ओलीको निर्णयमा ईश्वरको असन्तुष्टि
विधान महाधिवेशनको तीन महिना नबित्दै नेकपा (एमाले) ले विधान संशोधन गरेको छ ।
एघारौँ महाधिवेशनको बन्दसत्रअघि आज बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार विधान संशोधनगरी केन्द्रीय समितिको आकार र पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो । जसअनुसार अब केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने छ भने पदाधिकारी १९ जना कायम हुनेछ ।
गत भदौ २२ गते सम्पन्न गोदावरी विधान महाधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । अब अध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव रहनेछन् ।
आफ्नै समूहमा पदाधिकारीका आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न सकस परेपछि अध्यक्ष ओलीको ठाडो प्रस्तावमा विधान संशोधन गर्ने निर्णय बैठकले गरेको हो । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खेमाका नेताहरूले भने असहमति राखेका छन् ।
उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले विधान संशोधन गर्ने नै भए दुई कार्यकाल र ७० वर्षे उमेर हद कायम गर्नुपर्ने अडान राखेका थिए । तर, अध्यक्षको प्रस्ताव बहुमतले पारित भएसँगै आजैबाट शुरु हुने बन्दसत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ ।
टिप्पणीहरू