होटलको रिबन काट्न प्रधानमन्त्री हौसिँदै

होटलको रिबन काट्न प्रधानमन्त्री हौसिँदै
सुन्नुहोस्

निजी क्षेत्रका होटल उद्धघाटनमा अतिरिक्त रुचि देखाउँदै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्को एउटा होटलको रिबन काट्ने कार्यक्रम तय भएको छ । उहाँले दिउँसो दाङको तुल्सीपुरस्थित एक होटल उद्धघाटन गर्न लाग्नुभएको हो ।   

प्रधानमन्त्री ओली लुम्बिनी प्रदेश सभा अधिवेशनलाई सम्बोधन गर्न दाङ जाँदै हुनुहुन्छ । यही मौकामा उहाँको हातबाट होटलको शुभारम्भ गराउने चाँजो मिलाइएको हो । योसँगै सरकारको आठ महिने कार्यकालमा प्रधानमन्त्री ओलीको हातबाट उद्धघाटन भएका होटलको संख्या पाँच पुग्नेछ । 

गत माघ २ गते उहाँले सुकेधारास्थित मर्क्युर होटलको उद्धघाटन गर्नुभएको थियो । तीन अर्ब लगानीमा एबी होल्डिङ्सले निर्माण गरेको उक्त होटलको ब्राण्ड इटालियन स्वादको लागि अन्तर्राष्ट्रिय बजारमा चर्चित छ । 

त्यसअघि असोज २३ गते उहाँले आफ्नै क्याबिनेट मन्त्री दिपक खड्काको लगानीमा खुलेको पाँचतारे होटल शुभारम्भ गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिका–१ मुहानपोखरीमा रहेको होटल ‘होलिडे इन’ को एक भव्य समारोहबीच खड्काले ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको हातबाट रिबन कटाएका थिए । 

त्योभन्दा अघि प्रधानमन्त्री ओलीले विवादित व्यक्तिको लगानीमा खुलेका अरु दुई वटा होटल आफ्नै हातले उद्धघाटन गर्नुभएको थियो । भदौ २९ गते बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरको शुभारम्भ गराइएको थियो । शेयर बजारका नामुद खेलाडीहरु यसको मुख्य लगानीकर्ता हुन् । 

त्यस्तै, प्रधानमन्त्री नियुक्त भएको केही दिनमै उहाँले नक्सालस्थित होटल हिल्टनको उद्धघाटन गर्नुभएको थियो । कोरोना महामारीमा ‘थर्मल गन’ काण्ड मच्चाएका र विभिन्न विवादमा मुछिएका शंकर ग्रुपका साहिल अग्रवाल हिल्टन होटलका मालिक हुन् ।
 

टिप्पणीहरू