपाल घरमै नजरबन्दमा थिए । त्यसअघि पक्राउ गरेर सशस्त्र प्रहरीको ककनी ब्यारेकमा राखिएको थियो । वैशाख ६ गते छुटेका उनलाई बालाजु आइपुग्दा नपुग्दै फेरि ककनी फर्काउने कुरा भयो । तर, उनले कुनै हालतमा नफर्किने अडान लिए । सशस्त्रका इन्स्पेक्टर शम्भु उप्रेतीसँग रिसाउँदै भने, ‘फोन लगाउनुस् तपाईंको हाकिमसँग कुरा गर्छु । त्यसबेला आइजी थिए सहवीर थापा । फोनमा माधवले सोधे, ‘मलाई किन फेरि उतै फर्काउने ?’ जवाफमा उनले माथिको आदेश भनेपछि माधव कड्किए, ‘कसको आदेश, ज्ञानेन्द्रको कि गृहमन्त्री कमल थापाको ? म उनीहरूसँग कुरा गर्छु’, ‘हुन्छ हजुर’ भनेर फोन राखेका सहवीर फेरि सम्पर्कमा आएनन् । भोलिपल्ट सीधै जिल्ला अदालत लगियो र सिंहदरबार प्रहरीले चार बजे रिहाइ पुर्जी दिएपछि माधव छुटेका थिए ।
राजा ज्ञानेन्द्रले आफ्नो सत्ता जोगाउन बाह्य शक्ति केन्द्रको प्रयोग यसरी गरे कि माधवलाई राजदूतहरूको फोन उठाउन भ्याई नभ्याई भयो । भारतीय दूत करण सिंहले फोन गरेर बेबी किङमा सहमत भइदिन आग्रह गर्दा उनले सीधा जवाफ दिए, ‘योर एक्सिलेन्सी, इट इज टु लेट, इट्स नट पसिबल नाउ !’ त्यसपछि गिरिजा र शेरबहादुरलाई भेटेका करणले उनीहरूलाई ‘कन्भिन्स, गरे र ८ गते बेलुका ७ बजे ज्ञानेन्द्रको बक्तव्य आयो । त्यसपछि नर्वेजियन, ब्रिटिश र अमेरिकन राजदूतको लगातार फोन आउन थाल्यो । उनीहरू सबैको एकै प्रस्ताव थियो, ‘यतिसम्म उपलब्धिमा टेकेर जान राम्रो हुन्छ, मान्दिनुस् ।’
विदेशीको दबाब यसरी बढ्दै गयो कि गिरिजाले पनि थाम्न सकेनन् । र, माधवलाई फोन गरेर भने, ‘केही उपाय निकाल्नुप¥यो, शेरबहादुरजीसँग कुरा गर्नुस् ।’ देउवाको प्रस्ताव रह्यो– ‘बेबी किङ’मा जानुप¥यो, गिरिजाबाबुको पनि त्यही छ भनाइ !’ तर, माधव तयार भएनन् मात्र हैन उनले राजाको वक्तव्यलाई सोझै अस्वीकार गरिदिए । देउवाले रक्तपात मच्चाउने हो ? भन्दा दुई जनाको केहीबेर विवादसमेत भएको थियो । त्योभन्दा अगाडि नै प्रदीप गिरीले फोन गरेर ‘हाम्रा नेताले धोका दिने भए, तपार्इंले आन्दोलन जोगाउनुप¥यो’ भन्दै कांग्रेस ‘बेबी किङ’को पक्षमा उभिएको रिपोर्टिङ गरिसकेका थिए ।
एकातिर बाह्य शक्तिकेन्द्रको चलखेल, अर्कोतिर माधवको अडान ! थप छलफल गर्न भोलिपल्ट बिहान ९ बजे सात दलको बैठक डाकियो । त्यसअघि गिरिजा, माधव र शेरबहादुरको छुट्टै छलफल भयो, जहाँ युरोपियन युनियनका सबै राजदूत सहभागी थिए । आन्दोलनकारीको तर्फबाट राजदूतहरूसँग कुरा गर्ने जिम्मा पाएका माधवले उनीहरूको प्रस्तावलाई व्याख्या गर्दै प्रतिनिधिसभा पुनर्बहाली र सार्वभौमसत्ता सम्पूर्णरूपमा जनताको हातमा आउने सुनिश्चितता नहुँदासम्म सम्झौता नहुने बटमलाइन सुनाए ।
शक्तिकेन्द्रको दबाबमा परेर नेताहरूले आन्दोलनलाई सम्झौतामा टुंग्याउन खोजेको आशंका विस्तारै बाहिर पनि हुन थाल्यो । शाही सत्ताको विरोधमा सडकमा उत्रिएकाहरू आफ्नै नेतामाथि आक्रोशित हुन थाले । कलंकीमा उत्तेजित प्रदर्शनकारीले भीमसेनदास प्रधानलाई बोल्नसमेत नदिएर लखेटे । त्यहाँ पनि माधवले सम्झौता नगर्ने प्रतिबद्धता पटक–पटक दोहो¥याउनुपरेको थियो । नेतृत्वको दोधारे चरित्रले निराश कार्यकर्तामा ऊर्जा घट्दै गएको स्थिति एकातिर थियो भने अर्कोतिर आन्दोलन दबाउन दरबारको निर्देशनमा सडकमा व्यापक बल प्रयोग भइरहेको थियो । यो अवस्था जारी रहँदा आन्दोलन नै तुहिने खतरा देखेका उनले तीनवटै सुरक्षा निकायका प्रमुखलाई फोन गरेर बल प्रयोग नगर्न चेतावनीयुक्त आग्रह गरेका थिए । नेपाल प्रहरीका आइजी श्यामभक्त थापा र सशस्त्रका प्रमुख सहवीर थापासँग कुरा हुँदा सहवीरले ‘जे आदेश हुन्छ त्यही गर्छौँ’ भनेर घुमाउरो थ्रेट दिएपछि माधवले सेना प्रमुख प्यारजंग थापालाई ०४६ सालको जनआन्दोलनको उदाहरण दिँदै ‘राजा ढल्दै छन्, गोली चलाउने काम नगरौं’ भनेका थिए ।
(माधव नेपालसँगको कुराकानीमा आधारित)
टिप्पणीहरू