साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेलमा उपाधिको लागि नेपालको नेपाल एपीएफ क्लब र भारतको इस्ट बङ्गाल एफसी भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बेलुकी ५ बजे शुरू हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुवै टोलीलाई पहिलो संस्करणको प्रतियोगिताको उपाधि जित्दै इतिहास रच्ने अवसर रहेको छ । 

इस्ट बङ्गाल लिगचरणको चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो भने एपीएफ समान खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेको हो । यसअघि दुई टोलीबीच भएको लिग चरणको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोली प्रतियोगितामा अपराजित रहेका छन् ।

शुक्रबार आयोजित प्रि–म्याच प्रेसमा दुवै टोलीका कप्तान र प्रशिक्षकले फाइनलका लागि तयार रहेको बताएका थिए । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप अभ्यास गरेको बताएका थिए ।

एपीएफकी कप्तान अनिता बस्नेतले क्लब भन्दापनि देशलाई नै प्रतिनिधित्व गरेको हुनाले जित निकाल्न खेल्ने बताएकी थिइन् ।

इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि फाइनल खेलमा आफ्नोतर्फबाट उत्कृष्ट खेल हुने बताएका थिए । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी रहेका थिए ।

मङ्सिर १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

टिप्पणीहरू