परिवर्तित अवस्थामा विद्यार्थी आन्दोलन
मुलुकको करिब ६० प्रतिशत जनसंख्याको हिस्सा युवापुस्ताले ओगटेको छ । यस्तो स्वर्णिम अवसर सबै मुलुकले सदैव प्राप्त गर्न सक्दैनन् । यो अवसर प्राप्तिका लागि कैयन शताब्दी प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
जुन अवसर आज हामी नेपालीले प्राप्त गरेका छौं । हामीले प्राप्त गरेको यो उर्जाशील जनशक्तिलाई सही दिशानिर्देश गर्न र राष्ट्र निर्माणमा प्रयोग गर्न सक्यौं भने नेपाल समृद्व बन्न दशकौं कुर्नुपर्दैन । छोटो समयमै नेपाललाई ‘समृद्ध मुलुक’ बनाउन सकिन्छ, त्यसका लागि सबैको साझा संकल्प आवश्यक छ ।
विडम्बना ! विदेश पलायनको दलदलमा फसेको हाम्रो युवाशक्तिलाई स्वदेशमै रोक्न सक्नु सबैभन्दा ठूलो चुनौती बनेको छ । यसका लागि हामीले नेपालमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । उद्योग, स्टार्टअप, नवीन परियोजना, कृषि क्षेत्रमा आधुनिकीकरण र प्रविधिको विकासमा युवाहरूको भूमिका सुनिश्चित गर्न सक्नुपर्छ । जुन आजको निर्विकल्प आवश्यकता हो ।
युवा शक्तिलाई नेपालमा नै केही गर्न सकिन्छ भनेर भरोसा दिनसक्नु सरकारको आजको प्रमुख जिम्मेवारी हो । राजनीतिक अस्थिरता र चौतर्फी अन्योलताको बिचमा युवापुस्ताले देशमा आफ्नो भविष्य देखिरहेका छैनन्, देखेका छन् त केबल अन्यौलता, अस्थिरता र कुशासन मात्रै ।
यसलाई रोक्न नागरिक समाज र राजनीतिक नेतृत्वले साझा संकल्पको शंखघोष गर्ने समय भएको छ । युवापुस्तालाई नेपालमै रोजगारीको सिर्जना गरी समृद्ध नेपाल बनाउने अभियानमा जोड्न सरकार र निजी क्षेत्रको प्रयास आवश्यक छ ।
किन हाम्रा प्रतिभाशाली युवाहरू विदेशिन विवश छन् ? हामी किन आफ्नै भूमिमा अवसरहरू सिर्जना गर्न सकिरहेका छैनौं ? यही प्रश्नलाई राजनीतिक नेतृत्वले मनन गर्न सकेमा हामी आफ्नै भूमिमा समृद्धिको क्रान्ति ल्याउन सक्छौं । त्यसका लागि युवालाई उद्यमशीलतासँग जोडेर देशमै रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छ ।
यसो हुन सकेमा मात्रै नवाचारको युग शुरु गर्न र नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं । अब समय बदलिएको छ, आवश्यकताहरू बदलिएका छन्, युवा शक्तिले आफ्नो सोच र अठोट बदल्ने समय आएको छ । अबको युवा आन्दोलन विगतको जस्तो तोडफोड, आक्रोश र अस्थिरतामा सीमित हुनुहुँदैन ।
अबको युवा आन्दोलन ज्ञान, सिप, प्रविधि, नीति निर्माण, उद्यमशीलता, र आर्थिक सुधारमा केन्द्रित हुनुपर्छ । अबको हाम्रो विद्यार्थी आन्दोलन पनि केबल नाराबाजीमा सीमित रहनुहुँदैन । हामीले शिक्षामा लगानी बढाउन आन्दोलन छेड्नुपर्छ ।
दूरदराजका गाउँ–गाउँमा समेत पुस्तकालय बनाउने अभियान थाल्नुपर्छ । विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्ने अभियान चलाउनुपर्छ । शिक्षा नीति सुधारको लागि आवाज उठाउनुपर्छ । विद्यार्थीहरूले आफ्नो तहका, तहगत विवरण संकलन गरेर दक्ष र अदक्ष जनशक्तिको पूर्ण तथ्यांकसहितको तथ्यगत विवरण आफूसँग राख्नुपर्छ जसले सम्भावनाहरूको खोजी, चुनौतीहरूको पहिचान र त्यसको समाधानमा मद्दत पुग्छ ।
अबको विद्यार्थी आन्दोलन नवाचारको आन्दोलन हुनुपर्छ । स्वदेशमै अवसर सिर्जना गर्ने अभियान हुनुपर्छ । हामीले शिक्षालाई आधुनिकीकरण गर्नसके मात्रै दक्ष जनशक्तिको निर्माण र युवाशक्तिको समुचित प्रयोग गर्न सक्छौं । हामीले युवा विद्यार्थी आन्दोलनलाई सही दिशामा रुपान्तरण गर्नसके मात्रै नेपाललाई विकासको गतिमा तीव्र रूपमा अगाडि बढाउन सक्छौं ।
हामी यथास्थितिमा सँधै परिवर्तनको प्रतिक्षा मात्रै गरिरहन सक्दैनौं, हामी नै परिवर्तनका वाहक बन्नुपर्छ । हाम्रो देश हामीले नै बनाउने हो । हामीले चाहेको हाम्रो नेपाल हाम्रै सामुन्नेमा छ । केबल हामीले आफैंलाई आत्मविश्वासका साथ रुपान्तरणको मार्गमा धकेल्न बाँकी छ । यसका लागि के हामी तयार छौं ?
टिप्पणीहरू