एमाले प्रतिनिधिलाई जेनजी अगुवाको आग्रह- विवेक प्रयोग गर्नुस्
नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनले यतिबेला धेरैको ध्यान खिचेको छ । एमालेमा अबको नेतृत्व कस्तो होला? केपी शर्मा ओली तेहेरिएलान् कि ईश्वर पोखरेल अध्यक्ष बन्लान् ? जस्ता जिज्ञासा राजनीतिक वृत्तमा देखिन्छ ।
यसैबीच जेनजी अगुवा रक्षा बमले पनि एमालेको महाधिवेशन र भावी नेतृत्वबारे चासो राखेकी छन् । जेनजी फ्रन्ट नेपालकी संयोजक उनले एमाले कार्यकर्ताको विवेक प्रदर्शनकाे समय पर्खिरहेको बताएकी छन् ।
महाधिवेशनको लागि विभिन्न जिल्लाबाट काठमाडौँ आएका प्रतिनिधिलाई शुभकामना दिँदै नेतृत्व परिवर्तनको पक्षमा उभिन उनको आह्वानसमेत छ । ‘तपाईंहरूको हातमा एउटा अभिभारा आईपरेको छ, तपाईंहरू आफ्नो नेतामात्र नभई देशकै ठूलोमध्यको एउटा दलको अध्यक्ष र पदाधिकारी पनि छान्दै हुनुहुन्छ’, बम भन्छिन्, ‘तपाईंहरूको भोटले तपाईहरूको पार्टीको कार्यदिशा र मार्गनिर्देशन तय गर्नेछ ।’
एमाले र मुलुकको भविष्य कस्तो बनाउने भन्ने कुरामा महाधिवेशन प्रतिनिधिको निर्णायक भूमिका रहने उनको बुझाइ छ । ‘तपाईंहरूको देशप्रेम र युवाप्रतिको सद्भाव, महाधिवेशनको व्यालेट बक्समा कसरी खस्छ, त्यो कुरिरहेका छौं’, उनले भनेकी छन्,‘यतिखेर सबैभन्दा प्रमुख प्रश्न हो, केपी शर्मा ओलीको हात त हाम्रो पुस्ताको रगतले रंगिएको छ,के त्यो रगतको भागीदारिता तपाईंहरू पनि वहन गर्न तयार हुनुहुन्छ ?’
राज्य सञ्चालनको प्रक्रियामा एमाले एउटा निर्णायक शक्ति भएको बताउँदै जेनजी अगुवा बमले घुमाउरो भाषामा वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्षमा जिताउन अपील पनि गरेकी छन् ।
‘तपाईंको पार्टीलाई सच्याउने, तपाईहरू पनि सच्चिने र युगान्तकारी परिवर्तनको संवाहक बन्ने यो अवसर गुमाउनुभयो भने तपाईंहरूको पार्टीमात्र नभई देशको भविष्य नै अन्धकार हुनेछ’, उनको आग्रह छ, ‘तपाईंहरूको मन एकातिर, मत एकातिर नहोस्, यसपटक यस्तो नेतृत्व छनोट गर्नुस् जसले फेरि भदौ २३ ननिम्त्याओस् ।’
टिप्पणीहरू