सरकारसँग जवाफ माग्दै संसद्मै आन्दोलन घोषणा
प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले सिरहाको नवराजपुर हत्या काण्डमा सरकारले जवाफ नदिए संसदमै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बलात्कारपछि हत्या भएको १५ दिन बितिसक्दासमेत सरकारले कुनै जवाफ नदिएको र अपराधी पक्राउ नपरेको भन्दै आपत्ति जनाए । सरकारले संसदमा बोलेका कुराहरुको कार्यान्वयन नगरे संसदभित्रै आन्दोलन गर्ने पासवानले चेतावनी दिए ।
‘संसदमा उठाएका कुराहरुको कार्यान्वयन हुँदैन भने जनतालाई हामीले के भन्ने । पटक-पटक कुरा उठाइयो । सिरहा जिल्लाको नवराजपुरको घटनाको विषयमा १५ दिन भइसक्यो । बलात्कारको घटना भएको । अहिलेसम्म सरकारले संसदमा आएर जवाफ दिनसक्नुभएको छैन', उनले भने, 'न अहिलेसम्म प्रहरीले समात्न सकेको छ । आजदेखि म संसदमै आन्दोलन गर्छु, जवाफ दिएन भने, कारवाही भएन भने । दलित हक अधिकारको लागि आन्दोलन गर्छु ।’
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको सामुहिक बलात्कारपछि हत्या भएको थियो ।
टिप्पणीहरू