एपीएफलाई हराउँदै इस्ट बङ्गालले जित्यो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि
पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बङ्गाल एफसीले जितेको छ । शनिबार बेलुकी सम्पन्न फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३-० गोलले पराजित गर्दै इस्ट बङ्गालले एतिहासिक उपाधि हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इस्ट बङ्गाललाई जित दिलाउन फाजिला इकापुटले दुई गोल गर्दा शिल्की देवी हेमामले एक गोल थपिन् । इस्ट बङ्गालले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । खेलको २२ औँ मिनेटमा फाजिलाले गोल गर्दै पाहुना टोलीलाई शुरूवाती अग्रता दिलाएकी थिइन् । ३५ औँ मिनेटमा शिल्की देवीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफको शुरूवातमै फाजिलाले व्यक्तिगत दोस्रो गोल गर्दा इस्ट बङ्गाल सहज जिततर्फ अगाडि बढेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इस्ट बङ्गाल ३-० गोलले विजयी भएको हो ।
जितसँगै विजेता इस्ट बङ्गालले १० हजार अमेरिकी डलर प्राप्त गर्दा उपविजेतामा सिमित बनेको एपीएफले पाँच हजार अमेरिकी डलरमा चित्त बुझाएको छ ।
मङ्सिर १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नास्रिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले सहभागिता जनाएका थिए ।
टिप्पणीहरू