कमरेडको बसाइ अमेरिकामा,कार्वाही नेपालमा

कमरेडको बसाइ अमेरिकामा,कार्वाही नेपालमा
सुन्नुहोस्

सुटुक्क अमेरिका पुगेका खोटाङका एक जनप्रतिनिधिलाई सम्बन्धित पार्टीले कारवाही गरेको छ । 

एक वर्षअघि अमेरिका उडेका र अहिलेसम्म उतै रहेका खोटाङको साकेला गाउँपालिका-४ का वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट हटाएको हो । नेपाल फर्किएर कार्यभार सम्हाल्न पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गरेका कारण उनको पार्टी सदस्यता निलम्बन गरिएको सो पार्टीले जनाएको छ । 

माओवादी केन्द्र खोटाङ जिल्ला कमिटीले गत पुस ११ गते कटवाललाई कारवाही गर्न प्रदेशलाई सिफारिस गरेको थियो । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित वक्तव्यमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल्लेख गर्दै उनको सदस्यता निलम्बन गरेको उल्लेख छ । 

पार्टीबाट निस्कासनमा परेका कटवाललाई जनप्रतिनिधिबाट पनि निलम्बन गर्न निर्वाचन आयोगलाई पत्र पठाउने माओवादीको तयारी छ । ५७ वर्षीय उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा वडाध्यक्षमा निर्वाचित भएका थिए । 

नेपाली काँग्रेसका उम्मेदवार जंगबहादुर श्रेष्ठलाई हराउँदै वडाध्यक्ष बनेका उनी गत वर्ष माघदेखि वडा कार्यालयमा अनुपस्थित छन् । वडाध्यक्ष नहुँदा स्थानीय मर्कामा छन् भने विकास निर्माणका काम प्रभावित भएको छ । 

धन कमाउन विदेश जाने र उतै हराउने कटवाल पहिलो जनप्रतिनिधि भने होइनन् । २०७९ को स्थानीय निर्वाचनपछि दुई जना वडाध्यक्ष विदेश भासिएकोमा अझै फर्किएका छैनन् । 

जसमध्ये ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद वोखिमले उतैबाट आफैँ पद छोडेका छन् । डेढ वर्षअघि हङकङ पुगेका उनले गत असोजमा गाउँपालिका अध्यक्षलाई पत्र लेखेर पदबाट राजीनामा दिएका हुन् ।

त्यस्तै, दाङको राप्ति गाउँपालिका-८ का वडाअध्यक्ष चन्द्रबहादुर गुरूङ बेलायत पुगेको एक वर्ष हुन् लागेको छ । व्यक्तिगत कामको लागि भनेर गएका उनी अहिलेसम्म फर्किएका छैनन् । परिवारका सदस्यले भने चुनावमा लागेको ऋण तिर्न उनी विदेश जान बाध्य भएको बताएका छन् ।

टिप्पणीहरू